News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्ण दृष्टिविहीन इजरायली नागरिक ७१ वर्षीया मार्गालिट शाचारले बुधबार नेपाल पर्यटन बोर्डमा अन्नपूर्ण पदयात्रा अनुभव सुनाउँदै नेपाल प्रकृति थेरापीका लागि उत्कृष्ट गन्तव्य भएको बताइन् ।
- शाचारले गत वर्ष ७०औं जन्मदिन अन्नपूर्ण सर्किट पदयात्रा गर्दै मनाएकी र यस पटक अन्नपूर्ण आधार शिविर पदयात्रा गरेको बताइन् ।
- उनले आगामी वर्ष छोरीको ५०औं वर्षगाँठ मनाउन नेपाल आएर लाङटाङ पदयात्रा गर्ने योजना रहेको पनि सुनाइन् ।
- नेपालस्थित इजरायली दूतावासकी चार्ज डे अफेयर्स जनान मिशलेब–बेबारले शाचारको यात्राले दृष्टिविहीन र अन्य अपाङ्गता भएका व्यक्तिलाई साहसका साथ यात्रा गर्न प्रेरणा दिने बताइन् ।
७ असोज, काठमाडौं । इजरायली नागरिक ७१ वर्षीया मार्गालिट शाचार पूर्ण दृष्टिविहीन हुन् । उनले नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित संवाद कार्यक्रममा अन्नपूर्ण पदयात्रा अनुभव सुनाउँदै नेपालको प्रकृति थेरापीका लागि उत्कृष्ट गन्तव्य भएको बताइन् ।
बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले समन्वय गरेको संवाद कार्यक्रममा आफ्नो पदयात्रा अनुभव सुनाउँदै शाचारले भनिन्, ‘नेपालमा पदयात्रा गर्नु मेरा लागि साहसिक यात्रामात्र होइन, यो मेरा लागि हिलिङ एरिया बन्यो ।’
इजरायली सेना र गाजा क्षेत्रमा ‘मनोवैज्ञानिक थेरापिस्ट’ का रूपमा लामो समय काम गरेकी शाचारले आफ्नो ७०औं जन्मदिन गत वर्ष अन्नपूर्ण सर्किटको पदयात्रा गर्दै मनाएकी थिइन् । ७०औं जन्मदिन नेपालमै पदयात्रा गरेर मनाउन पाउँदा आफू निकै खुसी भएको बताउँदै शाचारले प्रत्येक जन्मदिनलाई जीवनको नयाँ अनुभवसँग जोड्ने गरेको बताइन् ।
‘७० वर्ष विशेष उमेर हो, जन्मदिन मनाउन ट्रेकिङ गर्नु मेरा लागि उत्सव जस्तै हो,’ उनले थपिन्, ‘गत वर्ष अन्नपूर्ण सर्किट पूरा गरेको र यस पटक अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रा गरेँ, पदयात्रा कतिपय अवस्थामा जोखिमपूर्ण पनि थियो, तर मलाई यो यात्रा निकै आनन्दपूर्ण लाग्यो ।’
शाचारले नेपालमा पदयात्रा गर्दा आफूलाई निकै सहज र सकारात्मक महसुस भएको उल्लेख गर्दै उनले भनिन्, ‘नेपालमा ट्रेकिङ गर्नु मेरा लागि राम्रो थेरापीजस्तो भयो, यसले मलाई हलुका महसुस गरायो ।’
दृष्टिविहीन भए पनि पदयात्रा क्रममा आफूले प्रकृतिलाई फरक ढंगले अनुभव गरेको उनले बताइन् । ‘नदीको कलकल, बाँसको सुगन्ध, हावाको स्पर्श तथा प्रकृतिका ध्वनिले मलाई निकै आनन्दित बनायो, मैले अन्नपूर्ण पदयात्रा यति कठिन होला भनेर सोचेकी थिइनँ,’ उनले भनिन्, ‘तर, आफूलाई विश्वस्त बनाएर बिस्तारै, एक–एक पाइला अघि बढाएँ, म देख्दिनँ, त्यसैले बाटो अप्ठ्यारो होला भन्ने पूर्वानुमान मलाई हुँदैन र समय बितेको पनि त्यति महसुस हुँदैन, यसले मेरो यात्रालाई सहज बनायो ।’
आगामी वर्ष आफ्नो छोरीको ५०औं वर्षगाँठ मनाउन नेपाल आउने र लाङटाङ पदयात्रा गर्ने योजना समेत उनले सुनाइन् । नेपाल र नेपालीप्रति पनि सम्मान र प्रशंसा व्यक्त गर्दै उनले भनिन्, ‘नेपालीहरूको सहयोगी र आत्मीय व्यवहारले मलाई यात्रा क्रममा रानीजस्तो अनुभूति भयो ।’
नेपाली संस्कृति, खाना र स्थानीय अतिथिगृहको अनुभव निकै राम्रो रहेको उनले उल्लेख गरिन् ।
‘आफ्नो जीवन आफूले सक्ने गरी पूर्ण रूपमा बाँच्नुपर्छ,’ उनले भनिन् । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिलाई नेपाल भ्रमण र पदयात्राका लागि प्रेरित गर्दै उनले नेपाल सुन्दर गन्तव्य भएको र यहाँको प्रकृतिले सकारात्मक ऊर्जा प्रदान गर्ने अनुभव सुनाइन् ।
कार्यक्रममा नेपालस्थित इजरायली दूतावासका चार्ज डे अफेयर्स जनान मिशलेब–बेबारले शाचारको अनुभव आफूहरूका लागि पनि प्रेरणादायी भएको उल्लेख गरिन् ।
‘प्रकृति आँखाले मात्र देखिने होइन, महसुस पनि गर्न सकिन्छ भन्ने सन्देश उहाँको यात्राले दिएको छ,’ उनले भनिन् । उनले शाचारको यात्राले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिलाई पनि साहसका साथ यात्रा गर्न प्रेरणा दिने बताइन् ।
कार्यक्रममा नेपाल नेत्रहीन संघका समावेशी सल्लाहकार खोमराज शर्माले शाचारको यात्रा अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणा बनेको बताए ।
सन् २००३ देखि ट्रेकिङ गाइडका रूपमा कार्यरत शिवप्रसाद अधिकारीले दृष्टिविहीन पर्यटकलाई पदयात्रा गराउनु चुनौतीपूर्ण भए पनि उचित तालिम, आपसी समझदारी र सहयोगबाट सम्भव हुने बताए ।
प्रतिक्रिया 4