+
+
Shares
स्थलगत :

बगर बनेको स्याफ्रुबेसीमा नयाँ जीवनको खोजी

होल्डिङ सेन्टरमा बस्नेहरू हेलिकप्टर र ड्रोनकै भरमा

बाढीबाट जोगिएको छ भित्तामा टाँसिएका केही घरहरू र कोमिन स्यामेवाङफेल आधारभूत विद्यालय । यही विद्यालय अहिले बाढीपीडितका लागि होल्डिङ सेन्टर बनेको छ। रसुवाको सबैभन्दा माथिल्लो क्षेत्रमा रहेको यो होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापितहरू खाद्यान्नदेखि आवतजावतसम्मका लागि हेलिकप्टरकै भरमा छन्। 

सइन्द्र राई आदित्य नेपाल सइन्द्र राई, आदित्य नेपाल
२०८३ असोज ६ गते २१:५०
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याफ्रुबेसीमा बाढीले पुल बगाएपछि २७ दिनपछि भोटेकोसीमा तुइन सञ्चालनमा आएर दैनिक ४० जनासम्म आउजाउ गर्न थालेका छन्।
  • बाढीमा गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष दावा मिङमर तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ बेपत्ता भएका छन्, भने १७६ जना अझै हराइरहेका छन्।
  • बाढीले स्याफ्रुबेसीमा चार सयभन्दा बढी घर बगरमा परिणत गर्दै पालिका कार्यालय, वडा कार्यालय, ब्यारेक र स्वास्थ्य चौकी बगाएको छ।

६ असोज, स्याफ्रुबेसी (रसुवा) । विनाशकारी बाढी गएको २७ दिनपछि सोमबार स्याफ्रुबेसीका फुर्वामाया तामाङ र कान्छी तामाङ भोटेकोसी तर्दै थिए। बाढीले पुलहरू बगाएपछि उनीहरू स्याफ्रुपारि अर्थात् भोटेकोसीको पश्चिमतर्फ थुनिएका थिए। तर गत साता (२९ भदौमा) सुरक्षा निकाय र स्थानीयको पहलमा भोटेकोसीमा तुइन सञ्चालनमा आएपछि उनीहरूलाई केही सहज भएको छ।

अनलाइनखबरको टोली त्यहाँ पुग्दा फुर्वामाया र कान्छी तामाङ पालैपालो तुइनको सहारामा नदी तर्दै थिए। उनीहरूले सदरमुकाम धुन्चेबाट ल्याएको उपभोग्य सामग्रीको बोरा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पनि तुइनबाटै तारिदियो।

‘सडक र पुल हुँदाजस्तो सुविधा त तुइनले के दिन्थ्यो र ! तर पनि १९ दिनसम्म हिँडडुल गर्न नपाएका मानिसहरू अहिले आउजाउ गर्न पाइरहेका छन्,’ तुइन सञ्चालन टोलीको नेतृत्व गरिरहेका प्रहरी सहायक निरीक्षक रामप्रवेश पटेलले अनलाइनखबरसँग भने।

उनका अनुसार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म प्रहरीले नै तुइन चलाउने गरेको छ। ‘भौगोलिक रूपमा विकट ठाउँ भएकाले हामी आफैंले तुइन चलाउन सहयोग गरिरहेका छौं,’ उनले भने।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङनजिकै राखिएको तुइनमा चढ्न र ओर्लन सहज होस् भनेर फलामे सिँढी बनाउने काम पनि अनलाइनखबरको टोली पुग्दा चलिरहेको थियो।

‘तुइन चढ्न र ओर्लन सहज होस् भनेर काम गरिरहेका छौं,’ नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीले भने।

सडक र पुल बगेपछि लामो समयदेखि थुनिएका स्थानीयका लागि तुइनले केही राहत दिएको त्यहाँ लागेको भीडबाटै अनुमान गर्न सकिन्थ्यो।

प्रहरीका अनुसार दैनिक ४० जनासम्म तुइनबाट भोटेकोसी वारपार गरिरहेका छन्। बाढीले स्याफ्रुबेसी बजारसहित ठूलो क्षेत्र बगाएपछि धेरै विस्थापितलाई काठमाडौंलगायत अन्यत्र सारिएको अवस्थामा यो संख्या उल्लेख्य हो।

तुइन तरेपछि फुर्वामाया र कान्छीसँगै अनलाइनखबरको टोली पनि भोटेकोसीको बगर हुँदै खोलिएको कच्ची बाटोतिर अघि बढ्यो।

कान्छी तामाङ।

‘हामीले यस्तो हुन्छ भनेर कहिल्यै सोचेका पनि थिएनौं। अचम्मै भयो,’ बोरा बोकिरहेकी फुर्वामायाले भनिन्।

हुन पनि २७ दिनअघि (१० भदौसम्म) स्याफ्रुबेसीको दृश्य अर्कै थियो।

‘नेपालीको औसत आयभन्दा स्याफ्रुबेसीका मानिसको आम्दानी धेरै थियो। वर्षमा केही लाख नकमाउने कुनै घर थिएन होला,’ गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्।

केरुङ नाका, मानसरोवर र गोसाइँकुण्ड जाने मुख्य मार्गमा पर्ने भएकाले पनि स्याफ्रुबेसीको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको उनी बताउँछन्।

‘पालिकाको कार्यालय नै त्यही थियो। त्यसो हुँदा प्रशासनिक हिसाबले पनि स्याफ्रु केन्द्र थियो,’ उनी भन्छन्, ‘होटल व्यवसाय त यो ठाउँको मुख्य परिचय नै थियो।’

मानसरोवर, गोसाइँकुण्ड र लाङटाङ पदमार्गमा जाने विदेशी पर्यटकसमेत आउने भएकाले यहाँ होटल व्यवसायमा ठूलो लगानी भएको अध्यक्ष तामाङ बताउँछन्। उनका अनुसार एउटै व्यक्तिले होटल व्यवसायमा करोडौं रुपैयाँसम्म लगानी गरेका थिए।

‘यसरी एकैपटक विनाश हुन्छ भनेर सोच्ने कुरै भएन। ठूल्ठूला सपना देखेर लगानी मात्रै गरिरह्यौं,’ उनी भन्छन्।

तर स्याफ्रुबेसीले कल्पनासमेत नगरेको बाढी १० भदौको बिहान आयो।

‘खाना पकाउँदै थिएँ, भीर खसेजस्तै आवाज आयो,’ स्थानीय तारा घले (५४) भन्छन्, ‘बाहिर निस्कँदा सबैले ‘भागौं, भागौं’ भन्दै थिए। म पनि भागें र बाँचेँ।’

घलेको जस्तै अनुभव बाढीबाट ज्यान जोगाएका अरू स्थानीयले पनि अनलाइनखबरलाई सुनाए।

बगर बन्यो स्याफ्रुबेसी

बाढीपछि स्याफ्रुबेसीको एक कुनामा रहेका केही घर मात्रै जोगिएका छन्। भोटेकोसी ठूलो छाँगामुनि बगिरहेको सानो खोलाजस्तो देखिन्छ। कतै घरका अवशेष छन्, बाँकी भूभाग बगरमा परिणत भएको छ।

यो दृश्यले बाढीबाट ज्यान जोगाएका स्थानीयलाई अझै झस्काइरहेको छ।

‘यहाँ राति सुत्न पनि डर लाग्छ। सबै जना माथि स्कुल (होल्डिङ सेन्टर) मै जान्छौं,’ स्याफ्रुबेसीकी देजु घले (८०) भन्छिन्, ‘बचेको घरमा पनि कोही बस्नै मान्दैन।’

आठ दशक पार गरेकी देजुलाई बाढीको त्यो दृश्य सम्झँदा अझै डर लाग्छ। बाढीबाट जोगिएको करेसाबारीबाट तरकारी टिप्दै गरेकी उनले भनिन्, ‘सबै भागे, म र बुढा भाग्न सकेनौं। राति मात्रै बाँचेको देखेर उठाएर स्कुल लगे।’

स्याफ्रुबेसीकी देजु घले ।

उनको घरभन्दा मुनिका सबै बस्ती अहिले बगर बनेका छन्। बाढीपछि उद्धार गरिएका देजु दम्पती पनि संयोगले बाँचेका हुन्। स्याफ्रुबेसीमा ज्यान जोगाएका धेरै स्थानीयको कथा यस्तै छ।

तर उनीहरूका पीडा सुनाउने र सुन्ने मानिस पनि कम छन्। बाढीले पुलहरू बगाएपछि भोटेकोसी तरेर उनीहरूका कुरा सुन्नसमेत मानिसहरू पुग्न सकेका थिएनन्।

‘आजसम्म कुनै मिडिया आएकै थिएन। तपाईंहरूलाई देखेर खुसी लाग्यो,’ स्थानीय बुद्धिमान तामाङले भने, ‘हाम्रो कुरा हामीले भन्नै सकेनौं। कसैलाई सुनाउनै पाएनौं।’

स्थानीय बुद्धिमान तामाङ

बाढी हो भनेर सुरुमा थाहै भएन’

बाढी आउँदा बुद्धिमान र उनका नाबालक छोरा पसलमै थिए। शिक्षिका पत्नी कान्छी तामाङले फोन गरेर भाग्न आग्रह गरिन्।

‘धुवाँ देखेर मोबाइलले खिच्दै थिएँ। पानी पनि आएको देखें,’ कान्छीले त्यो समय सम्झिइन्, ‘सुरुमा त बाढी भनेर मैले पनि थाहा पाइनँ। पछि डरलाग्दो बाढी देखेपछि श्रीमान्लाई भनेँ। उहाँले पत्याउनुभएन। बाढी होला, हाम्रो पसलसम्म आउँदैन भन्नुभयो।’

गत वर्ष असोजमा पनि भोटेकोसीमा बाढी आएको थियो। त्यसले रसुवागढी र टिमुरेमा ठूलो क्षति पुर्‍याएको थियो। केही मानिसको ज्यानसमेत गएको थियो।

‘यसपटक त्यही बाढीका कारण धेरै मानिस झुक्किएर बगेको अनुमान छ,’ कान्छी भन्छिन्, ‘पोहोर आएको जत्रै होला भनेर धेरैले बेलैमा भाग्नुभएन।’

तर उनले लगातार आग्रह गरेपछि बुद्धिमान छोरा लिएर अरूलाई पनि भाग्न सुझाउँदै दौडिए।

‘पसलमै बसेको भए म त बग्ने रहेछु,’ बुद्धिमानले भने, ‘कति बगे, बगे !’

वडाध्यक्ष र उपाध्यक्ष अझै बेपत्ता

बाढीमा परेर स्याफ्रुबेसी (गोसाइँकुण्ड गाउँपालिका–५) का वडाध्यक्ष दावा मिङमर तामाङ र गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ बेपत्ता छन्।

स्थानीयका अनुसार वडाध्यक्ष तामाङ अरूलाई बचाउन दौडिरहेका बेला बाढीमा परेका थिए।

‘बजारबाट सबैलाई भाग भन्दै प्रहरी कार्यालय पुग्नै लाग्दा बगायो,’ स्थानीय तारा घलेले भने, ‘प्रहरीलाई सूचना दिँदा अझै धेरैलाई भगाउन सकिन्छ भनेर वडाध्यक्ष बाइकमा कुदिरहेका थिए।’

पालिका कार्यालयका अनुसार स्याफ्रुका मात्रै १७६ जना बेपत्ता छन्। २०७८ को जनगणनाअनुसार यहाँको जनसंख्या साढे चार सय हाराहारी थियो।

चार सयभन्दा बढी घर बगरमा परिणत भएका छन्। पालिकाको कार्यालय, वडा कार्यालय, सेनाको ब्यारेक र स्वास्थ्य चौकीलगायत संरचना पनि बगेका छन्।

हेलिकप्टरको भरमा जीवन

भित्तामा रहेका केही घरसहित कोमिन स्यामेवाङफेल आधारभूत विद्यालय भने बचेको छ। अहिले यही विद्यालय बाढीपीडितका लागि होल्डिङ सेन्टर बनेको छ।

रसुवाको सबैभन्दा माथिल्लो क्षेत्रमा रहेको यो होल्डिङ सेन्टरमा अहिले पनि विस्थापितहरू बसिरहेका छन्। रसुवागढी र टिमुरेबाट विस्थापितहरूलाई काठमाडौंलगायत अन्यत्र सारिए पनि यहाँ रहेका मानिसहरू भने अझै हेलिकोप्टरको भरमा छन्।

तुइन सञ्चालनमा आए पनि खाद्यान्नलगायत सामग्री ठूलो परिमाणमा लैजान सकिने अवस्था छैन।

‘अहिलेसम्म हामीलाई हेलिकोप्टरले नै खानेकुरा ल्याइराखेको छ। कतै जानुपरे पनि हेलिकप्टरकै आशा हो,’ स्थानीय दुप्साङ तामाङ (५४) भन्छन्।

स्थानीय दुप्साङ तामाङ ।

राहतपछि पुनर्स्थापनाको चिन्ता

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ भोटेकोसीमा बेलिब्रिज बनेपछि स्याफ्रुबेसीलाई हेलिकोप्टरको भरबाट बाहिर निकाल्न सकिने बताउँछन्।

‘अहिले हेलिकोप्टरको भरमा विस्थापितहरूलाई बचाउने काम भइरहेको छ। तर यसरी लामो समय चल्न सक्दैन,’ उनी भन्छन्, ‘भोटेकोसीमा जतिसक्दो छिटो पुल बनाउनैपर्छ।’

बेलिब्रिज बनेमा गोसाइँकुण्ड गाउँपालिकाको स्याफ्रुबेसीसहित आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकाका वडाहरू पनि अहिलेको नाकाबन्दीको अवस्थाबाट बाहिर आउन सक्ने उनको भनाइ छ।

अहिले हेलिकोप्टरबाहेक सीमित रूपमा सेनाले सञ्चालन गर्ने ड्रोनबाट पनि राहत सामग्री लैजाने काम भइरहेको छ।

तर स्थानीयवासी राहत वितरणभन्दा अघि बढेर पुनर्स्थापनाको योजना बनाउनुपर्ने बताउँछन्।

‘खानेकुरा आइरहेको छ। तर कोही कता, कोही कता छन्। अब सबैलाई एकै ठाउँमा बस्ने व्यवस्था भए हुन्थ्यो,’ स्थानीय पासाङ तामाङ भन्छिन्।

उनका परिवार र आफन्त गरी २३ जना हराइरहेका छन्। यति ठूलो संख्यामा आफन्त हराएपछि विक्षिप्त बनेकी पासाङ अहिले बिस्तारै घरायसी काममा फर्किन थालेकी छन्।

स्थानीय पासाङ तामाङ ।

अनलाइनखबर  स्थलगत पुग्दा उनी केही बाख्रा गोठतिर लैजाँदै थिइन्। बाढीले उनको गोठ भने जोगिएको छ।

‘दिउँसोभरि बाख्रा चराउँछु, साँझ स्कुलमै जान्छु,’ उनले भनिन्।

तस्वीरहरू : चन्द्र आले मगर/अनलाइनखबर

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

आदित्य नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?