+
+
Shares

ब्रोकरहरूले धमाधम दिन थाले मार्जिन लेन्डिङ सेवा, यस्तो छ शुल्क र ब्याज

ब्रोकर कम्पनीहरूले धमाधम मार्जिन लेन्डिङ सुविधा दिन थालेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार हालसम्म ११ ब्रोकर कम्पनीले मार्जिन कारोबार गरिसकेका छन् ।

कमल नेपाल कमल नेपाल
२०८३ असोज ७ गते २२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्जका अनुसार हालसम्म ११ ब्रोकर कम्पनीले मार्जिन कारोबार सुरु गरेका छन् र ५० कम्पनीले प्रक्रिया अघि बढाएका छन् ।
  • मार्जिन कारोबारमा लगानीकर्ताले ३० प्रतिशत रकम राखेर ७० प्रतिशत ब्रोकरबाट सापटी लिएर सेयर खरिद गर्न सक्ने व्यवस्था छ ।

७ असोज, काठमाडौं । ब्रोकर कम्पनीहरूले धमाधम मार्जिन लेन्डिङ सुविधा दिन थालेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार हालसम्म ११ ब्रोकर कम्पनीले मार्जिन कारोबार गरिसकेका छन् ।

मार्जिन कारोबार सुरु गरेकामा नासा (५८), त्रिशक्ति (४८), इम्पेरियल (४५), आर्यतारा इन्भेस्टमेन्ट (५७), क्रिस्टल कञ्चनजंघा (५०), नेपाल स्टक हाउस (१४), दक्षिणकाली इन्भेस्टमेन्ट (३३), भिजन (३४), दिपशिखा (३८), सनी (४२) र कलश स्टक मार्केट (७४) छन् ।

अरु ५० ब्रोकर कम्पनीले पनि यो सेवा थाल्नका लागि प्रक्रिया अगाडि बढाएका छन्, जसमध्ये एक दर्जन कम्पनीले मार्जिन कारोबारका लागि अनुमति नै पाइसकेका छन् ।मार्जिन कारोबारमा लगानीकर्ताले केही रकम हालेर अधिकांश रकम ब्रोकरबाट सापटी लिइ धितोपत्र खरिद गरिन्छ ।

हाल ब्रोकर कम्पनीले ७० प्रतिशत रकम सापटी दिने गरेका छन् । लगानीकर्ताले जति रकमको सेयर खरिद गर्ने हो त्यसको ३० प्रतिशत आफूले लगानी गर्ने र बाँकी ७० प्रतिशत ब्रोकर कम्पनीबाट सापटी लिएर सेयर खरिद गर्न सकिन्छ।

नासा सेक्युरिटिजका प्रवन्ध सञ्चालक मदन पौडेलले करिब सवा अर्ब रुपैयाँ मार्जिन लेन्डिङ गइसकेको जानकारी दिए । ‘यो कारोबार बढिरहेको छ, ब्रोकरबाट सिधै ऋण लिँदा प्रक्रिया छिटो छरितो हुन्छ, शुल्क र ब्याज पनि महँगो छैन’ उनले भने । ब्रोकरले मार्जिन कारोबार सेवा थालेसँगै लगानीकर्तालाई नै सहज भएको उनले बताए।

बैंकमा ऋण लिँदा आफूसँग पहिले नै भएको सेयर धितोस्वरुप राख्नुपर्छ । त्यसरी धितो राखेको सेयर बेच्नका लागि ऋण नै चुक्ता गरेर धितो फुकुवा गरेको हुनुपर्छ । तर मार्जिन कारोबारमा भने धितो राखिरहनु पर्दैन, लगानीकर्ताले चाहेको बेला सो सेयर बिक्री गर्न सक्नेछन्।

बजार बढ्दै जाँदा मार्जिन लेन्डिङ ठूलो मात्रामा प्रवाह हुने पौडेलले बताए । मार्जिन लेन्डिङपछि ब्रोकर कम्पनीमा उधारोको समस्या पनि केही हदसम्म समाधान हुने ब्रोकर कम्पनीहरूको विश्वास छ । मार्जिन लेन्डिङको अवधि १ वर्ष तोकिएको छ।

अझ नेपालमा इन्ट्राडे कारोबार हुने हो भने मार्जिन कारोबार बढ्ने ब्रोकर सञ्चालक बताउँछन् । एकै दिनको मूल्य उतारचढावबाट लगानीकर्ताले फाइदा लिने कारोबार नै इन्ट्राडे कारोबार हो । यस्तो कारोबारमा बजार वा धितोपत्रको मूल्य घट्दा पनि नाफा लिन सक्ने अवसर हुन्छ ।

मार्जिन कारोबारका लागि ब्रोकर कम्पनीमा छुट्टै खाता खोल्नुपर्छ । छुट्टै खाता खोलिसकेपछि ब्रोकर कम्पनीले लगानीकर्ताको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)मा मार्जिन रकमबाटै कारोबार गर्न मिल्ने व्यवस्था गरिदिन्छन् । टीएमएसबाट अर्डर पोस्ट गर्ने बेलामा मार्जिन कारोबार गर्नेले ‘एमएसटी’ अप्सन छनोट गरी खरिद आदेश दिन सक्नेछन्।

फाइल तस्वीरः ब्रोकर कार्यालयमा लगानीकर्ता ।

यस्तो सेवा लिनका लागि ग्राहकले पहिले ब्रोकर कम्पनीमा गएर सम्झौताको फारम भर्नुपर्ने सनी सेक्युरिटिजका अध्यक्ष सन्तोष पौडेलले बताए । ‘सम्झौताको फारम भरेर प्रक्रिया पूरा गरेपछि तुरुन्तै यस्तो सुविधा लिन सकिनेछ’ उनले भने।

यो सेवा लिइसकेपछि सेयर मूल्य धेरै घटेमा कम्पनीले मार्जिन कल गर्न सक्नेछ । मार्जिन कारोबार निर्देशिकाअनुसार ग्राहकको जोखिम मूल्यांकन, बजार अवस्था तथा सूचीकृत संगठित संस्थाको सेयरमा निहित जोखिम दृष्टिगत गरी धितोपत्र दलाल व्यवसायीले मार्जिन माग गर्न सक्नेछ।

मार्जिन कारोबार सुविधा अवधिभरि बजार अवस्था तथा जोखिम हेरी लगानीकर्तासँग ब्रोकरले न्यूनतम २० प्रतिशतले हुन आउने रकम सम्भार (मेन्टेनेन्स) मार्जिन कायम राख्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।

ब्रोकरले मार्जिन लेन्डिङको ब्याजदर हाल ७ देखि १० प्रतिशतको बीचमा लिइरहेका छन्

त्यस्तो अवस्थामा लगानीकर्ताले रकम थप गर्न नसकेमा सेयर बेचेर आफ्नो रकम असुल गर्ने अधिकार ब्रोकर कम्पनीलाई रहनेछ ।

कुल १० लाख रुपैयाँमा ३ लाख लगानीकर्ताले र ७ लाख ब्रोकरको सापटीबाट सेयर खरिद भएको छ । पछि त्यो सेयरको मूल्य घटेर ८ लाखमा झर्‍यो भने लगानीकर्ताको आफ्नो रकम १ लाख मात्रै बाँकी रहन्छ । तर ८ लाखको २० प्रतिशत १.६० लाख कायम भइरहनुपर्छ, तसर्थ ६० हजार अपुग हुने भएकाले यो रकम लगानीकर्ताले थप गर्नुपर्छ।

धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर वा आफ्नो सेयरधनी वा सञ्चालकसँग असुरक्षित ऋण लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने छन् । ब्रोकर कम्पनीले आफ्नो नेटवर्थको ४.५ गुणासम्म यस्तो ऋण लिन पाउने व्यवस्था छ । एक व्यक्ति तथा एकाघरलाई भने कुल मार्जिन रकमको १० प्रतिशतभन्दा बढी दिन नपाइने व्यवस्था छ।

यतिबेला बैंकको ब्याजदर असाध्यै न्यून अवस्थामा रहेकाले ब्रोकर सञ्चालकले आफ्नो रकमबाट कतिपयले बैंकको ऋणमार्फत नै लगानीकर्तालाई यो सेवा दिन थालेका छन्।

कति लाग्छ सेवा शुल्क र ब्याज ?

यस्तो कारोबारका लागि ब्रोकर कम्पनीले लिने सेवा शुल्क र ब्याज फरक फरक छ । जति रकम ब्रोकरबाट सापटी लिने हो, सोको ०.२५ प्रतिशत सेवा शुल्क अधिकांश ब्रोकर कम्पनीले लिने गरेका छन् । तर केहीले भने यस्तो शुल्क नलिइकन ब्याज मात्रै लिने गरेका पनि छन् । ‘हामीले सेवा शुल्क लिएका छैनौं, ब्याज मात्रै लिने गरेका छौँ’ नासाका प्रबन्ध संचालक पौडेलले भने ।

सेवा शुल्कबाहेक लगानीकर्ताले ब्याज पनि तिर्नुपर्छ । यस्तो ब्याजदर हाल ७ देखि १० प्रतिशतको बीचमा लिइरहेका छन् । ‘ब्रोकरले लिने सेवा शुल्क तथा ब्याज र बैंकले लिने ब्याजबीच खास अन्तर छैन’ पौडेलले भने।

त्यस्तै सनी सेक्युरिटिजले वार्षिक ७ प्रतिशतका दरले मात्रै ब्याज लिने गरेको छ। ब्रोकरले पनि बैंक तथा संस्थापकहरुबाट मार्जिन कारोबारका लागि आवश्यक रकम जोहो गर्न सक्दछन्।

यी हुन् मार्जिन कारोबारका लागि योग्य कम्पनी

ब्रोकरबाट लिएको मार्जिन कारोबारको रकमले जुनसुकै कम्पनीको सेयर खरिद गर्न पाइँदैन, नेप्सेले मार्जिन कारोबारका लागि योग्य भनेर छुट्याएका कम्पनीको मात्रै सेयर खरिद गर्न पाइन्छ ।

सूचीकरण भएको सर्वसाधारण सेयर संख्या कम्तीमा २५ लाख कित्ता भएको, नेटवर्थ चुक्ता पूँजी बराबर वा सोभन्दा धेरै भएको, पछिल्लो ३ वर्षमा २ वर्ष नाफा गरेको, सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिकामा उल्लेख छ । सो व्यवस्थाअनुसार नेप्सेले कारोबारका लागि योग्य कम्पनी छनोट गर्दछ । तिनै कम्पनीको धितोपत्र मार्जिन कारोबारको रकमको खरिदका लागि योग्य हुन्छन् ।

हाल यस्तो योग्य कम्पनीमा सूचीकृत सबै १९ वाणिज्य बैंक, ११ वटा विकास बैंक, ११ फाइनान्स, २८ हाइड्रोपावर कम्पनी, १२ जीवन बीमा, ११ निर्जीवन बीमा तथा १७ लघुवित्त संस्थाछन् । ६ लगानी कम्पनी, ३ होटल तथा पर्यटन क्षेत्रका कम्पनी, २ उत्पादन तथा प्रशोधन, १ व्यापार समूह तथा २ अन्य समूहका कम्पनी छन् ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?