News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन सौराहास्थित रोयल टुलिप चितवनलाई पर्यटन विभागले पाँचतारे डिलक्सको मान्यता दिएको छ ।
- विभागको निरीक्षण टोलीले भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा, अतिथि सेवा र सञ्चालन प्रणाली तोकिएका मापदण्डअनुसार पाएको बताएको छ ।
- केटीएम हस्पिटालिटी लिमिटेडले १५ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
६ असोज, काठमाडौं । चितवन सौराहास्थित लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले पाँचतारे डिलक्स मान्यता प्राप्त गरेको छ ।
पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टलाई स्तरीकरण मान्यता प्रदान गरिएको हो । रिसोर्ट केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित छ । कम्पनीले करिब तीन साताअघि पर्यटन विभागमा स्तरीकरणका लागि निवेदन दिएको थियो ।
निवेदनपछि विभागका निर्देशक सहित चार सदस्यीय टोली रिसोर्टको भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा र सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरेको थियो ।
निरीक्षण क्रममा तोकिएका मापदण्ड पूरा गरेको पाइएपछि विभागले रिसोर्टलाई पाँचतारे डिलक्सको मान्यता दिएको हो । विभागले देशभरि अन्य तीन होटललाई यस्तो मान्यता दिएको छ ।
रोयल टुलिप रिसोर्टमा स्थानीय निर्माण सामग्री काठ–फर्निचर, ढुंगा टायल र ढुंगाले छाएको छाना, जुटबाट निर्मित गलैँचा, स्थानीय कलाकारले काठमा गरेको पेन्टिङ, स्थानीयले बुनेको सजावटका सामान, मान्द्रो लगायत प्रयोग गरिएको नेपालीपन झल्काउने वस्तु राखिएका छन् ।
विभागबाट रिसोर्ट निरीक्षण गर्न पुगेका अधिकारीले रोयल टुलिपले अत्याधुनिक प्रविधि प्रयोग गर्दै सञ्चालित वातावरणमैत्री यस रिसोर्टले नेपाली आतिथ्यताको नयाँ मानक बनाएको र यसलाई निरन्तता दिने विश्वास समेत व्यक्त गरेका थिए ।
राप्ती नदी नजिक जनकौली र कुमरोज सामुदायिक वन नजिकै ४.१२ एकड क्षेत्रफलमा फैलिएको रोयल टुलिप चितवनमा ६५ वटा आधुनिक कोठा छन् । रिसोर्टमा रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब र हेलिप्याड, रिभल्भिङ रेस्टुरेन्ट लगायत सुविधा छन् ।
यसको सञ्चालन अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल ग्रुप अन्तर्गत रोयल टुलिप ब्रान्डसँगको व्यवस्थापकीय सम्झौता अनुसार भइरहेको छ । कम्पनीले सन् २०२५ जुलाईदेखि रिसोर्टको सफ्ट ओपनिङ सुरु गरी डिसेम्बर मध्यदेखि पूर्णरूपमा सञ्चालनमा ल्याएको हो ।
साथै, केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता (कुल १५ करोड ५० लाख रुपैयाँ बराबर) साधारण सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई डबल बी माइनस रेटिङ प्रदान गरेको छ । रिसोर्टको कुल परियोजना लागत करिब १ अर्ब ७० करोड ५ लाख रुपैयाँ रहेको र आईपीओपछि ऋण–स्वपूँजी अनुपात ६१.५:३८.५ कायम हुने प्रक्षेपण गरिएको छ ।
रेटिङ प्रतिवेदनले अन्तर्राष्ट्रिय ब्रान्ड आबद्धता र अनुभवी प्रवर्द्धक समूहलाई कम्पनीको सबल पक्षका रूपमा औँल्याएको छ । केटीएम हस्पिटालिटी २५ असार २०८१ मा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो । कम्पनीको नेतृत्व केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर साहले गरिरहेका छन् ।
प्रतिक्रिया 4