News Summary
Generated by OK AI. Editorially reviewed.- बाढीपहिरोले पृथ्वी राजमार्ग र नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा एलपी ग्यास, तरकारी र अत्यावश्यक खाद्यवस्तुको आपूर्ति प्रभावित भएको छ ।
- नागढुंगा–मुग्लिन सडकका १० भन्दा बढी स्थानमा पहिरो गएको र कृष्णभिरसहितका ठाउँमा सडक दुईतर्फी अवरुद्ध रहेको आयोजनाले जनाएको छ ।
- आयल निगमका अनुसार बाटोमै झन्डै १ सय २५ ग्यास बुलेट रोकिएका छन् र तीबाट करिब डेढ लाख सिलिन्डर ग्यास काठमाडौंका लागि तयार अवस्थामा छ ।
११ असोज, काठमाडौं । बुधबार रातिदेखि देशैभरि परेको अविरल वर्षा र त्यसपछि आएको बाढीपहिरोले नेपालको समग्र आपूर्ति व्यवस्था प्रभावित भएको छ ।
विशेषगरी संघीय राजधानी काठमाडौं उपत्यकालाई तराईसँग जोड्ने मुख्य ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्ग र नागढुंगा–मुग्लिन सडकखण्ड ठाउँ–ठाउँमा अवरुद्ध हुँदा उपत्यकामा खाना पकाउने एलपी ग्यास, तरकारी तथा अन्य अत्यावश्यक खाद्यवस्तु आपूर्ति पूर्ण रूपमा असहज बन्न पुगेको छ ।
चाडपर्वको मुखमा यसरी मुख्य राजमार्ग बन्द हुँदा काठमाडौंवासीमा ग्यास र दैनिक उपभोग्य वस्तु अभाव हुने त्रास बढेको छ ।
नागढुंगा–मुग्लिन सडक आयोजनाका अनुसार आइतबार यस सडक खण्डका १० भन्दा बढी स्थानमा पहिरो गएको छ । आयोजनाको पछिल्लो अद्यावधिक विवरण अनुसार धादिङ र चितवन खण्डका कृष्णभिर, ज्यामिरेघाट, चौकीभिर, घोप्टेभिर र सिमलधारामा खसेको ठूलो पहिरोका कारण सडक पूर्णरूपमा (दुईतर्फी) अवरुद्ध छ ।
त्यसैगरी शीलतबजार, गोमती खोला, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङटार र धारापानी क्षेत्रमा खसेको पहिरोका कारण ती क्षेत्रमा सडक एकतर्फी मात्र सञ्चालनमा छ । सडक विभागले देशभरिका अवरुद्ध सडक खुलाउन प्रयास गरिरहेको बताएको छ ।
लाइफलाइन मानिने सडकलाई बढी प्राथमिकतामा राखेर खुलाउने प्रयास भइरहेको विभागको भनाइ छ ।
सडकको यो दुरवस्थाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट र अन्य मालवाहक ट्रक उपत्यका भित्रिन पाएका छैनन् । नेपाल आयल निगमले बुधबारदेखि वर्षा सुरु भएयता कुनै पनि नयाँ ग्यास बुलेट काठमाडौं उपत्यका नभित्रिएको बताएको छ ।
काठमाडौंवासीका लागि ग्यास अभावको यो त्रास र सास्ती नयाँ भने होइन । यसअघि करिब तीन साताअघि मात्रै पनि कृष्णभिरमा आएको पहिरोका कारण काठमाडौं जोड्ने मुख्य राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा ग्यासको चरम अभाव देखिएको थियो ।
मुख्य राजमार्ग खुलेर नियमित बुलेट आउन थालेको र बल्लतल्ल आपूर्ति सहज हुँदै गएको एक साता नबित्दै पुन: राजमार्ग अवरुद्ध भएपछि ग्यास लगायत अत्यावश्यक वस्तुको आयात फेरि प्रभावित भएको हो ।
बाटोमै रोकिए डेढ लाख सिलिन्डर ग्यास
बजारमा फेरि ग्यास अभाव हुन थालेपछि आयल निगमले भने उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बाटो अवरुद्ध भएका कारण केही दिन ग्यास बुलेट काठमाडौं भित्रिन नसके पनि बाटो खुल्नासाथ बजारमा ग्यासको कुनै अभाव नहुने गरी आफूहरू तयारी अवस्थामा रहेको बताए ।

‘तीन दिनदेखि बाटो अवरुद्ध भएको अवस्था छ, यसअघि अलिअलि बाटो खुलेको भए पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन,’ उनले अनलाइनखबरसँग भने, ‘तर, अहिले बाटोमै झन्डै १ सय २५ वटा ग्यास बुलेट रोकिएर बसेका छन्, काठमाडौं उपत्यकामा रहेका १६ वटा ग्यास ब्रान्डका लागि लोड गरिएका यी बुलेट वीरगञ्ज भन्सार क्लियर भइसकेका छन्, कोही चितवनको रामनगरमा, कोही हेटौंडामा त कोही अन्य सुरक्षित स्थानमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा रोकिएर बसेका छन् ।’
एउटा ग्यास बुलेटमा औसतमा १ हजार २ सय ५० वटा सिलिन्डर भर्न मिल्ने ग्यास हुन्छ । कार्यकारी निर्देशक साहका अनुसार अहिले बाटोमा रोकिएका सवा सय बुलेटबाट मात्रै करिब डेढ लाख सिलिन्डर ग्यास काठमाडौंका लागि तयार अवस्थामा छ ।
‘बाटो खुल्नेबित्तिकै हामी लगातार तीन–चार दिन ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा पठाउन सक्छौं, यतिले हामीलाई बजार नर्मल बनाउन धेरै मद्दत गर्छ,’ साहले भने, ‘भारततिरबाट ग्यास ल्याउन कुनै पनि समस्या छैन, बरौनी, पारादिप, हल्दिया लगायत स्थानबाट ग्यास लोड भएर ग्यास चितवन र हेटौंडा आसपास नै आइसकेको छ, अब मुख्य कुरा भनेको कृष्णभिर र धादिङका अन्य स्थानमा गएको पहिरो पन्छाउने बित्तिकै हामी एकदमै कम्फर्टेबल जोनमा हुन्छौं ।’
अहिले पनि उद्योगहरूसँग भएको स्टकबाट आइतबार मात्रै १७/१८ हजार सिलिन्डर बजारमा गएको उनले बताए ।
‘पहिलो ट्रायल गरिसकेको बाटो भएकाले अलिकति सास्ती होला, शतप्रतिशत माग पूरा गर्न केही समय लाग्ला, तर पहिला जस्तै अभाव हुन चाहिँ हामी दिन्नौं, उपभोक्ताले लाइन नै बस्नुपर्ने अवस्था आउँदैन,’ उनले थपे ।
साहले बाटो खुलाउन प्रधानमन्त्री कार्यालय, मन्त्रालय र सडक विभागको महानिर्देशक सहित टोलीसँग निरन्तर समन्वय भइरहेको र घाम लाग्नासाथ डोजर लगाएर दुई/चार घण्टामै बाटो खुल्नेमा आश्वस्त रहेको बताए ।
तीन दिनमा ६३ हजार सिलिन्डर बजारमा
बुधबारदेखि नयाँ ग्यास बुलेट उपत्यका प्रवेश नगरे पनि आयल निगम र यहाँका ग्यास उद्योगीले आफूसँग स्टक रहेको ग्यास निरन्तर बजार पठाइरहेका छन् ।
बजारमा कृत्रिम अभाव सिर्जना नहोस् र उपभोक्ताले सास्ती खेप्न नपरोस् भनेर पछिल्लो तीन दिन (शुक्रबार, शनिबार र आइतबार) को अवधिमा मात्रै उपत्यका र आसपासका जिल्लामा कुल ६३ हजार २ सय ५६ वटा ग्यास सिलिन्डर वितरण गरिएको निगमको तथ्यांक छ ।
शुक्रबार एकैदिन सबैभन्दा धेरै अर्थात् ३७ हजार ९ सय ८६ सिलिन्डर विभिन्न डिलर मार्फत बजार पठाइएको थियो । शुक्रबार बजारमा सबैभन्दा बढी सगर ग्यासले ६ हजार २ सय ३४ र नेपाल ग्यासले ४ हजार ६ सय ४० सिलिन्डर वितरण गरेका थिए ।
यसैगरी एसटीसी ग्यासले ३ हजार १ सय ३८, एभरेस्ट ग्यास २ हजार ६ सय ४५, श्रीराम ग्यास २ हजार ५ सय २०, सीताश्री ग्यास २ हजार ५ सय १३, श्री ग्यास २ हजार ४ सय ९ र हिमाल ग्यासले २ हजार ३ सय ४५ सिलिन्डर बजार पठाएका थिए ।

सोही दिन एचपी ग्यासले १ हजार ८ सय ८, साइबाबा १ हजार ८ सय १०, श्रीमाया ग्यास १ हजार ७ सय ७१, ओम ग्यास १ हजार ७ सय १४, सुगम ग्यास १ हजार २ यस ३४ र भानु ग्यासले १ हजार १ सय ८० सिलिन्डर वितरण गरेको निगमको तथ्यांकमा उल्लेख छ ।
यसबाहेक सिद्धार्थ ग्यासले ५ सय ७५, गीता ग्यास ५ सय ६०, श्रीकृष्ण ग्यास ५ सय ६० र लोकप्रिय ग्यासले ३ सय ३० सिलिन्डर शुक्रबारका दिन उपभोक्तामाझ पुर्याएका थिए ।
शनिबार सार्वजनिक बिदाको दिन परेकाले ग्यास वितरण कम रह्यो । यद्यपि, बजार आवश्यकता ध्यानमा राख्दै यस दिन पनि कुल ६ हजार ३ सय ९९ सिलिन्डर बजार पठाइएको थियो ।
शनिबार जम्मा तीन वटा ब्रान्डका ग्यास मात्र बजार पुगेका थिए । जसमा सगर ग्यास ४ हजार ५ सय १६, नमस्ते ग्यास ९ यस ४७ र श्रीमाया ग्यास ९ सय ३६ सिलिन्डर वितरण भएका थिए ।
त्यसैगरी आइतबार (११ असोज) को तथ्यांक अनुसार काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा रहेका आधिकारिक विक्रेताकहाँ विभिन्न १० ग्यास उद्योगहरूले आफ्ना कुल ३ सय २० डिलर तथा पसल मार्फत जम्मा १८ हजार ८ सय ७१ सिलिन्डर ग्यास पठाएका छन् ।
आइतबार पनि सबैभन्दा बढी ग्यास सगरमाथा ग्यास उद्योग प्रालि (सगर) ले नै पठाएको छ । सगरमाथाले आफ्ना सर्वाधिक १ सय २ वटा डिलर मार्फत कुल ४ हजार ५ सय ७६ सिलिन्डर ग्यास वितरण गरेको छ ।
यसपछि, नेपाल ग्यास उद्योग प्रालि (बालाजु) ले आफ्ना ३४ विक्रेता मार्फत ३ हजार ३ सय ६० सिलिन्डर ग्यास उपभोक्तामाझ पुर्याएको छ ।
आइतबारको तथ्यांक अनुसार मेट्रो काठमाडौं ग्यास इन्डस्ट्रिज लिमिटेड (एसटीसी) ले ३८ डिलर मार्फत २ हजार ८ सय ३२ सिलिन्डर ग्यास वितरण गरेको छ भने सीताश्री ग्यास उद्योग प्रालिले आफ्ना ३७ विक्रेतालाई २ हजार १ सय ७५ सिलिन्डर ग्यास उपलब्ध गराएको छ ।
त्यस्तै गौरी शंकर ग्यास उद्योग प्रालि (हिमाल ग्यास) ले ३७ विक्रेता मार्फत १ हजार २ सय ९४, सूर्य ग्यास इन्डस्ट्रिजले १२ डिलरलाई १ हजार २ सय २२, सिद्धार्थ ग्यासले १९ विक्रेता मार्फत १ हजार ७७ र हिमालयन पेट्रो केमिकल्स (एचपी ग्यास) ले २० डिलर मार्फत १ हजार सिलिन्डर ग्यास वितरण गरेका छन् ।
आइतबार सबैभन्दा कम ग्यास वितरण गर्नेमा भानु ग्यासले ९ डिलर मार्फत ६ सय ९० र श्रीराम ग्यासले १२ विक्रेता मार्फत ६ सय ४५ सिलिन्डर पठाएका छन् ।
पेट्रोल, डिजेल र हवाई इन्धनमा समस्या छैन
निगमका अनुसार पेट्रोल, डिजेल र हवाई इन्धन आपूर्तिमा भने कुनै समस्या छैन । पेट्रोल र डिजेलका लागि थानकोटमा साता–दश दिन धान्ने मौज्दात छ ।
निगमको हवाई इन्धन कार्यालय सिनामंगलका प्रमुख प्रदीप यादवले दिएको जानकारी अनुसार घरेलु तथा अन्तर्राष्ट्रिय जहाजले भर्ने हवाई इन्धन पनि १० दिनलाई पुग्ने मौज्दात छ ।
‘हामीलाई अब १० दिन कुनै समस्या हुँदैन,’ यादवले भने, ‘लामो समयसम्म मुख्य सडक अवरुद्ध भए वैकल्पिक मार्गबाट ल्याएर भए पनि अभाव टार्न सकिन्छ ।’ उनले तत्कालका लागि चिन्ताको अवस्था नभएको बताए ।

इन्धन र ग्यास आपूर्तिको प्राविधिक भिन्नता र चुनौती
सामान्यतया लामो समयसम्म मुख्य राजमार्ग अवरुद्ध हुँदा पनि अन्य पेट्रोलियम पदार्थ आपूर्तिमा त्यति धेरै समस्या हुँदैन जति एलपी ग्यासमा हुन्छ ।
निगमका अनुसार पाइपलाइनबाट आयात गरिएको डिजेल र पेट्रोल बारा अमलेखगञ्ज डिपोमा भण्डारण गरिन्छ । त्यहाँबाट साना ट्यांकर मार्फत बीपी राजमार्ग (सिन्धुली–बर्दीवास) वा अन्य वैकल्पिक रुट प्रयोग गरेर उपत्यकामा सजिलै ल्याउन सकिन्छ ।
तर, ग्यासको प्रकृति फरक हुन्छ । ग्यासलाई ढुवानी गर्न ठूला आकारका विशेष बुलेट नै चाहिन्छ, जुन बुलेट साघुँरा र घुम्ती बढी भएका वैकल्पिक सडकबाट ल्याउन असम्भव प्राय: हुन्छ । ग्यास सिलिन्डर ट्रकबाट ल्याउनुपर्ने बाध्यता रहन्छ ।
विगतमा राजमार्ग लामो समय बन्द हुँदा उपत्यकामा ग्यास उद्योगीले वैकल्पिक र निकै महँगो उपाय अपनाएका थिए । उनीहरूले उपत्यकाका डिलरहरूबाट खाली सिलिन्डर संकलन गरी सामान्य मालवाहक ट्रकमा राखेर तराईका ग्यास प्लान्टहरूमा पुर्याउने, त्यहाँ ग्यास भर्ने र पुन: ती भरिएका सिलिन्डर ट्रकबाटै वैकल्पिक बाटो हुँदै काठमाडौं ल्याउने गरेका थिए ।
यो प्रक्रिया निकै झन्झटिलो, समय लाग्ने र ढुवानी लागत अत्यधिक बढ्ने खालको हुन्छ । सडक छिटै नखुले उद्योगीहरू पुन: यही कष्टकर विकल्पमा जानुपर्ने बाध्यता सिर्जना हुन सक्छ ।
अहिले काठमाडौं प्रवेश गर्ने मुख्यमार्ग मुग्लिन–नागढुंगा सडक बन्द भएपछि अत्यावश्यक खाद्यान्न, तरकारी तथा इन्धन लगायत सामग्री आपूर्ति केही हदसम्म भए पनि सहज बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिभुवन राजपथलाई सीमित रूपमा सञ्चालनमा ल्याएको जनाएको छ ।
तर, यो सडक खण्ड निकै साँघुरो र जोखिमपूर्ण भएकाले ठूला मालवाहक सवारीसाधन र ग्यास बुलेट आवतजावत गर्न सक्दैनन् ।
प्रतिक्रिया 4