News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रज्ञा–प्रतिष्ठानले बिहीबार ‘इन्द्रजात्राः शारदीय पर्व’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
- कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दरले इन्द्रजात्रा, लाखे नाच र कुमारी नाचका मिथक तथा सांस्कृतिक महत्त्वबारे प्रकाश पारे।
काठमाडौं । बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको आँगनमा फरक तामझाम देखियो । त्यहाँ लाखे र कुमारीको कथा भनिदै थियो । यसको मेसो ‘इन्द्रजात्राः शारदीय पर्व’ ले मिलाएको रहेछ ।
‘कथा डबली–१’ अन्तर्गत आयोजित सहरको कथा सुन्ने यस विशेष उत्सवमा उपस्थितहरू शताब्दीऔँ पुराना नेवारी सांस्कृतिक कथा र मिथकमा प्रवेश गरे । प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा जात्राकै वास्तविक सांगीतिक र जीवन्त दृश्य प्रस्तुत भइरहेको थियो ।
जब वज्रकला कुञ्जका कलाकारहरू मञ्चमा धाँ बाजा, भुस्याः (झ्याली) र बाँसुरीको तालमा प्रवेश गरे, तब वातावरणमा जात्राको रौनक छायो । राता रंगीन पहिरन, डरलाग्दा मुकुट लगाएका लाखेहरूको उफ्राइले दर्शक मन्त्रमुग्ध भए । कार्यक्रममा प्रस्तुत कुमारी नाचले उपस्थित दर्शकलाई उपत्यकाको जीवन्त सांस्कृतिक संसारमा प्रवेश गराएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण बने– नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दर । उनले इन्द्रजात्रा, लाखे नाच, मयजु–कुमारीका मिथक, ऐतिहासिक कथा एवं तिनका असाध्यै गहिरा सांस्कृतिक महत्त्वमाथि जीवन्त प्रकाश पारे । ‘मिथले भन्छन्—इन्द्र देवराज हुन् । तर, उनले नेपालमण्डलमा आएर निर्वाह गरेको आचरण प्रचलित सामाजिक मर्यादाको उल्लङ्घन हो । स्वर्गका अधिपति इन्द्र पनि सजायको भागी हुनुपर्दो रहेछ,’ उनले भने, ‘अनेक आयाम छन्, थुप्रै लोक आख्यान र परम्परा छन् येँयाः इन्द्रजात्राका । यो पर्व सबै धर्म, सम्प्रदाय, जात, जातिको साझा जीवन्त सभ्यता हो अनि रैथानेहरूका गौरव गाथा हो ।’
उनको ओजपूर्ण र कथात्मक शैलीमा वाचन गरिएको इन्द्रजात्राको कथाले श्रोतालाई प्राचीन नेवारी लोककथाको कालखण्डमा पुर्यायो । ‘मञ्चमा उनी बोल्दै गर्दा लाग्थ्यो, वर्षाका देवता इन्द्र र बन्दी बनाइएका उनकै कथा जीवन्त भएर डबली वरिपरि घुमिरहेका छन्,’ कार्यक्रमका श्रोता कवि स्नेह सायमी भन्दै थिए ।
कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका ‘काव्य, संस्कृति र डिजिटलाइजेसन’ विभाग प्रमुख दीपक सापकोटाले उपत्यकाका जात्रा र पर्वहरूको ऐतिहासिक तथा सामाजिक महत्त्वमाथि प्रकाश पारेका थिए । उनले हाम्रा जात्राहरू समुदाय जोड्ने बलिया सांस्कृतिक धागो भएको बताए । ‘जात्राहरू जीवनमय भएकै कारण सहरहरू जीवन्त छन् । जात्रा चलायमान छन्, मानौं—यी अद्भुत प्राणले बाँचेका छन् ।
मानव जीवनजस्तै जात्राहरूको पनि आफ्नै धुन छ’ सापकोटाले भने, ‘काठमाडौं उपत्यका भन्नु नै लोकाख्यान, जात्रा र उत्सवहरू हो । उपत्यकालाई जिउँदो राख्ने एक भव्य पक्ष हो– सानदार सांस्कृतिक वैभव अर्थात् जात्रा, नाच, भोज र सङ्गीत ।’ जात्राहरू पुरातन क्यालेन्डरमा दोहोरिइरहने पर्व मात्रै नभई प्रत्येक वर्ष नयाँ जीवन पाइरहने र स्मृतिमा पुर्याइरहने जीवन्त सम्पदा भएको सापकोटाले बताए ।
आधुनिकताको भीडमा हराउँदै गएका हाम्रा मौलिक संस्कृति र पर्वलाई कथा र कलाको माध्यमबाट पुनर्जीवित गर्न नेपालका विभिन्न सहर, गाउँमा ‘कथा डबली’ निरन्तर आयोजना गर्ने प्रज्ञा–प्रतिष्ठानको ‘काव्य, संस्कृति र डिजिटलाइजेसन’ विभागले जनाएको छ ।
प्रतिक्रिया 4