+
२०औं एसियन गेम्स :

तेन्जिङ शेर्पा : हान्सोकुबाट कांस्य पदकसम्म

२०८३ असोज  ७ गते १३:४० २०८३ असोज ७ गते १३:४०

पहिलो खेलमै उनी मकाउका खेलाडीसँग अंकमा पछि परिसकेका थिए । यस्तोमा तेन्जिङ कसरी अघि बढे ? कसरी उनी पदकसम्म पुगे ? भन्ने धेरैलाई जिज्ञासा पनि रह्यो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले २०औं एसियन गेम्समा पुरुष ८४ केजीमाथि तौल समूहमा कांस्य पदक जितेर नेपालको पदक खाता खोले ।
  • क्वार्टरफाइनलमा मकाउका टेक लिओङ अन हान्सोकुबाट पराजित भएपछि तेन्जिङले सेमिफाइनलमा इरानका महमुद नेमातीसँग ५–० ले हार्‍ये ।
  • कास्य पदकका लागि लाओसका भाथाना सायासनलाई तेन्जिङले ९–१ ले हराउँदै नेपाललाई प्रतियोगितामा पहिलो पदक दिलाए ।

७ असोज, नागोया । नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले बुधबार कांस्य पदक जित्दै २०औं एसियन गेम्समा नेपालको लागि पदकको खाता खोले । तोयाहाशी जिम्नासियममा बुधबार भएको पुरुष ८४ केजीमाथि ताैल समूहमा तेन्जिङले कांस्य पदक जितेका हुन् ।

२०औं एसियन गेम्समा पहिलो पदक जित्ने तेन्जिङको पदक यात्रा भने रोचक थियो । नेपालबाट सहभागी ८ कराते खेलाडीमध्ये उनी प्रतिस्पर्धा गर्ने अन्तिम खेलाडी थिए ।

त्यसमा पनि पहिलो खेलमै उनी मकाउका खेलाडीसँग अंकमा पछि परिसकेका थिए । यस्तोमा तेन्जिङ कसरी अघि बढे ? कसरी उनी पदकसम्म पुगे ? भन्ने धेरैलाई जिज्ञासा पनि रह्यो ।

क्वाटरफाइनलमा तेन्जिङले हान्कोसुबाट खेलको नतिजा आफ्नो पक्षमा पारेका थिए भने सेमिफाइनलमा इरानी खेलाडीसँग पराजित भए ।

तर कांस्य पदकका लागि भएको खेलमा भने तेन्जिङले लाओसका खेलाडीलाई एकपक्षीय रुपमा हराउँदै पदकको खाता खोले ।

तेन्जिङले क्वार्टरफाइनलमा मकाउका टेक लिओङ अनसँग प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा मकाउका लिओङले १ अंक जोडिसकेका थिए भने तेन्जिङले अंक जोडेका थिएनन् ।

तर हान्सोकुमा तेन्जिङ विजयी भए । विपक्षी खेलाडीले नियमको उल्लंघन गरेका कारण अयोग्य भएपछि तेन्जिङलाई फाइदा भयो ।

के हो हान्सोकु ?

करातेमा हान्सोकु (Hansoku) भनेको गम्भीर नियम उल्लंघनका कारण खेलाडीलाई तत्काल अयोग्य घोषित गर्ने सजाय हो । हान्सोकु भएपछि उक्त खेल प्रतिद्वन्द्वीले जित्छ ।

कुमितेमा सजायको क्रम चुकोकु (पहिलो चेतावनी), केइकोकु (दोस्रो चेतावनी), हान्सोकु–चुई (अन्तिम गम्भीर चेतावनी) र अन्ततः हान्सोकु (अयोग्यता) सम्म पुग्छ ।

अत्यधिक वा खतरनाक सम्पर्क, जोखिमपूर्ण प्रहार वा फाल्ने प्रयास, बारम्बार गम्भीर फाउल दोहोरिनु तथा खेलभावनाविपरीत असभ्य व्यवहारजस्ता कारणले हान्सोकु दिन सकिन्छ ।

यसको अर्को उच्च तहको सजाय शिक्काकु हो, जसमा खेलाडी सम्पूर्ण प्रतियोगिताबाटै अयोग्य ठहरिन्छ । त्यसैले हान्सोकु र शिक्काकुबीच मुख्य अन्तर भनेको हान्सोकुले एउटा बाउट मात्र समाप्त गर्छ भने शिक्काकुले पूरै प्रतियोगिताबाट निष्कासन गराउँछ ।

यस खेलमा पनि मकाउका खेलाडीले नियम उल्लंघन गरेपछि उनलाई हान्सोकुबाट अयोग्य घोषित गरियो र तेन्जिङले सेमिफाइनलमा स्थान पाए ।

सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएपछि फाइनल पुग्न भने असफल भए ।

तर तेन्जिङले कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने मौका पाए । जसमा तेन्जिङले लाओसका भाथाना सायासनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ९–१ ले नतिजा आफ्नो पक्षमा पारे ।

२०औं एसियन गेम्समा करातेबाट ८ खेलाडी सहभागी भएकोमा यसअघि खेलका सबै खेलाडी पदकविहीन बनेका थिए । अन्तिममा प्रतिस्पर्धा गरेका तेन्जिङले नेपाललाई पहिलो पदक दिलाउँदै पदक तालिकामा नेपालको नाम समावेश गराए ।

१९औं एसियन गेम्समा ऐतिहासिक रजत जितेकी एरिका गुरुङ लगायत कराते खेलाडीबाट यसपटक पदकको ठूलो अपेक्षा गरिएपनि पूरा नहुँदा तेन्जिङले कम्तीमा कांस्य पदक जितेर पदकको खडेरी तोडे ।

२०औं एसियन गेम्समा पदकको लक्ष्य राखेका धेरै खेलाडी पराजित भइसकेका छन् । महिला कबड्डीमा नेपालले पहिलो खेलमा थाइल्यान्डलाई हराएर विजयी सुरुवात गरेको छ र पदक जित्ने सम्भावनालाई कायम राखेको छ ।

महिला कबड्डी टोलीले बुधबार चाइनिज ताइपेईसँग आफ्नो दोस्रो खेल खेल्दैछ भने तेस्रो खेल बिहीबार श्रीलंकासँग खेल्दैछ ।

समूहमा शीर्ष दुईमा रहँदै सेमिफाईनल प्रवेश गरेमा कबड्डीमा पदक पक्का हुनेछ ।

२०औं एसियन गेम्स तेन्जिङ शेर्पा
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय