+
+
Shares

वर्षाले काठमाडौंमा तरकारी आपूर्ति ८५ प्रतिशत घट्यो, आकाशियो भाउ

लगातारको वर्षाका कारण देशका मुख्य तथा ग्रामीण राजमार्गहरूमा गएको पहिरोले यातायात आवागमन पूर्णरूपमा प्रभावित हुँदा यसको प्रत्यक्ष असर संघीय राजधानी काठमाडौंको भान्सामा परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातारको वर्षाका कारण पहिरोले पृथ्वी राजमार्गको धादिङ खण्डमा ७ ठाउँमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
  • बीपी राजमार्ग र कान्तिलोकपथ बन्द छन् भने त्रिभुवन राजपथ अत्यावश्यक सामग्रीका लागि एकतर्फी सञ्चालनमा छ ।
  • बाटो अवरुद्ध हुँदा कालीमाटी बजारमा तरकारी तथा फलफूल आपूर्ति ८५ प्रतिशतभन्दा बढी घटेर ९७ हजार ६ सय ५१ किलोमा सीमित भएको छ ।
  • आपूर्ति घटेसँगै हरियो धनियाँ प्रतिकिलो ४ सय ५० रुपैयाँ पुगेको छ भने हरियो प्याज, काउली र हरियो खुर्सानीको मूल्य पनि बढेको छ ।

९ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशभरि निरन्तर पानी परिरहेको छ ।

लगातारको वर्षाका कारण देशका मुख्य तथा ग्रामीण राजमार्गहरूमा गएको पहिरोले यातायात आवागमन पूर्णरूपमा प्रभावित हुँदा यसको प्रत्यक्ष असर संघीय राजधानी काठमाडौंको भान्सामा परेको छ ।

पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ । कतिपयप ठाउँमा पहिरो पन्छाइसकिएको र कतिपय ठाउँमा पन्छाउने काम जारी छ ।

बीपी राजमार्ग र कान्तिलोकपथ बन्द छन् । यी राजमार्गहरूमा ठाउँठाउँमा पहिरो खसेका कारण बिहानैदेखि सवारीसाधनहरू आवतजावत गर्न सकेका छैनन् ।

काठमाडौंको लाइफलाइन मानिने त्रिभुवन राजपथ (हेटौँडा–नौबिसे–काठमाडौं) सडक एकतर्फी मात्रै सञ्चालनमा छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अत्यावश्यक सामग्री काठमाडौं ल्याउनका लागि त्रिभुवन राजपथ एकतर्फी खुला राखिएको छ ।

बाटो अवरुद्ध हुँदा उपत्यकामा तरकारी तथा फलफूलको आपूर्तिमा भारी गिरावट आएको छ भने बजारमा तरकारीको थोक मूल्यमै अचाक्ली वृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार हिजो बिहीबार तरकारी, फलफूल, माछा लगायत कुल ६ लाख ५७ हजार ३ सय ८ किलो कृषि उपज भित्रिएकोमा आज शुक्रबार आपूर्तिमा ८५ प्रतिशतभन्दा बढीको गिरावट आइ जम्मा ९७ हजार ६ सय ५१ किलो मात्र भित्रिएको छ ।

आपूर्तिमा आएको यो संकुचनसँगै बजारमा ३६ वटा विभिन्न तरकारी तथा मसलाजन्य उपजको थोक मूल्यमा हिजोको तुलनामा आज भारी वृद्धि भएको छ । फलफूलको मूल्य भने तुलनात्मक रूपमा स्थिर देखिएको छ ।

बाटो अवरुद्ध हुँदा सबैभन्दा ठूलो मार हरियो सागपात र धनियाँमा परेको छ । हिजो बिहीबार प्रतिकिलो औसत १ सय २५ रुपैयाँमा बिक्री भएको हरियो धनियाँको थोक मूल्य आज एकैदिन ३ सय २५ रुपैयाँले बढेर ४ सय ५० रुपैयाँ पुगेको छ ।

त्यसैगरी हरियो प्याज १ सय ७५ रुपैयाँबाट बढेर २ सय ७५ रुपैयाँ, जिरीको साग १ सय रुपैयाँबाट १ सय ७५ रुपैयाँ र सेलरी ३०० रुपैयाँबाट बढेर ३ सय ५० रुपैयाँ कायम भएको छ ।

नेपाली भान्सामा नियमित प्रयोग हुने रायोको साग ८० रुपैयाँबाट बढेर १ सय १० रुपैयाँ, पालुङ्गो साग १ सय रुपैयाँबाट १ सय १० रुपैयाँ, तोरीको साग ६५ रुपैयाँबाट १ सय १० रुपैयाँ र सौफको साग १ सय रुपैयाँबाट बढेर १ सय १० रुपैयाँ पुगेको छ ।

दैनिक उपभोग्य प्रमुख तरकारीहरू गोलभेँडा, काउली र बन्दाको भाउ पनि उकालो लागेको छ । बिहीबार ७५ रुपैयाँमा किनबेच भएको ठूलो नेपाली गोलभेँडा र ८५ रुपैयाँ पर्ने ठूलो भारतीय गोलभेँडा दुवैको मूल्य आज प्रतिकिलो ९५ रुपैयाँ कायम छ ।

सानो लोकल गोलभेँडा ५५ रुपैयाँबाट ६३ रुपैयाँ र टनेलको सानो गोलभेँडा ६८ रुपैयाँबाट बढेर ७५ रुपैयाँ ६३ पैसा पुगेको छ ।

यसैगरी स्थानीय काउली हिजोको ९७ रुपैयाँबाट बढेर १ सय २८ रुपैयाँ पुगेको छ भने लोकल बन्दा ४५ रुपैयाँबाट ६० रुपैयाँ र रातो बन्दा ४५ रुपैयाँबाट ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै हाइब्रीड सेतो मूला ४५ रुपैयाँबाट ५५ रुपैयाँ र गान्टे मूला १ सय रुपैयाँबाट बढेर १ सय १० रुपैयाँ पुगेको छ ।

हिजो १ सय १५ रुपैयाँ प्रतिकिलो रहेको हरियो भटमास आज १ सय ९० रुपैयाँ पुगेको छ । तितो करेला ६४ रुपैयाँबाट बढेर ७५ रुपैयाँ, लौका ५४ रुपैयाँबाट ६५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँबाट ४५ रुपैयाँ पुगेको छ । यसैगरी डल्लो हरियो फर्सी ३५ रुपैयाँबाट बढेर ५५ रुपैयाँमा किनबेच हुँदा लाम्चो भन्टा ३५ रुपैयाँबाट ४५ रुपैयाँ र डल्लो भन्टा ४५ रुपैयाँबाट ५५ रुपैयाँ कायम छ ।

मसलाजन्य उपजहरूमा हरियो खुर्सानीको मूल्यले आकाश छोएको छ । हिजो बिहीबार ९५ रुपैयाँ प्रतिकिलो रहेको लामो हरियो खुर्सानी आज २ सय ११ रुपैयाँ पुगेको छ भने माछे खुर्सानी ७५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, अकबरे खुर्सानी ९८ रुपैयाँबाट १ सय २५ रुपैयाँ र भेंडे खुर्सानी ७५ रुपैयाँबाट ९५ रुपैयाँ पुगेको छ ।

तरकारीको मूल्यमा सर्वत्र उछाल आउँदा स्याउ, केरा, अनार, मौसम, जुनारलगायतका प्रमुख फलफूलहरूको मूल्य भने हिजोकै दरमा स्थिर रहेको समितिले जनाएको छ । यातायात सुचारु नहुँदासम्म खुद्रा बजारमा पुग्दा उपभोक्ताले यी तरकारीहरूमा अझ बढी मूल्य तिरेर खरिद गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?