+
+
Shares

काठमाडौं–३ मा कांग्रेस युवाको जोड : सर्वसम्मत होइन, चुनावबाट नेतृत्व चयन गरौं

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं–३ का युवाले नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनमा सर्वसम्मत होइन, निर्वाचनबाट नेतृत्व र प्रतिनिधि चयन गर्नुपर्ने माग गरेका छन्।
  • युवा नेता शिव श्रेष्ठले सहमतिका नाममा सम्भावना बोकेका युवालाई रोक्न नहुने भन्दै सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताए।
  • कृष्ण शाह, प्रशान्त खड्का र मुरारी गौतमले सर्वसम्मतिले नातावाद, कृपावाद र नेताका निकटलाई मात्र अवसर दिने जोखिम रहेको भन्दै चुनावी प्रतिस्पर्धा अनिवार्य ठानेका छन्।

९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनको तयारी भइरहँदा काठमाडौं–३ का युवाले सर्वसम्मत नेतृत्व चयनको प्रयासप्रति असन्तुष्टि जनाएका छन् ।

काठमाडौं–३ का विभिन्न तहमा सक्रिय युवा नेताहरूले उम्मेदवारी घोषणा तथा तयारी अघि बढाउँदै चुनावी प्रतिस्पर्धाबाट क्षेत्रीय कार्यसमितिको नेतृत्व र महाधिवेशन प्रतिनिधिहरू चयन हुनुपर्ने माग गरेका छन् ।

सहमतिका नाममा सम्भावना बोकेका युवालाई नेतृत्वको प्रतिस्पर्धाबाट रोक्न नहुने उनीहरूको भनाइ छ । उम्मेदवारी दिने, चुनावमा प्रतिस्पर्धा गर्ने र हार–जित स्वीकार गर्ने अभ्यासबाटै नयाँ नेतृत्व उत्पादन हुने युवाहरूको तर्क छ ।

२९ वर्षीय युवा शिव श्रेष्ठले आफू चुनावबाट निर्वाचित भएर नेतृत्वमा आउन चाहेको बताए । उनले सहमतिको नाममा कसैलाई पाखा लगाएर राजनीतिक वृत्ति विकास रोक्न नहुने भन्दै सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताए ।

‘उम्मेदवारी दिएर परीक्षणमा जानु नै भोलिका लागि नेता उत्पादन गर्नु हो,’ श्रेष्ठले भने, ‘यस्तो बेलामा बदलिएको कांग्रेसले सहमतिको नाममा पोटेन्सियल युवालाई रोक्नु राम्रो होइन ।’

अधिवेशनमा सबैले उम्मेदवारी दिन पाउने र चुनावमा हार–जितलाई स्वाभाविक रूपमा स्वीकार गर्ने वातावरण बन्नुपर्नेमा उनको जोड छ । १५ वर्षदेखि कांग्रेसमा सक्रिय रहेको उल्लेख गर्दै श्रेष्ठले सहमतिको नाममा आफूजस्ता आकांक्षीको राजनीतिक विकास रोक्न नहुने पनि बताए ।

काठमाडौं–३ का अर्का युवा नेता कृष्ण शाह (३६) ले पनि सर्वसम्मत नेतृत्व चयनको अभ्यासले नातावाद र कृपावादलाई प्रश्रय दिन सक्ने बताए । चाकडी र चाप्लुसीका आधारमा नेतृत्वमा पुग्नेभन्दा पार्टीमा लामो समय योगदान गरेका र संगठनमा सक्रिय व्यक्तिलाई चुनावी प्रक्रियाबाट परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।

‘सर्वसम्मतको नाममा कहीँ नातावाद हाबी हुने भयो, कहीँ कृपावाद हाबी हुने भयो । जो चाकडी–चाप्लुसीमा सक्षम भयो, ऊ मात्र हाबी देखियो,’ नेता शाहले भने । कांग्रेसका लागि लामो समयदेखि सक्रिय रहेकालाई सहमतिको नाममा पाखा लगाउने प्रवृत्ति उचित नभएको उनको भनाइ छ ।

‘लोकतन्त्र भनेकै निर्वाचन हो । आफ्नो क्षमता र योग्यता कति छ भन्ने मापन गर्ने यन्त्र पनि निर्वाचन हो,’ महाधिवेशन प्रतिनिधिका आकांक्षी शाहले भने, ‘त्यसैले निर्वाचन अनिवार्य ठान्छु ।’

शाहले सर्वसम्मत नेतृत्व चयन हुँदा मतभेद नहुने भन्ने तर्कसमेत स्वीकार्य नभएको बताए । ‘निर्वाचनमा गएर १० भोट, १५ भोट जति आउँछ, त्यो स्वीकार्न सकिन्छ,’ उनले भने, ‘तर, सर्वसम्मतिको नाममा आफूभन्दा अयोग्य व्यक्तिहरू, जो चाकडीमा मात्र योग्य छन्, उनीहरू अघि बढ्दा झन् धेरै मनमुटाव हुन्छ ।’

कांग्रेस कागेश्वरी मनोहरा नगरपालिकाका नेविसंघ सभापति तथा ३५ वर्षमुनिको केन्द्रीय महाधिवेशन प्रतिनिधिका आकांक्षी प्रशान्त खड्का (२५) ले युवालाई अब भीड देखाउने भूमिकामा मात्र सीमित राख्न नहुने बताए ।

‘युवा अब केवल मास देखाउनका लागि होइन, नेतृत्वमा पुग्नुपर्छ,’ खड्काले भने, ‘अहिले हामी युवालाई पार्टीले अवसर दिएको छ । यो अवसरलाई निर्वाचनका माध्यमबाट हामीलाई सदुपयोग गर्न दिनुपर्छ ।’

सर्वसम्मत नेतृत्व चयन गर्दा नेता निकट व्यक्तिले अवसर पाउने जोखिम रहेको उनको भनाइ छ । ‘सर्वसम्मत नेतृत्व चयन गर्दा नेताहरूको आँखामा परेका, नेताहरूको घरमा आउने–जाने व्यक्तिहरू मात्रै पर्छन्,’ उनले भने, ‘निर्वाचन हुँदा मैदानमा काम गरेका, योगदान दिएका व्यक्तिहरू चुनिन्छन् ।’

चुनावी प्रतिष्पर्धाबाट आफूभन्दा सक्षम व्यक्ति निर्वाचित भए  स्वीकार गर्दै आगामी महाधिवेशनका लागि थप मेहनत गर्ने उनले बताए।

काठमाडौं–३ का अर्का युवा नेता मुरारी गौतम (३१) ले पनि क्षेत्रीय नेतृत्वदेखि महाधिवेशन प्रतिनिधि चयनसम्म निर्वाचन प्रक्रियाबाटै अघि बढ्नुपर्ने बताए । स्ववियु सभापति भएर नेविसंघमा लामो समय काम गरेको उल्लेख गर्दै उनले आफू महाधिवेशन प्रतिनिधिको आकांक्षी रहेको बताए ।

‘अब हामी हेरेर बस्ने होइन, आफैँ नेतृत्व चयनमा अगाडि बढ्छौँ भनेर अघि बढेका छौं,’ गौतमले भने । सर्वसम्मतका नाममा केही व्यक्तिले बन्द कोठामा छलफल गरेर चुनावी प्रक्रियाको बाटो रोक्न खोजेको आफूहरूले सुनेको भन्दै उनले त्यसलाई स्वीकार गर्न नसकिने बताए ।

‘निर्वाचन प्रक्रियामा सबैले आकांक्षा राख्न पाउँछन् । हामी निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुनुपर्छ भन्ने चाहन्छौं,’ गौतमले भने, ‘सर्वसम्मत हुनुहुँदैन, निर्वाचन प्रक्रियाबाटै हुनुपर्छ ।’

नेताको निकटताका आधारमा प्रतिनिधि तथा नेतृत्व चयन गर्ने अभ्यासले पार्टीमा नयाँ पुस्ता अवसरबाट बञ्चित हुने उनले बताए । ‘सर्वसम्मतका नाममा ढोका थुनेर नेताका गोजीका मान्छे ल्याउन खोजिएको छ । यो स्वीकार्य हुँदैन,’ गौतमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?