+
+
Shares

प्रिन्सी–प्रिज्मा भन्छन्, ‘हामीमाथि दुर्व्यवहार भयो, उल्टै दोष हाम्रो पहिरनलाई लगाइयो’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कन्टेन्ट क्रिएटर प्रिन्सी खतिवडाले दुई जना केटाबाट दुर्व्यवहार भएको भन्दै इन्स्टाग्राममा भिडियो र फोटो सार्वजनिक गरेकी छिन् ।
  • प्रिन्सीका अनुसार प्रहरीले उल्टै ‘किन यस्तो छोटो कपडा लगाएको त ?’ भन्दै टिप्पणी गरेको थियो ।

कन्टेन्ट क्रिएटर प्रिन्सी खतिवडाले इन्स्टाग्राममा एउटा संवेदनशील भिडियो सामाग्री पोस्ट गरेकी छिन् । भिडियो ब्लर गरिएको छ । केही सांकेतिक फोटो पनि प्रयोग गरिएको छ ।

भिडियो–फोटो हेर्दा सो रातको समयको जस्तो देखिन्छ । घटना कहाँको हो ? स्पष्ट खुलाइएको छैन । प्रिन्सीले सो घटना धेरैलाई जानकारी भएको संकेत गर्दै भनेकी छिन्, ‘हामीलाई दुई जना केटाले दुर्व्यवहार गरेको त सबैलाई थाहा छ ।’

त्यसअघि नै उनीहरूले सो घटनाको भिडियो सामाजिक सञ्जालमा राखेका रहेछन् । तर, ब्लर नगरिएकाले हटाइएको उनीहरूको भनाइ छ ।

घटना के थियो त ?

प्रिन्सीका अनुसार दुई जना केटाले उनीहरूमाथि दुर्व्यवहार गर्न थाले । केटाहरूसँग जुध्न सकिदैनथ्यो । र, बेवास्ता गरेर हिँड्नु पनि उचित थिएन । उनीहरूले प्रहरीमा खबर गरे । प्रहरीको भ्यान आयो, केटाहरूलाई नियन्त्रणमा लिएर लग्यो । फेरि उनीहरूलाई सोधपुछ गर्न प्रहरी आइपुगे । के भएको थियो ? के गरेका थिए ? प्रहरीको प्रश्नको उनीहरूले बिस्तारमा जवाफ दिए ।

तर, प्रहरीको भनाइ सुनेर उनीहरू छक्क मात्र परेनन्, दुःखी भए । प्रहरीले प्रिन्सी र प्रिज्मामाथि उल्टै यस्तो आरोप लगाए, ‘किन यस्तो छोटो कपडा लगाएको त ?’ छोटो कपडा लगाएकै कारण केटाहरूले दुर्व्यवहार गरेको प्रहरीको बुझाइ देखियो ।

‘हाम्रो के दोष थियो ? हामीले लगाएको कपडाको के दोष थियो ?’ प्रिन्सीले भनेकी छिन्, ‘प्रहरीको यस्तो कुरा चित्त नबुझेपछि हामीले सो कुरा सोसल प्लेटफर्ममा राखिदियौं ।’

गृहमन्त्रीको कमेन्ट र एक्सन

प्रिन्सीले आफूहरूमाथि भएको दुर्व्यवहारको घटना सार्वजनिक गरेपछि गृहमन्त्री सुदन गुरुङले कमेन्ट गरेको बताएकी छिन् । ‘त्यसपछि गृहमन्त्रीसँग हाम्रो कुराकानी भयो’ प्रिन्सीले भनेकी छिन्, ‘लगत्तै यस घटनामा एक्सन लिनुभयो ।’

गृहमन्त्री गुरुङले भनेपछि यो घटना प्रहरी बृत्त गौशालामा पुगेर कारवाही अगाडि बढ्यो । अब के हुन्छ ? दोषीमाथि कारबाही हुन्छ ? कस्तो कारबाही हुन्छ ? यसबारे क्रमश: बताउँदै जाने प्रिन्सीले जानकारी गराएकी छिन् ।

कपडा छोटो भयो कि मान्छेको सोंच ?

यो घटनामा प्रहरीले ‘किन छोटो कपडा लगाएको त ?’ भनी गरिएको टिप्पणीलाई प्रिन्सीले जोडदाररूपमा उठाएकी छिन् । कसैले लगाउने पहिरन नै कसरी दोषी हुनसक्छ ? के पहिरनकै कारण कसैमाथि दुर्व्यवहार हुनु सामान्य हो ?

प्रिन्सीले भनेकी छिन्, ‘यो घटनामा सरकारले यस्तो एक्सन लियोस् कि यो एउटा दस्तावेज बनोस् । जसले गर्दा भोलिका दिनमा कुनैपनि पीडितले आफ्नो कपडाको कारण भिक्टिम ब्लेमिङ भोग्न नपरोस् ।’

साथसाथै प्रहरी वा कुनैपनि पद धारण गरेका व्यक्तिबाट यस्ता घटनामाथि जिम्मेवार र जवाफदेही ढंगले काम होस् भन्ने कामना पनि उनीहरूको छ ।

एक्सन लिइहाल्नुहोस्

उनीहरूले इन्स्टाग्राममा सो पोस्ट गरेपछि धेरैले आफूहरूले पनि त्यस्तै भोग्नुपरेको कमेन्ट गरेका थिए । प्रिन्सीले भनेकी छिन्, ‘यसमा धेरैको कमेन्ट आयो । तपाईंहरूमाथि यस्तो अन्याय हुन्छ भने एक्सन लिइहाल्नुहोस् ।’

सबै प्रहरी नराम्रो नहुने र सहयोग पाइने उनको भनाइ छ । ‘१०१ नम्बरमा फोन डायल गर्नुहोस्’ प्रिन्सी भन्छिन्, ‘प्रहरी बोलाइहाल्नुहोस् ।’

यस क्रममा आफूहरूले जस्तै पीडितमाथि नै दोष दिने काम गरियो भने त्यसलाई सहेर नबस्न आग्रह गरेकी छिन् । प्रिन्सीले भनेकी छिन्, ‘नडराई सोसल प्लेटफर्ममा आफ्नो कुरा राख्नुहोस् । जसरी हजुरहरूले गर्दा हाम्रो कुरा गृहमन्त्रीसम्म पुग्यो, तपाईंहरूले पनि त्यस्तो सहयोग पाउनुहुनेछ ।’

दुर्व्यवहार भनेको दुर्व्यवहार नै हो

कुनैपनि युवतीमाथि गरिने दुर्व्यवहार ठूलो वा सानो भन्ने हुँदैन । गलत नियतले कसैले दुई शब्द बोल्छ वा इशारा गर्छ भने त्यो पनि दुर्व्यवहार भएको प्रिन्सीले बताएकी छिन् । यी अवस्थामा सहेर नबस्न उनको आग्रह छ।

यो घटनाबारे बताइरहँदा उनीहरूलाई कतिले नकारात्मक टिप्पणी पनि गरेका छन् । छोटो पहिरनकै कारण यस्तो व्यवहार भएको भन्दै तर्क गरेका छन् । प्रिन्सीको जवाफ छ, ‘पहिरन छोटो होइन, तपाईंहरूको सोच चाहिँ छोटो हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?