News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको त्रिशूली नदीमा निरन्तर वर्षाले पानीको बहाव बढेपछि विदुर नगरपालिकाका चार स्थानमा सञ्चालनमा ल्याइएका तुइन बन्द गरिएका छन्।
- तुइन बन्द हुँदा त्रिशूली नदी पार गर्न बेलकोटगढीको झोलुङ्गे पुल वा धादिङको गल्छीको पक्की पुल प्रयोग गर्नुपर्ने बाध्यता भएको छ।
- तुइन नचल्दा नदीपारिका बस्तीमा राहत, उद्धार, दैनिक उपभोग्य सामग्री र अस्पतालसम्मको आवतजावत प्रभावित भएको छ।
११ असोज, त्रिशूली (नुवाकोट) । नुवाकोटको त्रिशूली नदीमा सञ्चालनमा ल्याइएका तुइन निरन्तरको वर्षाका कारण बन्द हुँदा जनजीवन प्रभावित भएको छ ।
वर्षाका कारण नदीमा पानीको बहाव बढ्नुका साथै तुइनका घिर्नी सञ्चालनमा प्राविधिक कठिनाइ देखिएपछि विदुर नगरपालिकाका चार स्थानमा सञ्चालनमा ल्याइएका तुइन बन्द गरिएका हुन् ।
तुइन बन्द भएपछि त्रिशूली नदी वारपार गर्न बेलकोटगढी नगरपालिकामा पर्ने झोलुङ्गे पुल वा धादिङको गल्छीस्थित पक्की पुल हुँदै आवतजावत गर्नुपर्ने बाध्यता भएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी वारपार गर्ने सम्पूर्ण पुलसहित सडकको पहुँच मार्गसमेत बगाएपछि विदुर नगरपालिकासँगको सहकार्यमा बागमती प्रदेश सरकारले विभिन्न चार स्थानमा तुइन जडान गरी सञ्चालनमा ल्याएको थियो ।
त्रिशूली नदी वारपारका बस्तीलाई आपसमा जोड्न विदुर नगरपालिका–१ इन्द्रायणीचौरमा दुई ठाउँमा तथा वडा नं ४, वडा नं–१२ जोड्ने सिमचौर, वडा नं ५ र ३ जोड्ने देवीघाटमा एक–एक ठाउँमा तुइन जडान गरिएका थिए । निरन्तर वर्षा भइरहेका कारण तुइनका घिर्नी सञ्चालनमा कठिनाइ हुनुका साथै नदी वारपार गर्ने क्रममा बीचमै अड्किन सक्ने जोखिम रहेकाले सञ्चालन रोकिएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए ।
‘प्राविधिक समस्या र नदीको बहावबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै तुइन सञ्चालन रोकिएको हो’, उनले भने, ‘मौसम सफा भएर नदीको बहाव घटेपछि पुन: सञ्चालनमा ल्याइनेछ ।’
देवीघाटमा जडान गरिएको तुइनको लठ्ठा बाँधिएको रुखसमेत त्रिशूली नदीको कटानका कारण जोखिममा परेको छ । वडा नं ३ तर्फ लठ्ठा बाँधिएको रुखमा नदीको कटानले क्षति पुर्याएकाले मौसम सफा भएपछि प्राविधिक अध्ययन गरेर मात्र उक्त तुइन सञ्चालनमा ल्याउने तयारी गरिएको प्रमुख थापाले जानकारी दिए ।
भोटेकोशी बाढीपछि देवीघाटस्थित तादी खोलामा नेपाली सेनाको सहयोगमा एक्रोब्रिज सञ्चालनमा ल्याएसँगै धादिङतर्फको आवतजावत केही सहज भएको छ । तर, त्रिशूली नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल पक्की वा अन्य वैकल्पिक पुल निर्माण गर्न नसक्दा नदी वारपारका लागि तुइन नै प्रमुख माध्यम बनेको छ ।
नदी वारपारको एकमात्र साधन तुइन पनि बन्द भएपछि नदीपारिका बस्तीमा बाढीले पुर्याएको क्षति पश्चात पुरिएका घरको भग्नावशष हटाइ खोज तथा उद्धार र राहत वितरणमा समस्या भएको छ । आम उपभोक्तालाई दैनिक उपभोग्य सामग्रीको अभाव भएको विदुर नगरपालिका–७ का अध्यक्ष रबिन्द्र नेपालले गुनासो गरे ।
नदी पार गर्ने माध्यम नहुदाँ सदरमुकाम विदुरबाट त्रिशूली नदी पारितर्फ रहेको त्रिशूली अस्पताल पुग्न नसक्दा यहाँका बिराम जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । नदी वारपारको सहज माध्यम बन्द हुँदा विदुरबाट त्रिशूली पारीतर्फ विदुरको आठवटा वडा सहित किस्पाङ र म्यागङ गाउँपालिकासँगको आउजाउ रोकिएको छ । रासस
प्रतिक्रिया 4