+
+
Shares

लगातारको वर्षाले बाढी प्रभावितलाई थपेको सास्ती 

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन् ।

रासस रासस
२०८३ असोज ९ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी हुँदै त्रिशूलीमा गएको बाढीबाट विस्थापित परिवार नुवाकोटका अस्थायी टेन्टमा बस्दै आएका छन् र निरन्तर वर्षाले उनीहरूको दैनिकी कष्टकर बनेको छ।
  • विदुर नगरपालिका–५, बाणाचौतारोका १४२ सहित जिल्लाका पाँच स्थानका टेन्टमा त्रिपाल ओढाउने र पानी निकास बनाउने काम नेपाल रेडक्रस सोसाइटीले गरिरहेको छ।
  • नुवाकोटमा बाढीबाट दुई हजार १०० भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित र दुई हजार ५०० भन्दा बढी परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

९ असोज, त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन् । बिहीबारदेखि सुरु भएको वर्षा शुक्रबार पनि जारी छ । खुला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको हो ।

टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आएका उत्तरगया गाउँपालिका–१ का वडाध्यक्ष मानसिंह तामाङले बताए।

उनका अनुसार खुला स्थानमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमिनमा बगेको भल टेन्टभित्र पस्दा थप समस्या भएको छ । रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न स्थानमा बसोबास गर्दै आएका ३४४ परिवारमध्ये १४२ परिवार विदुर नगरपालिका–५, बाणाचौतारोमा अस्थायी टेन्टमा बस्दै आएका छन् । टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ताकपडा भिजेको तथा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको खाल्डेबाट विस्थापित भई बाणाचौतारोमा बस्दै आउनुभएका दावामिङ्मार तामाङले बताए।

“टेन्टमा पानी पसेपछि सामान जोगाउनै समस्या भएको छ । जमिन हिलाम्मे बनेको छ भने चिसो बढेपछि ज्येष्ठ नागरिक र बालबालिकालाई बढी समस्या भएको छ”, उनले भने।

अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ । जिल्ला शाखाका मन्त्री उद्धव शर्मा रिजालका अनुसार बाणाचौतारोसहित जिल्लाका विभिन्न पाँच स्थानमा बसोबास गरिरहेका प्रभावितको टेन्टमा त्रिपाल ओढाउने र जमिनबाट बगेको पानी टेन्टभित्र पस्न नदिन चारैतर्फबाट पानीको निकास बनाउने काममा स्वयंसेवक परिचालन गरिएको छ ।

“वर्षाका कारण प्रभावितको बसाइ थप कष्टकर बनेपछि टेन्टमा त्रिपाल ओढाउने र पानीको निकास बनाउने काम भइरहेको छ”, उनले भने “आज साँझसम्म सबै स्थानमा रहेका प्रभावितको टेन्टमा त्रिपाल लगाउने काम सम्पन्न गर्ने लक्ष्य छ ।”

निरन्तरको वर्षाका कारण बाढीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको कामसमेत प्रभावित भएको छ । त्रिशूली बजार तथा त्रिशूली नदीको पारिपट्टि बाढीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाइ भएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए।

बाढीले पुरिएका भग्नावशेष हटाई सुरक्षित रहेका सामग्री निकाल्न प्रभावित परिवारलाई विदुर नगरपालिका तथा विभिन्न सङ्घसंस्थाले सहयोग गरिरहेका छन् । तर, निरन्तरको वर्षाले भग्नावशेष तथा आसपासको क्षेत्र हिलाम्मे भएपछि खोज तथा उद्धारका साथै सामग्री निकाल्ने काममा कठिनाइ भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

भोटेकोशी हुँदै त्रिशूलीको बाढीका कारण नुवाकोटमा दुई हजार १०० भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित भई घरबारविहीन भएका छन् । भाडामा बस्ने र व्यवसाय गर्दै आएका परिवारसमेत थप हुँदा बाढीपछि जिल्लामा दुई हजार ५०० भन्दा बढी परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्क छ ।

बाढीबाट विस्थापित परिवारमध्ये केहीले घर तथा बाढीले पुरिएका संरचनाबाट सामान निकाल्न सफल भए पनि धेरै परिवार अझै अस्थायी संरचना र राहत सामग्रीको भरमा बस्दै आएका छन् । निरन्तरको वर्षाले चिसो बढेपछि विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, बिरामीलाई समस्या बनाएको छ । बाढीपश्चात् अस्थायी संरचनामा बस्दै आएका परिवारको जनजीवन अहिलेको निरन्तरको वर्षाले थप प्रभावित बनाएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?