+

हामीले शतप्रतिशत दिएका छौं, पदक जित्ने सम्भावना राम्रो छ : दीपेन्द्र

२०८३ असोज  ९ गते १४:२९ २०८३ असोज ९ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराउँदै १०३ रनको लक्ष्य १७.२ ओभरमा पूरा गरेको छ।
  • कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल पदक जित्ने लक्ष्यसहित अघि बढिरहेको र टोलीले १०० प्रतिशत दिएको बताएका छन्।
  • कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिएपछि नेपालले अफगानिस्तानलाई २० ओभरमा १०२ रनमा रोकेको छ।

९ असोज, काठमाडौं । २०औं एसियन गेम्स अन्तर्गत क्रिकेटको पहिलो खेलमा अफगानिस्तानलाई हराएपछि नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टोली पदक जित्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् ।

अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका लागि सन्दीप जोराले ३४, रोहित पौडेलले अविजित ३३ तथा दीपेन्द्रले १५ रन बनाए ।

खेलपछि दीपेन्द्रले टसले खेलको दिशा तय नगर्ने भन्दै नेपालले सुरुदेखि नै विपक्षीलाई दबाबमा राखेको बताए ।

‘टस हाम्रो हातमा हुँदैन। हामीले पनि ब्याटिङ नै गर्ने सोचेका थियौं, तर उनीहरूले ब्याटिङ रोजे । हामीले बलिङ निकै राम्रो गर्यौं’ उनले भने ।

नेपालले अफगानिस्तानलाई २० ओभरमा ७ विकेटमा १०२ रनमा रोक्दा कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिएका थिए । दीपेन्द्रले स्पीनरहरूको प्रदर्शन निर्णायक बनेको बताए ।

‘स्पिनरहरूले राम्रो गर्छन् भन्ने सोचेका थियौं । ललित र कुशलले उत्कृष्ट बलिङ गरे । कम स्कोरमा रोक्न सक्यौं, त्यसैले लक्ष्य पछ्याउन सजिलो भयो’ उनले भने ।

दीपेन्द्रले आफ्नो ब्याटिङबारे बोल्दै परिस्थिति अनुसार जोखिम कम लिएको बताए । ‘म टिकें भने खेल जिताउन सजिलो हुन्छ भन्ने सोच थियो । त्यसैले धेरै रिस्क लिइनँ’ उनले भने ।

समूह चरणको अन्तिम खेल शनिबार जापानसँग हुँदैछ । जिते नेपाल समूह विजेता बन्नेछ भने क्वाटरफाइनलमा श्रीलंकासँग भेट हुनेछ ।

‘भोलिको खेल पनि उत्तिकै महत्त्वपूर्ण छ । पिचमा टर्न र बाउन्स दुवै छ, त्यही अनुसार तयारी गर्छौं’ दीपेन्द्रले भने ।

उनले पदक सम्भावनाबारे पनि आत्मविश्वास व्यक्त गरे । ‘टिम निकै बुस्टेड छ, अनुभव पनि छ । मेडल ल्याउन हाम्रो तर्फबाट १०० प्रतिशत दिएका छौं’ उनले भने ।

उता, ४ विकेट लिएका कुशल भुर्तेलले ब्याटिङमा शून्यमै आउट भए पनि बलिङबाट योगदान दिन पाउँदा खुसी लागेको बताए ।

‘जहाँ जाँदा पनि नेपाली दर्शक आउनुभएको हुन्छ । चीनभन्दा यहाँ अझ धेरै माया दिनुभएको छ’ भुर्तेलले भने, ‘ब्याटबाट आज राम्रो हुन सकेन, तर बलिङमा योगदान दिन सकें, त्यसमा खुसी छु ।’

२०औं एसियन गेम्स एसियन गेम्स पुरुष क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय