News Summary
Generated by OK AI. Editorially reviewed.- संसद्को नयाँ भवनमा रहेको अस्थायी क्यान्टिन बुधबार बन्द गरिएको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले मंगलबार प्रतिनिधिसभामा क्यान्टिनका चिया, चाउमिन र ममको मूल्यबारे प्रश्न उठाएका थिए ।
- क्यान्टिन कर्मचारी राजकाजी महर्जनले अस्थायी संरचनाको क्यान्टिन आज खुला नभएको र साविकको ठाउँबाट सेवा भइरहेको बताए ।
६ असोज, काठमाडौं । संसद्को नयाँ भवनको अस्थायी क्यान्टिन बन्द भएको छ । चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन सञ्चालनप्रति प्रश्न उठाएका थिए । मंगलबार नयाँ बिल्डिङमा रहेको अस्थायी रुपमा राखिएको संरचना बन्द गरिएको हो ।
क्यान्टिनका एक कर्मचारी राजकाजी महर्जनले अनलाइनखबरसँग भने, ‘सिनियर म्यानेजमेन्टले गरेको निर्णय हो । अस्थायी रुपमा राखिएको ठाउँको क्यान्टिन आज खुला छैन । साविकको ठाउँबाट भइराखेको छ ।’
सिंहदरबारभित्र सञ्चालिन क्यान्टिन भने बन्द भएको छैन । नयाँ भवनमा राखिएको अस्थायी प्रकृतिको संरचना भने बन्द गरिएको हो । सांसद सुनारले बोलेको जस्तो मूल्य नरहेको पनि महर्जनले बताए ।
‘माननीयले जे बोल्नुभयो त्यो उहाँको अधिकार हो । तर उहाँको भनाइमा सत्यता छैन । मेन्यु जेछ छ । रेट भन्दा बाहिर गएर केही गरिएको छैन,’ महर्जनले भने ।
संसद् भवनको बरण्डामा राखेको फाइभस्टार होटल कसको हो ? भनेर उनले प्रश्न गरेका थिए ।
‘कालो चियाको एक सय रुपैयाँ, दूध हालेको चियाको दुई सय, ममको तीन सय, चाउमिनको चार सय, पाउरोटीको पाँच सय,’ पर्ने भनेर उनले प्रश्न गरेका थिए ।
साथै, फाइभ स्टार होटल संसदको बरण्डाबाट बाहिर निकाल्नुपर्ने माग राखेका थिए ।
संसद्मा यस्तो प्रश्न उठेपछि अस्थायी क्यान्टिन बन्द गरिएको छ । अब त्यो कहिले खुल्छ वा के हुन्छ भन्ने विषयमा क्यान्टिन सञ्चालकले केही भनेका छैनन् ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर




प्रतिक्रिया 4