News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन र आत्मालोचनालाई सकारात्मक र स्वागतयोग्य भनेका छन् ।
- बाँस्कोटाले विगतका कमजोरी कागजमा होइन, व्यवहारमा देखिनुपर्ने र प्रतिवेदनको सफलता कार्यान्वयनमा निर्भर हुने बताए ।
- उनले पार्टीभित्रको पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस अर्को महाधिवेशनमा फेरि उठ्ने प्रष्ट पारे ।
६ असोज, काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको प्रतिवेदन र त्यसमा व्यक्त गरिएको आत्मालोचनालाई सकारात्मक रूपमा लिएको बताएका छन् ।
मंगलबार ललितपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बाँस्कोटाले अध्यक्षको प्रतिवेदन सैद्धान्तिक रूपमा सही भएपनि त्यसको सफलता व्यवहारिक कार्यान्वयनमा भर पर्ने जिकिर गरे ।
‘अध्यक्षले विगतका कमजोरीको समीक्षा गर्नु र आत्मालोचनासहितको प्रतिवेदन ल्याउनु पहिलो सुधारको संकेत हो । तर यी कुराहरू केवल कागजमा सीमित नभएर व्यवहारमा देखिनुपर्छ,’ बाँस्कोटाले भने ।
उनले अध्यक्ष ओलीले विगतका कमजोरीहरूलाई महसुस गरी प्रश्तुत गरेको प्रतिवेदन ढिलै भएपनि स्वागतयोग्य रहेको पनि बताए । पार्टीभित्र लामो समयदेखि चल्दै आएको पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहसका बारेमा सोधिएको प्रश्नमा उनले सो विषय महाधिवेशनमा फेरि उठ्ने प्रष्ट पारे ।
‘नेतृत्व परिवर्तनको विषय कहिल्यै सकिँदैन, यो पार्टीको प्रक्रिया हो । अहिले हामी महाधिवेशनबाट पराजित भएको अवस्थामा छौँ, हारपछि सघाउने हाम्रो संस्कार हो । तर जब अर्को महाधिवेशन आउँछ, त्यतिबेला यो बहस स्वत: अगाडि आउँछ,’ उनले भने ।
कार्यदलको प्रतिवेदन र तल्लो तहबाट आएका हजारौं सुझावहरूलाई अध्यक्षको ४० बुँदे प्रतिवेदनले समेट्ने प्रयास गरेकोमा उनले सन्तोष व्यक्त गरे ।
प्रतिक्रिया 4