संयुक्त राष्ट्रसंघको जारी महासभामा अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले बेलायतको स्वशासित विदेशी भूभाग फकल्यान्ड टापुबारे धारणा राखेका छन् ।
अर्जेन्टिनाले उक्त टापुलाई ‘लास माल्भिनास’ भन्ने गर्छ । राष्ट्रपति मिलेईले बेलायतले फकल्यान्ड टापुमा अवैध कब्जा गरेर तेल उत्खनन गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।
‘आज ‘सी लायन प्रोजेक्ट’ बेलायती अनुमतिपत्रअन्तर्गत उत्तरी माल्भिनास बेसिनमा रहेको अर्जेन्टिनाको महाद्वीपीय तटमा तेल उत्खननतर्फ अघि बढिरहेको छ,’ उनले भने, ‘अर्जेन्टिनाले यी अनुमतिपत्रलाई गैरकानुनी र अवैध मान्दै आएको छ ।’
उनले यस विषयमा अर्जेन्टिनाबाट अनुमति नलिइएको बताउँदै कुनै पनि गतिविधि अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको समुद्री कानुनसम्बन्धी महासन्धि तथा अर्जेन्टिनाको घरेलु कानुनअनुसार गैरकानुनी कार्य रहेको बताए ।
‘हामीले शान्तिपूर्ण, व्यावहारिक र प्रभावकारी ढंगबाट आफ्नो अधिकारको रक्षा गर्ने बाटो रोजेका छौँ,’ उनले भने ।
अर्जेन्टिनाका राष्ट्रपतिले टापुमा बसोबास गर्ने जनसंख्याका सम्बन्धमा आफ्नो देशको धारणा पुन: स्पष्ट गर्न चाहेको पनि बताए ।
उनले फकल्यान्ड टापुमा ‘आत्मनिर्णयको सिद्धान्त’ पनि लागु नहुने बताए । ‘किनकि त्यहाँको जनसंख्या विवादित सार्वभौमसत्ता रहेको भूभागमा कब्जा गर्ने शक्तिले बसाएको जनसंख्या हो,’ उनले भने ।
प्रतिक्रिया 4