News Summary
Generated by OK AI. Editorially reviewed.- फ्लाई दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई–पोखरा–दुबई रुटमा दैनिक नियमित उडान थाल्दैछ।
- पोखरामा यो दोस्रो नियमित अन्तर्राष्ट्रिय उडान हो, यसअघि हिमालय एयरलाइन्सले ल्हासामा नियमित उडान गरेको थियो।
- विशेषज्ञहरूले पोखरा र भैरहवा विमानस्थल दिगो रूपमा चलाउन सरकार, निजी क्षेत्र र वायुसेवा कम्पनीबीच समन्वय आवश्यक रहेको बताएका छन्।
६ असोज, काठमाडौं । बुधबार (७ असोज) देखि यूएईको फ्लाई दुबईले नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखराबाट नियमित उडान थाल्दैछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको समर सेड्युल अनुसार फ्लाई दुबईको दुबई–पोखरा–दुबई रुटमा २३ सेप्टेम्बरदेखि २४ अक्टोबर दैनिक एक उडान गर्ने गरी उडान तालिका स्वीकृत भएको छ ।
पोखरामा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबाट हुन लागेको यो दोस्रो सेड्यूल फ्लाइट (नियमित उडान) हो । यसअघि हिमालय एयरलाइन्सले चीनको ल्हासामा नियमित उडान गरेको थियो । सिट नभरिने समस्याले उडान घाटामा जान थालेपछि हिमालयले उक्त उडान झिक्यो ।
नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार सामान्यतया पर्याप्त प्रवर्द्धन भइनसकेका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित जहाज आउने वातावरण निर्माण गर्न सरकार, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र पर्यटनसँग सम्बन्धित स्थानीय सरोकारवालाबीच सही समन्वय हुनुपर्छ ।
तर सरकार एक्लै, वायुसेवा एक्लै वा पर्यटनसँग सम्बन्धित निजी क्षेत्र एक्लैले मात्र चाहेर विमानस्थल चल्दैनन् । वायुसेवा कम्पनीले यात्रु पाउँदैनन् ।
यस्तै गल्ती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउने नाममा गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक २०८१ देखि मर्मतको काम थालियो । त्यसपछि काठमाडौं उडानको समय खुम्चियो ।
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले बाध्य भएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही उडान सारे । सोही वर्ष हिँउदमा भिजिबिलिटी समस्याले उडानहरू झिकियो । चैतमा त्रिभुवन विमानस्थल मर्मत सकियो । वायुसेवा कम्पनी पुन: काठमाडौं फिर्ता भए ।

सोही वर्ष फ्लाई दुबई, जजिरा एयरवेज, नेपाल एयरलाइन्स, कतार एयरवेज, थाई एयर एसिया सहित वायुसेवा कम्पनीले भैरहवामा नियमित उडान गरेका थिए । विमानस्थलमा चहलपहल र रौनक आएको थियो । तर, त्यसपछि त्यस्तो रौनक भैरहवामा फर्किन सकेन ।
‘विमानस्थल चल्न पर्याप्त विदेशी पर्यटक आगमन सुनिश्चित हुनुपर्छ,’ जोशीले भने, ‘तर, त्यसले मात्र वायुसेवा कम्पनीलाई अकुपेन्सी पुग्दैन, आन्तरिक यात्रुको चाप पनि बढ्नुपर्छ ।’
भैरहवास्थित गौतमबुद्ध विमानस्थल दुवै सम्भावना बोकेको ‘प्राइम लोकेसन’ मा छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बौद्धमार्गी मुलुकबाट पर्याप्त पर्यटक भित्र्याउने सम्भावना छ । साथै, तराई भेगबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई समेत यो विमानस्थल सहज छ । तर, यो विमानस्थल सञ्चालनमा सरोकारवालाबीच समन्वयात्मक रूपमा पहल हुन नसकेको जोशीको भनाइ छ ।
‘सरकारले कूटनीतिक पहल गरेर वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रम, मेडिकल तथा अन्य कामका लागि काठमाडौं आउनु नपर्ने व्यवस्था गर्न सक्थ्यो, गरिएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सक्थ्यो,’ उनले भने, ‘निजी क्षेत्रले पनि वायुसेवा कम्पनीसँग सम्झौता गरेर आफैंले पर्यटक भित्र्याउने वातावरण बनाउन सक्थ्यो, यी सबै प्रयास भैरहवामा नपुगेकै हो ।’
अहिले काठमाडौंमा थोरै समस्या आउँदा पनि विदेशी कम्पनीका जहाज भारत वा बंगलादेशतर्फ ‘डाइभर्ट’ हुन्छन् । सामान्यतया वायुसेवा कम्पनी र होटलहरूबीच जहाज डाइभर्ट हुने अवस्थामा यात्रु र चालक दलका सदस्य राख्न अग्रिम सम्झौता गरिएको हुन्छ ।
त्यस्तै विमानस्थलमा आपत्कालीन सुविधाको पर्याप्तता समेत वायुसेवा कम्पनीले हेर्ने गर्छन् । यस्तो सम्झौता निजी क्षेत्रले आफ्नै पहलमा पनि गर्न सक्छ । त्यसो नहुँदा जहाज डाइभर्ट हुने समयमा पनि नेपालका दुई विमानस्थल उपयोगमा आउन सकेका छैनन् ।
गौतमबुद्ध विमानस्थलमा सरकारले गर्न नसकेको अर्को प्रयास हवाई रुट सहजीकरण हो । नागरिक उड्डयन प्राधिकरणका पूर्वउपमहानिर्देशक देवानन्द उपाध्यायका अनुसार नेपाल र भारतबीच पटक–पटक छलफल भए पनि न इन्ट्री रुटमा सहमति जुट्यो, न गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरणका बेला हुन सक्ने भारतीय आकाश प्रयोगमा नै सहजीकरण भयो ।
यसैलाई कारण देखाउँदै अहिले पनि धेरै वायुसेवा कम्पनी भैरहवामा जान मान्दैनन् । ‘सिंगापुरबाट उड्नासाथ जहाज मलेसियाको एयरस्पेसमा जान्छन्, तर ती दुई देशले सम्झौता मार्फत यसलाई सहजीकरण गराएका छन्, नेपाल र भारतबीच पनि यो सहमति छिटो हुनुपर्ने थियो,’ उनी भन्छन् ।
अर्कातर्फ, पश्चिम नेपाल हुँदै नेपाल आउनुपर्ने जहाजको समेत प्रवेशविन्दु बाराको सिमरामात्र हो । भारतले अन्य प्रवेशविन्दु नदिँदा भैरहवाको पारिपट्टि सीमा नकिजैबाट उडिरहेका जहाज समेत सिमराबाट छिरेर पुन: भैरहवा पुग्नुपर्ने बाध्यता छ ।
यसले वायुसेवा कम्पनीको खर्च बढायो । जसले गर्दा वायुसेवा कम्पनीले त्यो भारको जोखिम लिन चाहेनन् । नेपालगञ्ज वा महेन्द्रनगरबाट जहाज नेपाल छिर्न सक्ने गरी भारतले प्रवेशविन्दु दिएको अवस्थामा भैरहवा उडान गर्न चाहने वायुसेवा कम्पनीलाई सहज हुन्छ ।
भैरहवास्थित विमानस्थलमा काठमाडौंमा हुने सबै प्रकारका उडान गर्न सक्ने सुविधा छ । पोखरामा त्यो सुविधा छैन । पोखरामा भने न्यारोबडी जहाजमात्र उडान गर्न सक्छन् ।
उपाध्यायका अनुसार जतिबेला भैरहवामा उडान बढाउन प्रयास गरिएको थियो, त्यसबेला सडक यात्रा सबैभन्दा कठिन थियो ।
‘बुटवल–नारायणगढ सडक जीर्ण थियो, दाउन्नेको डाडाँमा ५/६ घण्टाको जाम हुन्थ्यो,’ उनको प्रश्न छ, ‘यो अवस्थामा भैरहवा अवतरण गरेको मान्छे झापा पुग्दा कति सास्ती भोग्ने ?’
पोखरामा दिगो उडानका लागि अन्य जिल्लाबाट पोखरा जोड्ने सडक चुस्त र सुरक्षित हुनुपर्ने उनको भनाइ छ ।
पोखरामा जागेको आशा
पोखरालाई नियमित चलायमान बनाउन यस क्षेत्रमा निजी क्षेत्रले उत्तिकै राम्रो पहल गरेको छ । यसअघि चीनको सिचुआन एयरलाइन्सबाट दुई दर्जन चार्टर उडान पोखरामा भएका थिए ।
भुटानबाट समेत केही चार्टर उडान पोखरामा भएका थिए । यी उडान निजी क्षेत्र, स्थानीय सरकार र वायुसेवा कम्पनीको पहलमा भएका छन् ।

पोखरामा खेलकुदजन्य गतिविधिका लागि चीनबाट यस्तो उडान गरिएका छन् । विज्ञका अनुसार निजी क्षेत्र, सरकार र वायुसेवा कम्पनीबीचको समन्वयमा हुने प्रयासले दिगो समाधान दिन सक्छ ।
सोहीकारण अब पर्यटन बोर्डले गर्ने विदेश प्रवर्द्धनमा पोखरा र भैरहवा विमानस्थलको सम्भावनालाई सँगसँगै लैजानुपर्ने सुझाव जोशीको छ ।
‘हामीले अब पोखरामात्र प्रवर्द्धन गरेर पुग्दैन, पोखरा विमानस्थलको प्रवर्द्धन गर्नुपर्छ,’ उनी भन्छन्, ‘निजी क्षेत्र उत्साहित भएका बेला राज्यले हातेमालो गरिदिनुपर्छ ।’
दुबई नवधनाढ्य भारतीय नागरिकको बसोबास बढ्दै गएको सहर हो । साथै, त्यहाँबाट तेस्रो मुलुकमा ट्रान्जिट उडान समेत धेरै हुने भएकाले दुबई हुँदै पोखरामा नियमित उडान निरन्तर गर्न सक्ने सम्भावना छ ।
एक उडान सफल भए त्यसले थप उडान आकर्षित हुने र विमानस्थल चल्ने वातावरण बन्छ । यसका लागि सरकारले वायुसेवा कम्पनीहरुलाई सहुलियत दिएर निरन्तर चल्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ ।
प्राधिकरणका पूर्वउपमहानिर्देशक उपाध्यायका अनुसार पोखरालाई रुट वा एयरस्पेस प्रयोगमा समस्या छैन । यसको फाइदा यो विमानस्थल हुँदै उड्ने वायुसेवाले उठाउन सक्छ ।
दिगोरूपमा विमानस्थल चलाउने हो भने यात्रुलाई आवश्यक पर्ने सबै प्रकारका सुविधा सम्बन्धित सहरमा उपलब्ध हुनुपर्नेमा उनको समेत सहमति छ ।
‘पोखराबाट दुबई उड्ने यात्रुलाई अन्य कागजात बनाउन काठमाडौं बोलाउनु भयो भने त्यो प्रयास दिगो हुँदैन,’ उनी भन्छन्, ‘भैरहवाबाट सिक्नुपर्ने पाठ यही नै हो ।’
प्रतिक्रिया 4