७ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने बहस ११ औं महाधिवेशनबाट अस्वीकृत भइसकेको यसलाई थप बहसको विषय बनाउन नहुने धारणा राखेका छन् । बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने बहस पार्टीका विभिन्न तहका बैठक र ११औँ महाधिवेशनबाट अस्वीकृत भइसकेको विषय हो,’ उनले भने, ‘त्यसलाई निरन्तर सार्वजनिक बहसको विषय बनाइरहन हुँदैन ।’
उनले पार्टीलाई अन्त्यहीन बहसको ‘डिबेट क्लब’ बनाउन नहुने पनि बताए । महाधिवेशनका निर्णय तथा पार्टी विधि सबैका लागि बाध्यकारी हुनुपर्ने उनको भनाइ छ ।
उनले नेतृत्व परिवर्तनलाई मात्रै समाधानका रूपमा प्रस्तुत गर्न नहुने पनि टिप्पणी गरे । ‘दुई कार्यकाल र ७० वर्षे उमेरहदलाई पनि कुनै रामबाण उपचार का रूपमा लिन हुन्न,’ उनले भने ।
नेतृत्व निर्माण, पुस्तान्तरण र जिम्मेवारी हस्तान्तरणको विषय राजनीतिक प्रतिवेदनमा स्पष्ट रूपमा आएको थापाले टिप्पणी गरे ।
पार्टीभित्रको गुटगत ध्रुवीकरण लुम्बिनी प्रदेशको पहिलो अधिवेशनदेखि तीव्र बनेको पनि उनले टिप्पणी गरे ।
भदौ २३ र २४ गतेका घटनाबारे एमालेले साझा दृष्टिकोण बनाउनुपर्ने आवश्यकता औंल्याउँदै थापाले उपलब्ध तथ्य, प्रमाण, विभिन्न आयोगका प्रतिवेदन, ग्रेजोनको खुलासा तथा मानवअधिकारसम्बन्धी अध्ययनको विश्लेषण गरी सत्यतथ्य अभिलेखीकरणका लागि निष्पक्ष नागरिक छानबिनको पहल गर्नुपर्ने धारणा राखे ।
उनले निर्वाचनको मुखमा भएको महाधिवेशनमा प्यानल बनाएर नेतृत्व चयन गर्दाको मूल्य निर्वाचनमा चुकाएको उनको धारणा छ । ‘त्यसमा सबैले आ–आफैलाई हेरौं अध्यक्षमाथि मात्र दोष थोपरेर पानीमाथिको ओभानो नबनौं। सदस्यता नवीकरण रोक्न, अध्यक्षको अनुहार लिएर जनतामा जान सकिँदैन भन्नेजस्ता भाष्य बनाएर पार्टीविरोधीहरूका योजनाबद्ध दिग्भ्रमको पछि लाग्ने प्रवृत्तिको पार्टीपंङ्तिले अन्त्य चाहेको छ’ केन्द्रीय सदस्य थापाले भने ।
उनले अध्यक्षमाथि बालेन सरकारले गरेको दुर्व्यवहार व्यक्तिगत नभएको उल्लेख गर्दै त्यो पार्टी नेतृत्वमाथिको देशीविदेशी षड्यन्त्रको विरूप कडी भएको बताए । ‘त्यसलाई एउटै र सही दृष्टिकोणमा नबुझ्नु कमजोरी भयो। अहिले अध्यक्ष कमरेड एक कदम अगाडि र उपाध्यक्ष तथा महासचिव दुई कदम पछाडि हटेर गरिएको रियलाइजेनले नयाँ विश्वास जागृत गरेको छ’ उनले भने ।
प्रतिक्रिया 4