+
+
Shares

बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते २१:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोसी र त्रिशूलीको बाढीले बगाएका नुवाकोट र रसुवाका स्थानमा भेटिएका लकर तथा दराजका धनीलाई प्रहरीले सम्पर्कमा आउन आग्रह गरेको छ।
  • नुवाकोटका ढुङ्गे, बुधसिंहघाट र छत्रेखोला दोभानमा दुई थान लकर र एक थान लकरसहितको दराज भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा आज एक थान लकर भेटिएको छ, र हालसम्म दाबी गर्न कोही सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

५ असोज, त्रिशूली (नुवाकोट) । भोटेकोसी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र रसुवाका विभिन्न स्थानमा भेटिएका लकर तथा दराजका धनीलाई प्रहरीले सम्पर्कमा आउन आग्रह गरेको छ ।

नुवाकोटमा दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विदुर नगरपालिका–१ ढुङ्गेमा भदौ १९ गते, विदुर नगरपालिका–३ बुधसिंहघाटमा भदौ ३० गते र सोही वडाको छत्रेखोला दोभानमा भदौ ३१ गते ती सामग्री फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार फेला परेका लकरको आकार बैंक तथा वित्तीय संस्था वा ठूला व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने किसिमको छ ।

धनी पहिचान हुन नसकेकाले सम्बन्धित व्यक्ति वा संस्थालाई आवश्यक प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको उनले बताए ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा पनि आज एक थान लकर फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । हालसम्म उक्त लकर दाबी गर्न कोही सम्पर्कमा नआएको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले बताए ।

बाढीमा सम्पत्ति हराएका व्यक्ति तथा संस्थालाई नजिकको प्रहरी कार्यालयमा निवेदन दिन प्रहरीले आग्रह गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?