+
+
Shares

जंगलमा बाघको राज : बस्तीमा त्रास

मानव–बाघ द्वन्द्व न्यूनीकरणको उपाय क्षतिपूर्ति र राहतमा मात्रै सीमित गर्न नहुने संरक्षणकर्मीहरूको बुझाइ छ।

शान्ता अधिकारी शान्ता अधिकारी
२०८३ असोज ७ गते ७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको संख्या १ सय ४५ पुगेको छ, र राष्ट्रियस्तरमा ४ सय २९ पुगेको छ।
  • गत आर्थिक वर्ष बाघको आक्रमणबाट नेपालमा १० जनाको मृत्यु भएको छ, र पछिल्ला आठ वर्षमा ८५ जनाले ज्यान गुमाएका छन्।
  • चितवनका स्थानीय कल्पना बोटे र मंगले बोटेको परिवारले बाघ आक्रमणपछि राहत पायो, तर जंगलमा निर्भर जीवन र जोखिम घटेको छैन।

७ असोज, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको काँखमै कल्पना बोटेको सानो खरले छाएको घर छ। घर वरिपरि जंगल छ। जंगलसँगै उनको जीवन पनि जोडिएको छ। तर त्यही जंगल अहिले उनका लागि डर र पीडाको अर्कोनाम बनेको छ।

घरभित्र बच्चाहरू रोइरहेका हुन्छन् । कल्पना घरको काममा व्यस्त हुन्छिन् । सहयोग गर्ने कोही छैन । कामको थकानभन्दा ठूलो पीडा उनलाई सासुआमा उमादेवी बोटेको सम्झनाले दिन्छ। बच्चा रुँदा त्यो पीडा झन् बल्झिन्छ।

२०७९ जेठ २४ गते घाँस काट्न र निउरो टिप्न जंगल छेउ पुगेकी उमादेवीमाथि बाघले आक्रमण गर्‍यो। घटनास्थलमै उनको मृत्यु भयो। परिवारले २० दिनभित्रै १० लाख रुपैयाँ राहत पायो। राहतले तत्कालको संकट टार्न केही सहयोग गर्‍यो, तर गुमेको मान्छे फर्काउन सकेन। न त परिवारको जंगलमाथिको निर्भरता नै हट्यो।

आज पनि कल्पनाको परिवारको जीवन जंगलसँगै जोडिएको छ। घाँस, दाउरा, निउरो र अन्य वन पैदावारका लागि जंगल जानुपर्ने बाध्यता उस्तै छ।

कल्पनाको कथा एउटा परिवारको मात्रै कथा होइन। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपास बस्ने धेरै परिवारको साझा वास्तविकता हो।

संरक्षणको सफलता, बढ्दो चुनौती

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा मात्रै बाघको संख्या १४५ पुगेको छ। राष्ट्रिय बाघ सर्वेक्षण–२०८२ अनुसार नेपालमा बाघको संख्या ४ सय २९ पुगेको छ । बाघको संख्या चार वर्षमा ७४ ले बढेको हो । सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा छन् । बाघ संरक्षणमा नेपालले उल्लेखनीय सफलता हासिल गरिरहँदा यसको अर्को पाटो भने चुनौतीपूर्ण बन्दै गएको छ—मानव–बाघ द्वन्द्व । गत आर्थिक वर्ष मात्रै बाघको आक्रमणबाट नेपालमा १० जनाले ज्यान गुमाएका छन् ।

बाघको संख्या बढ्नु संरक्षणको दृष्टिले ठूलो उपलब्धि हो। तर संरक्षणको यही सफलतासँगै मानव–बाघ द्वन्द्वको जोखिम पनि बढ्दै गएको छ। पछिल्लो समय निकुञ्ज र मध्यवर्ती क्षेत्र मात्र होइन, बस्ती आसपास र घना बस्तीमा समेत बाघ देखिन थालेका छन् । बस्तीमा बाघ देखिन थालेपछि स्थानीयमा त्रास बढ्ने गरेको छ।

भरतपुर महानगरपालिका–२८, मेघौलीमा भएको पछिल्लो घटना त्यसको उदाहरण हो। ६५ वर्षीय मंगले बोटेमाथि साउन २५ गते राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गर्‍यो। बिहान करिब ८ बजे मर्निङवाकमा निस्किएका बोटे आक्रमणपछि बेपत्ता भएका थिए। चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, प्रहरी र स्थानीयको खोजीपछि दिउँसो ४:२० बजे उनको शव फेला परेको थियो।

त्यसको केही दिनपछि राप्ती नगरपालिका–१, डिपाट बस्तीमा पनि बाघले मानिसमाथि आक्रमण गर्‍यो। साउन ३१ गते बिहान करिब ६:४० बजे बस्तीमा आएको बाघले ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गरेको थियो। आक्रमणबाट उनको तिघ्रामा चोट लागेको छ।

सोही बाघले स्थानीय दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरेको थियो। गाई सामान्य घाइते भएको छ।

चालु आर्थिक वर्ष सुरु भएयता चितवनमा बाघ बस्तीमा पस्ने र मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण गर्ने घटना देखिएका छन् । साउनमै एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

जंगलबाटै जीवन, जंगलमै जोखिम

मानव–बाघ द्वन्द्वको जोखिम सबै समुदायमा समान छैन। निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग प्रत्यक्ष निर्भर समुदाय सबैभन्दा बढी जोखिममा छन् ।

विशेषगरी विपन्न परिवारका लागि जंगल रोजगारीको विकल्प मात्रै होइन, दैनिक जीवन धान्ने आधार हो। घाँस, दाउरा, निउरो तथा अन्य वन पैदावार संकलन गर्न जंगल पस्नुपर्ने बाध्यता छ। यही बाध्यता उनीहरूका लागि जोखिम पनि बनेको गरेको छ।

कल्पनाको घरमा अहिले पनि बच्चाहरू रुन्छन् । घरको काम उस्तै छ। जंगल पनि उस्तै छ। तर उनकी सासुआमा छैनन् । राहत रकमले परिवारलाई केही समय सम्हाल्यो। तर जंगलसँग जोडिएको निर्भरता हटाउन सकेन।

भरतपुर महानगरपालिका–२३ की कल्पना बोटे र भरतपुर महानगरपालिका–२८ का मंगले बोटेको परिवारले यसको मूल्य चुकाइसकेको छ। परिवारका सदस्य गुमेपछि राहत त आयो, तर जीवनयापनको आधार परिवर्तन भएन।

त्यसैले मानव–बाघ द्वन्द्व न्यूनीकरणको उपाय क्षतिपूर्ति र राहतमा मात्रै सीमित गर्न नहुने संरक्षणकर्मीहरूको बुझाइ छ।

सबै बाघ समस्या सिर्जना गर्ने होइनन्

जंगलमा रहेका सबै बाघ बस्तीका लागि जोखिमपूर्ण हुँदैनन्। तर बूढो, घाइते वा अशक्त भएर जंगलमा सिकार गर्न नसक्ने केही बाघ सजिलै सिकार गर्न सकिने घरपालुवा पशु खोज्दै बस्तीनजिक आउने र त्यसक्रममा मानिसमाथि समेत आक्रमण गर्ने गरेको वन्यजन्तु विज्ञ बाबुराम लामिछाने बताउछन्।

उनका अनुसार समस्या सिर्जना गर्ने बाघको संख्या जंगलमा रहेका सबै बाघको तुलनामा निकै कम हुन्छ। तर त्यस्ता बाघलाई समयमै पहिचान र नियन्त्रण गर्न नसके मानवीय तथा पशुधनको क्षति बढ्नुका साथै बाघ संरक्षणप्रति स्थानीय समुदायको आक्रोश बढ्न सक्ने जोखिम हुन्छ। ‘बाघको अवस्था हेर्नुपर्छ। बूढो, घाइते वा सिकार गर्न नसक्ने बाघ बस्तीमा आउन सक्छन्। समस्या ल्याउने बाघलाई बेलैमा नियन्त्रणमा लिन सकिएन भने जनधनको क्षति बढ्न सक्छ,’ लामिछानेले भने ।

चितवन राष्ट्रिय निकुञ्जले पछिल्लो समय बस्तीमा पसेर जोखिम सिर्जना गरेका केही बाघलाई नियन्त्रणमा लिएको छ। गत असार ९ गते निकुञ्जको मध्यवर्ती क्षेत्र माडी नगरपालिका–१ लक्ष्मनियाँ गाउँमा पसेर गोठका चौपाया मारेको अशक्त बाघ नियन्त्रणमा लिइएको थियो।

लामिछानेका अनुसार पाँच वर्षअघि चितवनमा एकै वर्षमा बाघ आक्रमणका १४ घटना भएका थिए। कुमरोज र मेघौली–जगतपुर क्षेत्रमा मात्र दुईवटा बाघले ११ वटा घटना गराएको पाइएको उनले बताए ।

चितवनमा गरिएको वैज्ञानिक अध्ययनले पनि मानव–बाघ द्वन्द्वमा संलग्न हुने बाघको संख्या कुल बाघको तुलनामा निकै कम हुने देखाएको लामिछाने बताउछन् । सन् २००७ देखि २०१६ सम्मको अध्ययनमा २२ वटा ‘समस्या सिर्जना गर्ने’ बाघ पहिचान गरिएको थियो। तीमध्ये १३ वटा मानिस मार्ने, ६ वटा पटक–पटक पशुधन मार्ने र तीनवटा मानिसको सुरक्षाका लागि जोखिमपूर्ण मानिएका थिए। अध्ययनले द्वन्द्वमा संलग्न बाघमध्ये केही शारीरिक रूपमा अशक्त वा क्षेत्र स्थापित नगरेका बाघ रहेको देखाएको लामिछाने बताउछन्।

अर्को अध्ययनले सन् २००७ देखि २०१४ सम्म चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा भएका मानव–बाघ द्वन्द्वका घटना विश्लेषण गरेको थियो। त्यसमा बाघको व्यवहारसँगै मानिसको जंगल प्रवेश, वनमा निर्भरता, बस्ती र जंगलको अवस्थिति तथा समय र स्थानले समेत द्वन्द्वको जोखिममा प्रभाव पार्ने देखिएको थियो।

यसले बाघको संख्या बढ्यो भन्दै सबै बाघलाई जोखिमका रूपमा हेर्नुभन्दा कुन बाघले समस्या सिर्जना गरिरहेको छ भन्ने पहिचानमा जोड दिनुपर्ने देखाउँछ। बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षण गरिन्छ। स्वस्थ र सक्षम बाघलाई उपयुक्त अवस्थामा पुन: जंगलमा छाड्ने गरिएको छ। तर बूढो वा अशक्त भएर जंगलमा सिकार गर्न नसक्ने बाघलाई खोरमा नै राख्ने गरीएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर बताउछन्।

कुनै अवस्थामा स्वस्थ बाघ पनि मानिससँग अचानक जम्काभेट हुँदा आफ्नो सुरक्षाका लागि आक्रमण गर्न सक्छ। त्यसैले बाघको शारीरिक अवस्था मात्रै नभई उसको व्यवहार र विगतको गतिविधिसमेत मूल्यांकन गर्नुपर्ने लामिछानेको भनाइ छ।

नियन्त्रणमा लिइएका र पुन: जंगलमा छाडिएका बाघको निगरानीका लागि सेटेलाइट वा रेडियो कलर प्रयोग गर्ने अभ्यास पनि हुँदै आएको छ। तर कलर लगाएर जंगलमा छाडिएको बाघ पुन: बस्तीमा फर्किएका उदाहरणसमेत छन्।

लामिछानेका अनुसार कुमरोजबाट नियन्त्रणमा लिइएको एउटा बाघलाई सेटेलाइट कलर लगाएर जंगलमा छाडिएको थियो। पछि सोही बाघ फेरि बस्तीमा आएपछि पुन: नियन्त्रणमा लिनुपरेको थियो।

जंगलमा निर्भर समुदाय बढी जोखिममा

लामिछानेका अनुसार पर्यटकीय हिसाबले जंगल प्रवेश गर्ने मानिस र जंगलमै दैनिक जीवन निर्भर भएका समुदायबीच जोखिमको अवस्था फरक हुन्छ। वनबाट घाँस, दाउरा, काठ तथा अन्य स्रोत संकलन गर्ने, पशु चराउने वा माछा मार्ने समुदाय लामो समय जंगलमा रहने भएकाले उनीहरू बाघसँग जम्काभेट हुने सम्भावना बढी हुन्छ। ‘जंगलमै निर्भर समुदायलाई बाघको कोर एरिया र मानिस जान मिल्ने क्षेत्र पहिचान गर्नुपर्छ। जंगलमा आश्रित समुदायमा जनचेतना अझै विस्तार गर्न आवश्यक छ,’ लामिछानेले भने । यसका लागि कुन क्षेत्रमा बाघको गतिविधि बढी छ, कुन बाटो मानिसले प्रयोग गर्छन् र कुन समयमा जोखिम बढी हुन्छ भन्ने जानकारी स्थानीयस्तरसम्म पुर्‍याउनुपर्ने उनको सुझाव छ।

समस्या सिर्जना गर्ने बाघको पहिचानका लागि नियमित निगरानी, क्यामेरा र्ट्याप तथा बाघको व्यक्तिगत पहिचान प्रणाली प्रभावकारी बनाउनुपर्ने लामिछाने बताउछन् । बाघ बस्ती नजिक देखिएपछि मात्रै खोजी गर्नेभन्दा जोखिमको पूर्वानुमान गरी स्थानीयलाई सूचना दिने प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेको लामिछानेको भनाई छ ।

लामिछानेका अनुसार सबै बाघले क्षति गर्दैनन्। निकुञ्जले समस्या सिर्जना गर्न सक्ने वा समस्या गरिसकेका बाघको निगरानी गरिरहेको हुन्छ। तर प्रत्येक घटना र बाघको अवस्था फरक हुने भएकाले एउटै विधिबाट सबै घटनाको समाधान खोज्न हुदैन् । ‘बाघले आक्रमण गर्ने घटना पनि सबै फरक हुन्छन् । हरेक घटनाबाट सिक्दै अगाडि बढेर नियन्त्रणको प्रयास गर्नुपर्छ,’ उनले भने ।

सातवटा खोर, तर पर्याप्त छैन

बस्तीमा पस्ने तथा समस्याग्रस्त बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रमा सातवटा खोर व्यवस्थापन गरिएको छ। तर बाघको संख्या र गतिविधि बढ्दै जाँदा यी संरचना पर्याप्त नभएको देखिन्छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर भन्छन्, ‘शारीरिक रूपमा कमजोर, घाइते वा वृद्ध बाघ तथा बच्चा हुर्काइरहेका माउ बाघ कहिलेकाहीँ आहार र सुरक्षाको खोजीमा जंगलबाहिर निस्कने गर्छन् ।’ जंगलमा प्राकृतिक सिकार गर्न कठिन हुँदा घरपालुवा पशु र मानिस बाघका लागि सजिलो आहार बन्ने जोखिम बढ्दै गएको छ । समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएपछि कहाँ राख्ने र कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि निकुञ्जलाई छ ।

अब “टाइगर सेन्चुरी” को अवधारणा

यही चुनौती सम्बोधन गर्न समस्याग्रस्त बाघका लागि प्राकृतिक बासस्थानसहितको “टाइगर सेन्चुरी” अवधारणा अघि सारिएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारीक थापा मगरका अनुसार समस्याग्रस्त बाघलाई व्यवस्थित रूपमा राख्दै सकेसम्म प्राकृतिक वातावरण उपलब्ध गराउनु यसको उद्देश्य हो। उनि भन्छन्, ‘प्राकृतिक बासस्थान व्यवस्थापनसँगै बाघका आहार प्रजातिको संरक्षणमा जोड दिने प्रयास गरेका छौ’ उनी थप्छन्, ‘बाघलाई जंगलभित्रै राख्न सकियोस् र बस्तीमा बाघ आउने क्रमसमेत कम गर्न “टाइगर सेन्चुरी” को अवधारणा अघि सारेका छौ ।’

बाघको संख्या बढेसँगै त्यसको आहार व्यवस्थापनलाई पनि निकुञ्जले प्राथमिकतामा राखेको छ। आहार प्रजातिको अध्ययन, संरक्षण र व्यवस्थापनका कार्यक्रम अघि बढाइएको थापा मगर बताउँछन् ।

उनका अनुसार होल्डिङ क्रेज सुधारदेखि आहार प्रजातिको व्यवस्थापनसम्मका कार्यक्रमका लागि बजेट थप गरेर काम अघि बढाउने तयारी भइरहेको छ।

आठ वर्षमा ८५ जनाको मृत्यु

बाघ संरक्षणको सफलताबीच मानव–बाघ द्वन्द्वको गम्भीर पक्ष भने मानिसको ज्यान जाने घटनाले देखाइरहेको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२ र ८३ मा मात्रै बाघको आक्रमणबाट नेपालभर १० जनाको मृत्यु भएको छ। बाँकेमा चार, पर्सामा तीन, बर्दियामा दुई र चितवनमा एक जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो आठ वर्षमा बाघको आक्रमणबाट ८५ जनाको मृत्यु भएको तथ्यांक छ। बाघ बढ्नु संरक्षणको सफलता हो। तर जंगलको छेउमा बस्ने कल्पनाजस्ता परिवारका लागि संरक्षणको अर्थ त्यतिबेला मात्र सार्थक हुन्छ, जब जंगलमा बाघ पनि सुरक्षित हुन्छ र जंगलसँग जीवन जोडिएका मानिस पनि।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?