+
+
Shares

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसद्‍मा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १०:२७

७ असोज, काठमाडौं । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक प्रतिनिधिसभामा पुगेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेकी हुन् ।

नेपालको संविधानको धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने हक हुने भनिएको छ । कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था छ ।

संविधानको धारा ५१ को खण्ड (ज) मा नागरिकको आधारभूत आवश्यकतासम्बन्धी नीति अन्तर्गत प्रत्येक नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने भनिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवामा सहज, सुलभ, र समान पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै जाने गरी विधेयक ल्याएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।

मन्त्री मेहताले विधेयकमै लेखेकी छन्, ‘संविधानद्वारा प्रत्याभूत गरिएका स्वास्थ्य सम्बन्धी हकको सुनिश्चितताको लागि अस्पतालहरुको विस्तार गर्न तथा गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र संचालन गर्न आवश्यक रहेको छ ।’

प्रतिष्ठान स्थापना गर्नको लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० जारी भै पूर्वाधारको कार्य समेत भइरहेको छ ।

अन्य प्रदेशमा एक/एक प्रतिष्ठान स्थापना भई सञ्चालनमा रहेको तर मधेश प्रदेशमा प्रतिष्ठान स्थापना एवं सञ्चालन नरहेको हुनाले प्रादेशिक सन्तुलनको लागि समेत प्रस्तुत प्रतिष्ठान स्थापना भई कार्यान्वयन हुन आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

विधेयकअनुसार प्रतिष्ठानको केन्द्रीय कार्यालय सप्तरी जिल्लाको राजविराज नगरपालिकामा रहनेछ । प्रतिष्ठानलाई अंग्रेजी भाषामा ‘रामराजा प्रसाद सिंह एकेडेमी अफ हेल्थ साइन्सेज’ भनिनेछ ।

प्रतिष्ठान स्वशासित संस्था हुनेछ । प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित संस्थाको रुपमा यसले कानुनी व्यक्तित्व प्राप्त गर्नेछ ।

प्रतिष्ठानले कानुनी व्यक्तिको हैसियतले प्रचलित कानुन बमोजिमको अधिकारको प्रयोग, कर्तव्यको पालना र दायित्व निर्वाह गर्नेछ ।

को हुन् रामराजा प्रसाद सिंह ?

रामराजा प्रसाद सिंह नेपालका पहिलो गणतन्त्रवादी नेता हुन् । तत्कालीन पञ्चायती व्यवस्था र राजतन्त्रको विरुद्धमा उभिएर उनले नेपालमा गणतन्त्र स्थापनाका लागि वकालत र संघर्ष गरेका थिए । उनी सप्तरी जिल्लाको कोइलाडीमा जन्मिएका थिए ।

२०२८ सालमा मा स्नातक क्षेत्रबाट राष्ट्रिय पञ्चायतको सदस्य पदमा चुनाव लड्दा उनले खुला रूपमा गणतन्त्रको नारा अघि सारेका थिए । यही कारण पक्राउ परेका थिए ।

राजतन्त्र उन्मूलनका लागि भनेर उनले ‘जनवादी मोर्चा’ नामक संगठन स्थापना गरी संघर्षलाई अगाडि बढाएका थिए । २०४२ साल साल असार ६ गते नारायणहिटी राजदरबार र संसद् भवन (ग्यालरी बैठक) लगायतका ठाउँमा भएको बम विस्फोटको घटनाको नेतृत्व उनैले गरेका थिए ।

यसपछि उनलाई तत्कालीन सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछि लामो समय भारतमा निर्वासित जीवन बिताएका थिए । २०६५ सालमा नेपालमा गणतन्त्र स्थापना भएपछि भएको पहिलो राष्ट्रपति निर्वाचनमा तत्कालीन नेकपा माओवादीले उनलाई पहिलो राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । तर उनी कांग्रेस उम्मेदवार डा. रामवरण यादवसँग पराजित भएका थिए ।

उनै रामराजाको सम्झनामा सप्तरीको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?