६ असोज, सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा फैलिएको स्क्रब टाइफस संक्रमण नियन्त्रणबाहिर जाने जोखिम बढेको छ । हालसम्म सयौंको संख्यामा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ भने, पछिल्लो एक महिनामा ७ जनाको ज्यान गइसकेको छ ।
मंगलबार १६० जनामा परीक्षण गर्दा ३७ जनामा र सोमबार १९१ जनाको परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको छ ।
परीक्षण गरिएकामध्ये झन्डै एकतिहाइमा संक्रमण देखिनथालेपछि संक्रमण रोकथान निकै चुनौतीपूर्ण बनेको छ । परीक्षणकै लागि किटको समेत अभाव देखिन थालेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नम्बर १, ५ र ६ संक्रमणबाट बढी प्रभावित छन् । अवस्था हेर्दा जोखिममा रहेका मानिसको परीक्षण गर्न थप एक हजार २०० किट आवश्यक देखिएको छ ।
किटको मौज्दात घट्दैगएपछि प्रदेश तथा संघीय सरकारसँग आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए ।
हालसम्म प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट २०० र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट २५० गरी ५५० परीक्षण किट दार्मा पुगेका छन् ।
तर, संक्रमणको दर उच्च देखिएपछि ती किट पर्याप्त नहुने शाखा प्रमुख बस्नेतले बताए । उनले भने, ‘परीक्षण गर्नुपर्ने मानिसको संख्या बढिरहेको छ । तर, किटको मौज्दात घट्दै गएको छ । तत्काल थप किट उपलब्ध नभए परीक्षण प्रभावित हुनसक्छ ।’
किट र जनशक्ति पठाउने प्रदेश सरकारको तयारी
दार्मा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण फैलिँदैगएपछि कर्णाली प्रदेश सरकारले थप किट, आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली पठाउने तयारी गरेको छ ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई आवश्यक सामग्री तथा जनशक्ति तत्काल प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिएको बताएका छन् ।
अन्य पालिकाले पनि मागे किट
यसैबीच, सल्यानकै कालीमाटी गाउँपालिका, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाले पनि स्क्रब टाइफस परीक्षण किट माग गरेका छन् ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले स्क्रब टाइफस तथा डेङ्गु परीक्षण किटसँगै डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, पारासिटामोललगायत औषधि उपलब्ध गराउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले मागअनुसार आवश्यक किट, औषधि तथा स्वास्थ्यकर्मीसहितको टोली मंगलबार बिहान सल्यान पठाउने तयारी गरिएको बताए ।
एक महिनामै सातको मृत्यु
पछिल्लो एक महिनामा स्क्रब टाइफसकै कारण सात जनाको मृत्यु भएको छ । मृत्यु दार्मा–६ का ८२ वर्षीय बलबहादुर थापा र ६७ वर्षीय नरबहादुर बुढाथोकी, दार्मा–५ का ६९ वर्षीय तुलबहादुर खड्का, दार्मा–१ का ५१ वर्षीय खिमानन्द केसी, ६७ वर्षीय तोताराम सुनार र ६१ वर्षीय नरेन्द्र रोकाय, दर्मा–२ का १२ वर्षीय नरेश ओली छन् ।
स्वास्थ्य शाखा प्रमुख बस्नेतका अनुसार उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिरका अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो ।
प्रतिक्रिया 4