+
+
Shares

सगरमाथा डिजिटलको प्रश्न- गीत नै किनेपछि कसरी प्रतिलिपि अधिकार उल्लंघन हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १६:५७

९ असोज, काठमाडौं । सगरमाथा डिजिटलले गीतकार सरोज केसी र शशि शर्मा मजयैयाँ लगायतका सर्जकसँग सम्झौता गरेर प्रतिलिपिको अधिकार आफूसँग सुरक्षित रहेको दाबी गरेको छ ।

सगरमाथा डिजिटल प्रा.लि.का हिराबहादुर केसीले कानूनी रुपमा समझौता नै गरेर गीतको प्रतिलिपि अधिकारहरू सुरक्षित गरेको बताए । उनले ७ साउन, २०६९ मा सम्झौता भएको दाबी गरे ।

सगरमाथा डिजिटलका सञ्चालक हिराबहादुर केसी र सर्जक सरोज केसीको हस्ताक्षर भएको सम्झौता ‘तिमीले पराई ठानेपछि…, किन आउँछ तिम्रो याद…., तिम्रो दिलमा चोट लाग्दा…..गीतको विषयमा छ ।

सगरमाथा डिजिटलका सञ्चालक केसीको दाबीअनुसार सम्झौताको दोस्रो बुँदामा ‘माथि उल्लेखित गीतहरू हाल चलनचल्तीमा प्रयोग भई रहेको भौतिक प्रविधि, डिजिटल प्रविधि, आरबिटी तथा अन्य विद्युतीय प्रविधिमा उत्पादन प्रकाशन तथा बिक्री वितरणसम्बन्धी समपूर्ण अधिकार आजैबाट प्रथम पक्षमा हस्तान्तरण भएको छ’ भन्ने व्यहोरा उल्लेख छ ।

सम्झौतामा सगरमाथा डिजिटलले गीतलाई नयाँ प्रविधि र क्षेत्रमा समेत पुन प्रशारण गर्न पाउने सुविधा समावेश छ । सम्झौतामा ‘आगामी दिनमा प्रयोगमा आउन सक्ने कुनैपनि प्रविधिमा पुन उक्त गीतहरु रुपान्तरण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा उत्पादन, प्रकाशन तथा बिक्री वितरण गर्न समेत प्रथम पक्षले पाउनेछ’ भन्ने उल्लेख भएको केसीले बताए ।

सगरमाथा डिजिटलले उक्त गीतहरुको सम्पूर्ण आर्थिक अधिकार आफूले पाएपछि सर्जक सरोज केसीलाई २५ हजार रुपैयाँ उपलब्ध गराइएको बताए ।

तर गीतकार सरोज केसी र शशि शर्मा मजयैयाँले आफूहरुको प्रतिलिपी अधिकार उल्लंघन भएको जिकिर गरेका छन् । आफूहरूले रचना गरेको गीतहरूबाट भएको आम्दानीको विवरण नदेखाएको र आफूहरूलाई झुक्याएर ठगी गरेको उनीहरूको जिकिर छ ।

सम्झौतापत्रबाटै प्रतिलिपि अधिकार सगरमाथा डिजिटललाई हस्तान्तरण गरेको सगरमाथा डिजिटलको दाबी छ । सम्झौतापत्रमा नै ‘सो गीतहरूको सार्वजनिक प्रयोग (रेडियो, टिभी जस्ता सञ्चारमाध्यामबाट प्राप्त हुने आम्दानी) वापतको रोयल्टीबाहेक अरू अर्थिक अधिकार दाबी गर्न पाउने छैन’ भन्ने व्यहोरा उल्लेख छ ।

आफूहरूको प्रतिलिपि अधिकार हनन भएको दाबीसहित सरोज केसी र शशि शर्मा मजयैयाँले जाहेरी दिएपछि सगरमाथा डिजिटलविरुद्ध दायर प्रतिलिपी अधिकार उल्लंघन सम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उनीहरूले ९५ लाख रुपैंया विगो तथा क्षतिपूर्तिको दाबी गरेका छन् ।

गीतकार शशि शर्मा मजगैयाँले पनि आफ्नो गीत ‘तिम्रै यादमा…’ र ‘तिम्रो माया मेरो माया..’ बोलको गीत अनुमतिबिना प्रयोग भएको आरोप लगाएका छन् । उनको दावीमा ‘सगरमाथा डिजिटलले सो गीतबाट अनधिकृत रूपमा आर्थिक आम्दानी गरेकाले आफूहरुले नोक्सानीको विगो र क्षतिपूर्ति पाउनुपर्छ’ भनिएको छ ।

तर सगरमाथा डिजिटलले मजगैँयासँग पनि ६ मंसिर, २०६८ मा अर्को सम्झौता भएको जनाएको छ । जस अनुसार, ५ हजार रुपैंयामा उनको गीतको प्रतिलिपि अधिकार किनिएको थियो ।

मजगैयाँले हस्ताक्षर गरेको सम्झौताको चौथो बुँदामा लेखिएको छ, ‘गीतको सम्पूर्ण अधिकार सगरमाथा डिजिटलको हुनेछ । सगरमाथा डिजिटलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा डिजिटल/फिजिकल लगायत जुनसुकै प्रविधिमा बिक्री वितरण गरे वापत प्राप्त हुने रकममा द्वितीय पक्ष(गीतकार) ले दाबी गर्न पाउने छैन ।’

प्रक्रियासम्मत, स्पष्ट र पारदर्शी रुपमा प्रतिलिपि अधिकार किनिएपछि आफूविरुद्ध मुद्दा हालिएको सगरमाथा डिजिटलका सञ्चालक केसीको जिकिर छ । ‘जहिले पनि व्यावसायी ठग हुन्छ भन्ने धारणा बनाइएको छ’ उनी भन्छन्, ‘खासमा हामीमाथि अन्याय भएको हो । हामीलाई अनावश्यक दु:ख दिइएको छ, बदनाम गरिएको छ ’ केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?