+
+
Shares

कुखुरा मासुमा अचाक्ली मूल्यवृद्धि, खुद्रामा लुटिँदै उपभोक्ता

पछिल्लो दुई महिना अवधिमा ब्रोइलर कुखुरा मासुको मूल्य निरन्तर उकालो यात्रामा छ । असार अन्तिम सातासम्म आम उपभोक्ताको पहुँचमा रहेको कुखुराको मासु अहिले किन्नै नसकिने अवस्था आएको उपभोक्ता गुनासो निरन्तर बढ्दो छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ असोज ६ गते २१:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासु दुई महिनामा प्रतिकिलो १ सय रुपैयाँ बढेर ४ सय १५ रुपैयाँ पुगेको संघले तोकेको छ।
  • खुद्रा बजारमा मासु ४ सय ४० देखि ४ सय ७० रुपैयाँसम्ममा बिक्री भइरहेको उपभोक्ता र व्यवसायीले बताएका छन्।
  • उपभोक्ता र अधिकारकर्मीले सरकारी अनुगमन कमजोर र संघहरूले कार्टेलिङ गरेर भाउ बढाएको आरोप लगाएका छन्।

६ असोज, काठमाडौं । ‘बजारमा कुनै पनि खाद्य सामग्रीको भाउ छोइसक्नु छैन, तरकारी, दाल, चामलदेखि खाने तेलसम्मको भाउले त ढाड सेकेकै थियो, हुँदाहुँदा एक किलो कुखुराको मासु समेत ५ सय नै पुग्न लागेछ,’ शंखमुलको मासु पसल अगाडि सुनिएको गुनासो हो यो ।

‘गरिबले त कुखुराको मासु समेत खान नसक्ने भइयो,’ हातमा मासुको झोला झुन्ड्याएका दुई महिला आपसमा कुरा गर्दै थिए । उनीहरू यत्तिमै रोकिएनन् ।

थपे, ‘पहिले हप्तामा दुई–तीन दिन मासु खाइन्थ्यो, अहिले त भाउ सुनेरै तर्सिनुपर्ने अवस्था छ, आम्दानी उही छ, तलब बढ्दैन, महँगी यसरी बढिरहेको छ कि घरखर्च धान्न मुस्किल भइसक्यो ।’

पछिल्लो दुई महिना अवधिमा ब्रोइलर कुखुरा मासुको मूल्य निरन्तर उकालो यात्रामा छ । असार अन्तिम सातासम्म आम उपभोक्ताको पहुँचमा रहेको कुखुराको मासु अहिले किन्नै नसकिने अवस्था आएको उपभोक्ता गुनासो निरन्तर बढ्दो छ ।

एकातिर उत्पादक र कोल्डस्टोरबाटै मूल्य बढेर आएको दाबी विक्रेताहरूले गर्दै आएका छन् । अर्कातिर, खुद्रा बजारमा कुनै नियमन नहुँदा खुद्रा पसलेहरूले मनपरी भाउ असुलिरहेको उपभोक्ता र सरोकारवालाले लगाउँदै आइरहेका छन् । जसको सम्पूर्ण मार भने दैनिक ज्यालादारी गरेर वा निश्चित तलबमा जीवन निर्वाह गर्ने आम उपभोक्ताको थाप्लोमा परेको छ ।

बुद्धनगरमै भेटिएका अर्का एक उपभोक्ता हरिकाजी तन्डुकारले पनि हरेक खाद्य वस्तु महँगो बनाएर बजारको अवस्था भद्रगोल पारिएको भन्दै तीव्र असन्तुष्टि जनाए । सरकारी अनुगमन देखावटी मात्रै भएको र व्यवसायीले कार्टेलिङ गरेर भाउ बढाएको उनको आरोप थियो ।

‘तपाईं आफैं भन्नुस् न, होलसेलमा १० रुपैयाँ भाउ बढ्दा खुद्रा पसलेले किलोमै ४० देखि ५० रुपैयाँसम्म बढाउँछन्, तर हामीले बोल्ने ठाउँ कतै छैन,’ तन्डुकारले भने, ‘दिनभरि मजदुरी गरेर ल्याएको पैसा साँझ सामान किन्दा सधैं ठगिनुपर्ने ? गरिबका लागि सरकार कहाँ छ ?’

उपभोक्तामो गुनासो त्यसै आएको पनि होइन । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जारी गरेका सूचना र पछिल्लो दुई महिनाको तथ्यांक हेर्ने हो भने मूल्यवृद्धिको ग्राफले उपभोक्तालाई आक्रोशित हुन बाध्य नै पारेको छ ।

असार अन्तिम सातादेखि असोज पहिलो साता आइपुग्दा कुखुराको मासुमा भएको मूल्यवृद्धिले जो कोहीलाई झस्काउँछ ।

संघको तथ्यांक अनुसार २४ असारमा जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर खरिद मूल्य प्रतिकिलो जम्मा २ सय २० रुपैयाँ थियो । तर, साउन सुरु भएदेखि यो मूल्य उकालो लाग्न थाल्यो । त्यसको ४ दिनमै ८ साउनमा मूल्य फेरि १० रुपैयाँ बढेर २ सय ३० रुपैयाँ पुग्यो । त्यसको दुई साता नबित्दै २२ साउन मा २ सय ४० रुपैयाँ कायम भयो । मूल्य बढ्ने क्रम यतिमै रोकिएन, २६ साउनमा जिउँदो कुखुराको भाउ २ सय ५० रुपैयाँ पुग्यो ।

भदौ त मूल्यवृद्धिको रफ्तार झनै तीव्र बन्यो । २ भदौमा २ सय ६० रुपैयाँ, ६ भदौमा २ सय ७०, १५ भदौमा २ सय ८० हुँदै २४ भदौमा जिउँदो कुखुराको मूल्य २ सय ९० रुपैयाँ पुग्यो ।

र, अहिले भर्खरै ५ असोज सोमबारदेखि लागु हुने गरी संघले जिउँदो कुखुराको खरिद मूल्य प्रतिकिलो ३ सय रुपैयाँ तोकेको छ । जिउँदो कुखुराको मूल्य ३ सय पुग्दा तयारी मासुको उपभोक्ता मूल्य (होलसेल सिफारिस मूल्य) प्रतिकिलो ४ सय १५ रुपैयाँ तोकिएको छ । यसअघि २४ भदौमा तयारी मासुको मूल्य ४ सय रुपैयाँ थियो ।

समग्रमा हेर्दा, असार अन्तिम सातादेखि ५ असोजसम्मको करिब दुई महिनाको छोटो अवधिमै जिउँदो कुखुरामा प्रतिकिलो ८० रुपैयाँ र तयारी मासुमा प्रतिकिलो १ सय रुपैयाँको भारी वृद्धि भएको छ ।

यो भनेको करिब ३५ प्रतिशतभन्दा बढीको मूल्यवृद्धि हो । कुनै पनि खाद्यवस्तुमा यति छोटो समयमा यति ठूलो मूल्यवृद्धि हुनु अर्थतन्त्र र उपभोक्ता अधिकारका दृष्टिकोणले गम्भीर विषय हो ।

खुद्रा बजारमा नियमन शून्य, पसलेहरूको आफ्नै बाध्यता

संघले तयारी मासुको उपभोक्ता मूल्य प्रतिकिलो ४ सय १५ रुपैयाँ तोकेको छ । तर, काठमाडौंका गल्ली–गल्लीमा रहेका खुद्रा मासु पसलमा यो मूल्यमा मासु पाउन असम्भव छ । हाल काठमाडौंका अधिकांश खुद्रा पसलमा कुखुराको मासु प्रतिकिलो ४ सय ४० देखि ४ सय ७० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

मंगलबार बिहान बुद्धनगरदेखि शंखमुलसम्मका १० वटा मासु पसलमा अनलाइनखबरले एक किलो कुखुरा मासुको भाउ सोध्दा एउटा पसलले मात्रै ४ सय ४० रुपैयाँमा बेचेको पाइयो । बाँकी ९ पसलले ४ सय ५५ रुपैयाँदेखि ४ सय ७० रुपैयाँमा किनबेच गरेको पाइयो ।

उपभोक्ताले खुद्रा पसलेलाई गाली गरे पनि खुद्रा व्यवसायी आफूहरू नै मारमा परेको र माथिबाटै महँगोमा किन्नुपरेको बाध्यता सुनाउँछन् । बुद्धनगरस्थित एसबी मिट सप एन्ड सप्लायर्सका सञ्चालक भरत केसी आफूहरूले जिउँदो कुखुरा नभई कोल्डस्टोरबाट तयारी मासु नै ल्याउने भएकाले मूल्य किन बढ्छ भन्ने कुराको जानकारी नहुने बताउँछन् ।

‘हामी त कोल्डस्टोरबाट ल्याउने हो, मेरो पसलमा दिनमा ५०–६० किलो मासु ल्याउनुपर्छ, तर अहिले हामीलाई नै कोल्डस्टोरले ४ सय ३० रुपैयाँ हाराहारीमा दिन्छ,’ सञ्चालक केसीले भने, ‘त्यसमा हामीले २०–२५ रुपैयाँ जति नाफा राखेर बेच्ने हो, पसलको भाडा तिर्नुपर्‍यो, कामदार पाल्नुपर्‍यो, घाटा खाएर त बेच्न मिलेन नि !’

उनी आफूले ४ सय ५५ रुपैयाँमा मासु बेचिरहेको सुनाए । तर, दुई महिनादेखि मूल्य किन यति धेरै बढिरहेको छ भन्ने आफूलाई थाहा नभएको उनको भनाइ थियो ।

‘किन बढ्यो भनेर सोध्यो भने उनीहरू (आपूर्तिकर्ता) ‘बढेको छ’ मात्र भन्छन्, अरू केही भन्दैनन्,’ उनले थपे, ‘हिजो मात्रै १५ रुपैयाँले बढेको हो, बढ्दा पनि १५ रुपैयाँले नै बढ्छ, घट्दा पनि १५ रुपैयाँले नै घट्ने हो, अहिले त अन्डा पनि बढेको छ, मासु पनि बढेको छ, हामी खुद्रा पसले त उपभोक्ताको गाली खाने पात्रमात्र बनेका छौं ।’

‘पर्याप्त कुखुरा पाउन सकिएको छैन’

शंखमुलस्थित आइकालु मिट सेन्टरका सञ्चालक कृष्णराम खड्गीका अनुसार विगतमा चार महिना देशभरि फैलिएको बर्डफ्लुका कारण  अहिले बजारमा कुखुरा निकै कम आएको छ ।

‘त्यो बेला रोगको डरले किसानले चल्ला राखेनन्,’ खड्गीले भने, ‘त्यसैको असरले अहिले बजारमा कुखुरा नआएर बजारमा पर्याप्त छैन ।’

हाल आइकालु मिट सेन्टरमा कुखुराको मासु प्रतिकिलो ४ सय ४५ रुपैयाँमा बिक्री भइरहेको उनले बताए ।

उत्पादक र महासंघको दाबी : विगतको घाटाले गर्दा किसानले चल्ला पाल्न छाडे

उपभोक्ता खुद्रा पसलले मूल्यवृद्धि गराएको आरोप लगाइरहँदा खुद्रा व्यवसायी आपूर्तिकर्तालाई दोष दिइरहेका छन् । तर, उत्पादनको मुख्य तहमा रहेका सरोकारवाला भने अहिलेको यो मूल्यवृद्धि र अभावलाई विगतका घटनाक्रमको परिणाम मान्छन् ।

बजारमा देखिएको यो अभाव र मूल्यवृद्धिका विषयमा नेपाल पोल्ट्री महासंघ उपाध्यक्ष नारायणहरि खत्रीले बजारमा कुखुरा अभाव हुनुको पछाडि किसानहरूले भोगेको विगतको नियति जिम्मेवार रहेको बताउँछन् ।

विगतमा फैलिएको बर्डफ्लुको कारण धेरै कुखुरा नष्ट भएकाले अहिले बजारमा अभाव देखिएको र निरन्तर मूल्य उकालो लागेको उनको भनाइ छ । बर्डफ्लु संक्रमित खोरलाई तीन महिनासम्म निर्मलीकरण गरेर खाली राख्नुपर्ने नियम छ । त्यसपछि लगातारको वर्षात्का कारण पनि किसानहरू खोरमा नयाँ चल्ला हाल्न उत्साहित नभएको उनले बताए ।

‘अहिले बजारमा कुखुरा अभाव छ, त्यो साँचो हो तर किन भयो भनेर बुझ्न अलिकति पछाडि फर्कनुपर्छ, केही महिना अगाडि ह्याचरीका चल्ला नबिकेर खाल्डोमा हालेर पुर्नुपर्ने अवस्था थियो,’ महासंघ उपाध्यक्ष खत्रीले भने, ‘बजार नपाउँदा र निरन्तर घाटा खाँदा साना तथा मझौला किसानले खोरमा कुखुराका चल्ला हाल्नै छाडे, कतिपय किसान विस्थापित भए, जब किसानले चल्ला नै हालेनन्, तब उत्पादन घट्ने नै भयो, त्यसैको असरले गर्दा अहिले बजारमा कुखुरा अभाव भएको हो ।’

चाडपर्वको समयमा मासुको माग ह्वात्तै बढ्ने तर सोही अनुपातमा किसानको खोरमा कुखुरा नभएका कारण बजार नियम अनुसार नै मूल्य बढेको उनको तर्क छ । उनका अनुसार विस्तारै किसानले पुन: खोरमा चल्ला हाल्न थालेका छन्, तर अहिले बजारमा ब्रोइलर चल्लाकै पनि अभाव छ ।

‘अहिले किसानले पाउने चल्लाको मूल्य नै निकै बढेको छ, एउटा चल्लाको मूल्य १ सय रुपैयाँसम्म पुगेको छ,’ उनले भने, ‘यद्यपि, कुखुराको दानाको मूल्यमा भने खासै ठूलो वृद्धि भएको छैन, दानाको मूल्य स्थिर जस्तै छ ।’

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार हाल देशभरि ब्रोइलर कुखुराको मासुको माग निकै उच्च छ । सामान्य अवस्थामा देशभरि दैनिक करिब ६ लाख किलो कुखुरा मासु खपत हुने गरेको छ । जसमध्ये आधाभन्दा बढी (करिब ३ लाख किलोभन्दा धेरै) खपत संघीय राजधानी काठमाडौं उपत्यका भित्रै मात्र हुने गर्छ ।

दैनिक ३ लाख किलोभन्दा बढी मासु खपत हुने काठमाडौंको बजारमा थोरैमात्र आपूर्ति शृङ्खलामा अवरोध हुँदा त्यसले बजारमा ठूलो उथलपुथल आउने संघ अध्यक्ष जंगबहादुर बीसी बताउँछन् । अहिले आएको समस्या नै आपूर्तिको भएको उनको भनाइ छ ।

किसानको खोरबाट कुखुरा कोल्डस्टोर हुँदै खुद्रा पसलसम्म आइपुग्दा बिचौलियाहरूको चलखेलले पनि मूल्य बढाउन मद्दत गरेको उपभोक्ता अधिकारकर्मीहरूको आरोप छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना उत्पादन कम हुँदैमा भाउ बढ्ने भन्ने नहुने बताउँछन् ।

संघहरूले घोषित रूपमै ‘कार्टेलिङ’ गरेर मासु तथा अन्डाको भाउ बढाएको उनको आरोप छ । नियमन गर्ने निकायले नियमन नगर्दा व्यापारीले मनोमानी गर्ने र त्यसको मार उपभोक्ताले बेहोर्नुपर्ने नियति नै बनेको उनी बताउँछन् ।

‘सबैभन्दा पहिला संघका नाममा जसले वस्तुको मूल्य तोकिरहेको छ, त्यो नै पूर्णरूपमा अवैधानिक हो,’ उपभोक्ता अधिकारकर्मी तिमल्सिना भन्छन्, ‘सरकारले सबैभन्दा पहिला जसले जुन वस्तुको पनि भाउ तोक्ने अवस्थालाई नियन्त्रण गर्नुपर्छ ।’

उत्पादन कम भयो भन्ने त बहाना मात्रै भएको उनको भनाइ छ । यति ठूलो मात्रामा दैनिक मूल्यवृद्धि भइरहँदा बजार अनुगमन गर्ने सरकारी निकायहरू वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत अन्य निकाय मूकदर्शक बनेको सरोकारवालाको आरोप छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?