News Summary
Generated by OK AI. Editorially reviewed.- कवितामा सेल्फी खिच्दै गर्दा अनुहारबाट मुस्कान, सपना, निश्चलता र आत्मबल हराएको अनुभूति व्यक्त गरिएको छ।
- कविले दुःख लुकाउन नसकिने, आँसु र पीडाको हद हुने र आफैंबाट भाग्दा अन्ततः थुनिनु पर्ने प्रश्न उठाएका छन्।
- अन्त्यमा उनले सेल्फी डिलेट गरे पनि अन्तिम सेल्फीमा बाँच्ने अभिलाषा पनि हराउँदै गएको बताएका छन्।
धेरैपछि मलाई
भएजति तनाव लुकेको
मन्द मुस्कानले खुलेको
भव्य सेल्फी लिन मन लाग्यो।
ङिच्च हाँसेँ
खिच्च खिचेँ
सेल्फीलाई जुम गरेर हेरेँ
अफसोस्! ओंठबाट मुस्कान गायब थियो।
ओंठ मिलाएँ
दन्त लहर देखाएँ
खिच्च खिचेँ!
खिचिरहेँ,– खिचक! खिचक!!
हरेक सेल्फीलाई जुम गरी गरी हेरेँ
लगातार हेरिरहेँ…
सेल्फीबाट मुस्कान मात्र होइन
आँखाबाट सपना समेत गायब थियो
सेल्फीबाट नदीजस्तो निश्चल लहर बेपत्ता थियो
सेल्फीबाट आँधीजस्तो मनोबल लापत्ता थियो।
मैले यति एकाग्रताले
आफ्नै आँखालाई नियालेको रहेनछु
मैले यति एकचित्तले आफैंलाई छामेको रहेनछु।
मलाई लाग्दैनथ्यो,–
मेरो दुःखको वासलात मेरै आँखाको पलकमा देखिन्छ
मलाई लाग्दैनथ्यो,–
लुकाउन खोजेको यथार्थ मेरै अनुहारको एक झलकमा देखिन्छ।
आखिर कहिलेसम्म मान्छेले दुःखलाई लुकाइरहन सक्छ?
के के कुरा खरानी भइसक्दासम्म
दुःखको रापमा चुपचाप सेकिइरहन सक्छ मान्छे?
आँसुको पनि कतै त पक्कै मुहान हुँदो हो
कति लामो खडेरी सहँदासम्म
यो सिपसिपाइरहन सक्छ मान्छेको आँखाबाट?
पीडाको पनि निश्चित हद हुन्छ होला
छातीको कुन कुनामा दुखाइको सुइरो घोपिँदासम्म
सहिरहन सक्छ मान्छेले?
धिपधिप गरिरहने आत्मबलको पनि सीमा हुन्छ होला
गिर्दै गिर्दै झरेर कहाँसम्म पुग्दा यसलाई जोगाइरहन सक्छ मान्छेले?
कहिलेसम्म बलियो भएको अभिनय गरिरहन सक्छ मान्छेले?
मलाई मेरै आँखामा देखिएको सत्य स्वीकार्न मन लागेन
मभित्र निहित तनाव मबाटै बाहिरिएको हेर्न मन लागेन
दुनियाँको अघि आफैंलाई खोतलखातल पार्न मन लागेन
सेल्फीहरू डिलेट हान्दिएँ,– स्वाट्टै! स्वाट्टै!!
अहिले लामो सास तानेर सोच्दैछु
यसरी आफैंबाट भागेर कहाँसम्म पुग्छु होला म?
कहिलेसम्म थुनिएर बसिरहन सक्छु होला म?
कुनै दिन आफैंले आफैंलाई थुनिरहन नसकेर पोखिएँ भने
सायद फेरि कहिल्यै बटुलिन सक्दिनँ म
फेरि कहिल्यै सम्हालिन सक्दिनँ म।
मैले अन्तिमपटक अर्को सेल्फी हानेँ,– खिचक!
अफसोस्! यसपटक सेल्फीबाट बाँच्ने अभिलाषा गायब हुँदै थियो।
०००
प्रतिक्रिया 4