News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमका सामुदायिक विद्यालयका बालकक्षामा रंगिन सामग्री, खेल र स्मार्टबोर्डको प्रयोगले तीनदेखि चार वर्षका बालबालिकालाई विद्यालयप्रति आकर्षित गरेको छ।
- स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाको साझेदारीमा बालकक्षालाई बालमैत्री र व्यवस्थित बनाउने अभियान तीव्र बनाइएको छ।
- जनज्योति आधारभूत विद्यालयको बालकक्षामा चित्र, गीत, कथा र प्रविधिबाट सिकाइ सहज भएको शिक्षकहरूले बताएका छन्।
६ असोज, तेह्रथुम । कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै बालबालिकाको ध्यान भित्तामा टाँसिएका रंगिन अक्षर, चित्र र शैक्षिक सामग्रीतर्फ जान्छ । कोही चित्र हेर्दैछन्, कोही खेल्दै सिकिरहेका छन । कोही भने स्मार्टबोर्डमा देखाइएका सामग्री नियाल्दै रमाइरहेका छन । पढाइभन्दा खेल र खेलभन्दा रमाइलो लाग्ने वातावरणले बालबालिकालाई विद्यालय आउन उत्साहित बनाएको छ ।
तेह्रथुमका सामुदायिक विद्यालयमा सञ्चालित बालकक्षाको स्वरूप पछिल्लो समय यसरी नै बदलिन थालेको छ । तीनदेखि चार वर्ष उमेर समूहका बालबालिकालाई विद्यालय जाने बानी बसाल्ने उद्देश्यले स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घ-संस्थाको साझेदारीमा बालकक्षालाई व्यवस्थित र बालमैत्री बनाउने अभियान अघि बढाइएको छ ।
विद्यालयका बालकक्षामा बालबालिकाको उमेर र रुचिअनुसारका शैक्षिक सामग्री राखिन थालेका छन्। हेरेर, सुनेर, खेलेर र प्रयोग गरेर सिक्ने वातावरण निर्माण भएपछि बालबालिकामा सिकाइप्रतिको रुचि बढेको शिक्षकहरू बताउँछन ।
छथर गाउँपालिका–२ खैरेनीस्थित जनज्योति आधारभूत विद्यालयको बालकक्षा यसको उदाहरण हो । कक्षाकोठालाई बालबालिकाले रमाउँदै सिक्न सक्ने गरी विभिन्न शैक्षिक सामग्री र चित्रहरूले सजाइएको छ । प्रविधिको प्रयोगसमेत बढाइएको छ । ‘पहिलेको सिकाइभन्दा अहिले धेरै फरक भएको छ’, बाल शिक्षक गोमादेवी पाण्डे भन्छिन, ‘स्मार्टबोर्डमा देखाएर सिकाउँदा बालबालिकालाई बुझ्न र सिक्न सहज भएको छ ।’
बालकक्षामा केवल पाठ्यसामग्री राखेर मात्र सिकाइलाई प्रभावकारी बनाउन खोजिएको छैन । बालबालिकाको बसाइ व्यवस्थापन, खेल्ने ठाउँ, चित्र, अक्षर, गीत, कथा र विभिन्न गतिविधिलाई समेत सिकाइको माध्यम बनाइएको छ । यसले कक्षाकोठालाई औपचारिक पढाइ हुने ठाउँभन्दा बालबालिकाले रमाउँदै सिक्ने थलोका रूपमा विकास गर्न सहयोग गरेको छ ।
शिक्षक टिका गुरुङका अनुसार प्रविधि र बालमैत्री सामग्रीको प्रयोगले सिकाइ प्रक्रिया सहज भएको छ । उनका अनुसार विगतमा बालबालिकालाई पेन्सिल समाउन सिकाएर लेख्न लगाउनुपर्ने अवस्था थियो । अहिले भने स्मार्ट टिभी, भित्तामा लेखिएका अक्षर, चित्र तथा अन्य शैक्षिक सामग्रीमार्फत अक्षर चिनाउने र सिकाउने काम सहज भएको छ ।
‘पहिले चकको प्रयोग बढी हुन्थ्यो । त्यसबाट शिक्षक र विद्यार्थी दुवैलाई स्वास्थ्यमा असर पर्ने अवस्था थियो’, गुरुङ भन्छिन, ‘अहिले प्रविधिको प्रयोगसँगै सिकाइ र कक्षा व्यवस्थापन दुवै सहज भएको छ ।’ बालकक्षामा आएको परिवर्तन केवल कक्षाकोठाको सजावटमा सीमित छैन । बालबालिकालाई विद्यालयसँग परिचित गराउने र विद्यालयप्रति सकारात्मक धारणा विकास गर्ने प्रयासका रूपमा समेत यसलाई हेरिएको छ ।
गीत सुन्ने, चित्र हेर्ने, कथा सुन्ने, खेल्ने, नाचगान गर्ने र विभिन्न गतिविधिमा सहभागी हुने अवसर पाएपछि बालबालिका विद्यालयमा रमाउन थालेका छन । सिकाइलाई उनीहरूको दैनिक व्यवहार र रुचिसँग जोड्ने प्रयासले बालबालिकालाई कक्षामा सक्रिय बनाएको शिक्षकहरूको अनुभव छ ।
स्थानीय तहले पनि बालकक्षालाई विद्यालय शिक्षाको महत्वपूर्ण आधारका रूपमा लिँदै आएको छ । सामाजिक सङ्घ–संस्थासँगको साझेदारीमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने, कक्षाकोठा व्यवस्थापन गर्ने र बालमैत्री वातावरण निर्माण गर्ने काम अघि बढाइएको छ ।
सानो उमेरमै विद्यालयसँग जोडिने बालबालिकाका लागि पहिलो अनुभव महत्वपूर्ण हुन्छ । यही अनुभवलाई रमाइलो, सुरक्षित र सिकाइमैत्री बनाउने प्रयासले सामुदायिक विद्यालयका बालकक्षामा नयाँपन ल्याएको छ ।
रंगिन चित्रले भरिएका भित्ता, खेलौनासहितको सिकाइ, गीत–कथा र प्रविधिको प्रयोगले बालकक्षालाई अहिले बालबालिकाको रोजाइको ठाउँ बनाउएको छ । उनीहरूका लागि विद्यालय अब केवल पढ्न जाने ठाउँ मात्र रहेनस खेल्दै, रमाउँदै र आफ्नै तरिकाले संसार चिन्न थाल्ने पहिलो थलो पनि बनेको छ ।
प्रतिक्रिया 4