+
+
Shares
चुनावको तयारीमा श्रम संस्कृति :

कचनकवलदेखि सगरमाथासम्म राजनीतिक यात्रा

स्थापनाको छोटो समयमा राष्ट्रिय दल बनेको श्रम संस्कृति पार्टीका नेता/कार्यकर्ता आउँदै गरेको स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीका लागि संगठन विस्तारमा केन्द्रित भएका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८३ असोज ६ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा केचनकवलदेखि सगरमाथासम्मको अभियान सञ्चालन गरिरहेको छ।
  • पार्टी अध्यक्ष साम्पाङले झापाको केचनकवलबाट अभियान सुरु गर्दै धनकुटा हुँदै पहाडी जिल्लातर्फ र सुदन किराती नेतृत्वको टोली इलाम हुँदै पहाडी जिल्लातर्फ पठाएका छन्।
  • कोशी प्रदेश अध्यक्ष प्रताप राईले अभियानमार्फत सबै जिल्लामा संगठन विस्तार, अन्तर्क्रिया र अन्य पार्टीका इमान्दार कार्यकर्तालाई स्वागत गरिने बताए।

६ असोज, विराटनगर । २०७९ सालको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर हुँदै राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन् हर्क साम्पाङ । उनकै नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेको छ ।

श्रम संस्कृति पार्टी झापाको कचनकवलदेखि सगरमाथासम्मको लामो राजनीतिक यात्रासहित आगामी निर्वाचनको तयारीमा जुटेको हो ।

पार्टी सुदृढीकरणका लागि कचनकवलदेखि सगरमाथासम्मको हातेमालो अभियान गत ४ वैशाखमा उद्घाटन भएको थियो । दुई महिनासम्म चल्ने अभियानको उद्घाटन पार्टी अध्यक्ष साम्पाङले झापाको कचनकवल गाउँपालिकाको केचनाबाट गरे । त्यसपछि पार्टीका दुई टोली पहाडी र हिमाली जिल्लातर्फ लागेका छन् ।

अध्यक्ष साम्पाङ एउटा टोलीको नेतृत्व गर्दै धनकुटा हुँदै पहाडी जिल्लातर्फ लागेका छन् । वरिष्ठ नेता सुदन किराती नेतृत्वको टोली इलाम हुँदै पहाडी जिल्लातर्फ निस्किएको छ ।

यो अभियानको समापन सोलुखुम्बु पुगेर गर्ने योजना रहेको श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्ष प्रताप राईले बताए ।

‘अभियानअन्तर्गत हामी प्रदेशका सबै जिल्लामा पुग्छौं । पार्टी संगठन विस्तार र अन्तर्क्रिया कार्यक्रम गर्छौं,’ प्रदेश अध्यक्ष राईले भने, ‘अभियानमै अन्य पार्टीका इमान्दार कार्यकर्तालाई पार्टीमा स्वागत गर्दैछौं‌ ।’

आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीका लागि अभियान सञ्चालन गरिएको उनले बताए ।

श्रम संसकृति पार्टीले कोशी प्रदेश समितिले २०८७ सालको प्रतिनिधिसभा निर्वाचनबाट पार्टी अध्यक्ष साम्पाङलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको थियो । त्यसअघि प्रदेशसभा निर्वाचनमार्फत कोशी प्रदेशको नेतृत्व गर्ने प्रदेश समितिको योजना छ ।

श्रम संस्कृतिले कोशी प्रदेश मुख्यमन्त्रीको उम्मेदवारको रूपमा सुदन किरातीलाई अघि सारेको छ । पूर्वमन्त्रीसमेत रहेका किराती नेकपा छाडेर श्रम संस्कृतिमा प्रवेश गरेका थिए ।

‘पहिला प्रदेशको नेतृत्व गर्ने त्यसपछि केन्द्रीय सरकारको नेतृत्व गर्ने कार्ययोजनासहित काम गरिरहेका छौं,’ प्रदेश अध्यक्ष राई भन्छन्, ‘त्यसैको तयारीका लागि हो, केचनकवलदेखि सगरमाथासम्मको यात्रा ।’

श्रम संस्कृति पार्टीले कोशी प्रदेशका सबै पालिकामा संगठन विस्तार गरिसकेको छ । दुई महिनासम्म चल्ने अभियानमार्फत संगठनलाई तल्लो तहसम्म पुर्‍याउने योजना पार्टीको छ ।

प्रदेश अध्यक्ष राई स्थानीय तह र प्रदेशसभा निर्वाचनमा कोशी प्रदेशमा पार्टीलाई पहिलो बनाउने लक्ष्यसहित काम गरिरहेको बताउँछन् ।

२०८२ सालको निर्वाचनमा कोशी प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको प्रभाव क्षेत्रमा श्रम संस्कृति पार्टीले आफ्नो प्रभाव जमाएको छ ।

प्रदेशका तराईका जिल्लाभरि नै रास्वपाको एकछत्र प्रभाव रहँदा सुनसरी-१ मा भने श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले रोकेका थिए । झापा र मोरङ रास्वपाले क्लिनस्विप गर्दा सुनसरीमा साम्पाङ निर्वाचित भएका थिए ।

गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा समानुपातिक तर्फ २ लाख ९२ हजार ०४९ मत प्राप्त गरेको थियो । समानुपातिक मतमा पहिलो भएको रास्वपाले ८ लाख ५३ हजार १८३ मत प्राप्त गर्दा तेस्रो भएको नेपाली कांग्रेसले २ लाख ९० हजार ५६२ र नेकपा एमालेले २ लाख ८८ हजार १८६ मत प्राप्त गरेको थियो ।

श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ देशभर ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको थियो । श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ क्षेत्रमा निर्वाचित हुँदै समानुपातिकतर्फ ४ सिट जितेको थियो ।

स्थापनाको छोटो समयमा राष्ट्रिय दल बनेको श्रम संस्कृति पार्टीका नेता/कार्यकर्ता आउँदै गरेको स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीका लागि संगठन विस्तारमा केन्द्रित भएका छन् ।

स्थानीय तहका निर्वाचित पदाधिकारीको समयअवधि २०८४ वैशाख र प्रदेशसभाको समयावअधि २०८४ मंसिरमा सकिँदै छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?