+
+
Shares

अमेरिकी प्रतिबन्धको विकल्पमा इरानले प्रयोग गर्दैछ चीनसँग जोडिने रेल करिडोर

अमेरिकी नौसैनिक नाकाबन्दी र होर्मुज जालामार्गमा समुद्री यातायातमा आएको भारी गिरावटपछि इरानले चीनसँग जोडिने स्थलमार्ग र रेल करिडोरलाई प्राथमिकता दिन थालेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी प्रतिबन्ध र नाकाबन्दीबीच ईरानले चीनसँगको रेल करिडोरलाई प्राथमिकता दिँदै समुद्री मार्गको विकल्प तीव्र बनाएको छ।
  • ईरान-चीन रेलमार्गबाट सामान पुग्न ४५ देखि ५० दिनको साटो करिब १५ दिन लाग्ने रोशनबख्श कान्बरीले बताए।
  • तर एक ट्रेनले करिब १,००० टन मात्र बोक्ने र सीमा क्षेत्रमा कन्टेनर ट्रान्सफर गर्नुपर्ने भएकाले ढुवानी अझै सीमित र महँगो छ।
  • ईरानले खाद्यान्न, औषधि, मेडिकल उपकरण र कच्चा पदार्थको आयात प्राथमिकता दिन आपतकालीन समिति गठन गरेको छ।

११ असोज, काठमाडौं । अमेरिकासँगको तनाव र कडा आर्थिक प्रतिबन्धका कारण उत्पन्न जटिल परिस्थितिबीच ईरानले आफ्ना उत्तरी सीमाहरूबाट जाने वैकल्पिक व्यापारिक मार्गहरूको प्रयोग तीव्र बनाएको छ। अमेरिकी नौसैनिक नाकाबन्दी र होर्मुज जालामार्गमा समुद्री यातायातमा आएको भारी गिरावटपछि ईरानले चीनसँग जोडिने स्थलमार्ग र रेल करिडोरलाई प्राथमिकता दिन थालेको हो।

ईरानको ट्रेड प्रोमोसन अर्गनाइजेसनका डेपुटी हेड रोशनबख्श कान्बरीका अनुसार, प्रतिबन्ध र चुनौतीहरूका बाबजुद ईरान-चीन रेल करिडोर केही महिनादेखि निरन्तर सञ्चालनमा रहेको छ।

२५ सेप्टेम्बरमा तस्निम न्युज एजेन्सीसँग कुरा गर्दै कान्बरीले भने, “ईरान र चीनबीच समुद्रको बाटो मालसामान पुग्न ४५ देखि ५० दिन लाग्थ्यो, तर रेल मार्गबाट यो समय घटेर करिब १५ दिनमा सीमित भएको छ। यो ३५ दिनको बचत व्यापारका लागि निकै ठूलो फाइदा हो।”

यो रेल मार्ग मध्य ईरानको यज्द प्रान्तमा रहेको पीशगामान ड्राइ पोर्टबाट सुरु भई इस्फहान, तुर्कमेनिस्तान र कजाखस्तान हुँदै चीनको यिवू इनल्यान्ड पोर्टसम्म पुग्छ।

समयका दृष्टिले रेल मार्ग निकै द्रुत भए पनि यसको क्षमता समुद्री ढुवानीको तुलनामा निकै कम रहेको अधिकारीहरूले स्वीकार गरेका छन्। कान्बरीका अनुसार एउटा ट्रेनले करिब १,००० टन मालसामान मात्र लैजान सक्छ, जबकि एउटा ठूलो व्यापारिक जहाजले त्योभन्दा धेरै गुणा बढी सामान बोक्न सक्छ। सीमित क्षमताका कारण व्यापारीहरूले सामान पठाउन पर्खिनुपर्ने बाध्यता छ।

यसका साथै, फरक-फरक देशमा रेलको लिक (गेज) फरक हुनाले तुर्कमेनिस्तान र कजाखस्तानमा कन्टेनरहरू एउटा ट्रेनबाट अर्कोमा ट्रान्सफर गर्नुपर्ने हुन्छ । जसले केही समय ढिलाइ गराउँछ।

लागत घटाउन ईरानले दुवै तर्फबाट मालसामान ओसारपसार गर्ने व्यवस्था मिलाएको छ। पहिले चीनबाट सामान ल्याएर खाली फर्कने कन्टेनरहरूमा अहिले ईरानी निर्यातकहरूले पनि आफ्ना सामान पठाउन थालेका छन्। तैपनि, रेल मार्गबाट हुने ढुवानी समुद्री मार्गको तुलनामा अझै महँगो छ।

कान्बरीले जोड दिँदै भने, “ईरान कुनै एउटा मात्र मार्गमा निर्भर रहनु हुँदैन। उसले रेल, सडक र समुद्री परिवहनको एकसाथ प्रयोग गरेर व्यापारका नयाँ बाटाहरू बनाउनुपर्छ।”

अमेरिकी प्रतिबन्धका कारण ईरानको तेल निर्यातमा ठूलो गिरावट आएको छ। अमेरिकी इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेशनका अनुसार, होर्मुज जलडमरूमध्यबाट हुने तेलको प्रवाह २०२५ मा दैनिक २.१ करोड ब्यारेल रहेकोमा २०२६ को दोस्रो त्रैमासिकमा घटेर ४९ लाख ब्यारेलमा सीमित भएको छ।

यस्तो संकटपूर्ण अवस्थामा आवश्यक आयातलाई प्राथमिकता दिन ईरानले एउटा आपतकालीन समिति गठन गरेको छ। हाल खाद्यान्न, औषधि, मेडिकल उपकरण र उत्पादनका लागि आवश्यक कच्चा पदार्थ (करिब २५०० देखि २८०० ट्यारिफ कोड भएका सामान) को आयातलाई मात्र अनुमति दिइएको छ।

चीनसँगको व्यापार जारी राख्न र देशभित्र अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन यो रेल करिडोर ईरानका लागि ठूलो राहत बनेको छ।

तर, सीमित मालढुवानी क्षमता, सीमा क्षेत्रका प्राविधिक जटिलता र महँगो ढुवानी खर्चका कारण यो वैकल्पिक रेल मार्गले पूर्ण रूपमा समुद्री व्यापारको भरपाई गर्न सक्छ वा सक्दैन भन्नेमा भने विश्लेषकहरू अझै सशङ्कित छन्। दीर्घकालीन रूपमा यो व्यवस्थाले ईरानी अर्थतन्त्रलाई कत्तिको बलियो बनाउँछ भन्ने कुरा हेर्न बाँकी नै छ।  बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?