८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले फोहोरमैलामा हुने राजनीति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘फोहोरमैलामा हुने राजनीतिको अन्त्य हुनुपर्दछ । यो कुरा सबैको कुरा हो’, उनले भने । तर, कस्तो राजनीति भइराखेको छ भनेर थप व्याख्या गरेनन् ।
काठमाडौं उपत्यकाको फोहोर सिसडोल, बन्चरेडाँडामा फाल्ने गरिएको उल्लेख गरे । अगाडि भने, ‘त्यहाँका नागरिकको पनि त स्वास्थ्य होला नि ! हामीले यसलाइ हेरेका छैनौं ।’
संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वस्थ वातावरणको हक प्रदान गरेको, तर सिसडोल, बन्चरेडाँडाका नागरिकले फोहोरबाट रोग लाग्दा उपचार समेत पाउन नसकेको बताए ।
संघीय सरकारले फोहोरबाट आम्दानी गर्ने उद्देश्य राखेर विधेयक ल्याएको छ । विधेयकको समर्थन गर्दै सांसद न्यौपानेले सरकारले फोहोरको सही व्यवस्थापन गर्न सक्नुपर्ने बताए ।
यसका निम्ति संघीय सरकारमा छुट्टै मन्त्रालय बनाएर जानुपर्ने उनको प्रस्ताव छ ।
‘पूर्वाधार मन्त्रालयले विकास निर्माण हेर्ने कि फोहोरमैला हेर्ने ?’ उनले भने, ‘त्यसैले वातावरण प्रदूषण रोकथाम तथा फोहोरमैला व्यवस्थापन मन्त्रालय नयाँ भयो र यसले यो हेर्यो भने मानव जीवन बच्छ भन्ने मलाई लाग्छ ।’
प्रतिक्रिया 4