+
+
Shares

चाडबाडको मुखमा क्षतिग्रस्त बने अधिकांश राजमार्ग, बगायो दुई मोटरेबल पुल

नागढुङ्गा-मुग्लिन सडक योजनाका अनुसार यस खण्डमा आज यातायात सुरु हुने अवस्था छैन । यहाँ कृष्णभिर सहित कम्तीमा १० स्थानमा पहिरो गएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षा र बाढी–पहिरोका कारण दसैं, तिहार र छठअघि पृथ्वी, बीपी, कर्णाली र अरनिकोसहित अधिकांश राजमार्ग अवरुद्ध भएका छन् ।
  • सडक विभागका अनुसार केही स्थानमा आजै पहिरो हटाएर सडक खुलाउन थालिएको छ, तर बीपी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन नसकिने अवस्था छ ।
  • कालीगण्डकी नदीले बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर–नौलीबजार पुल र मिर्मी–हर्मिचौर मोटरेबल पुल बगाएको छ ।

११ असोज, काठमाडौं । ९ असोजदेखि सुरु भएको वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरोका कारण नेपालीको मुख्य चाडबाड दसैं, तिहार र छठको मुखमा अधिकांश राजमार्ग क्षतिग्रस्त बनेका छन् ।

१० भदौको भोटेकोशी–त्रिशूली बाढीले एक नदी करिडोरमा मात्र प्रहार गरेको थियो । पछिल्लो वर्षा र बाढीले देशव्यापी राजमार्गहरू क्षतिग्रस्त बनाएको छ ।

सडक विभागका विभिन्न कार्यालयले दिएको जानकारी अनुसार सामान्य पहिरो गएको स्थानमा आजैदेखि पहिरो हटाएर राजमार्ग पुन: सुरु गर्न थालिएको छ । कतिपय स्थानमा भने केही दिनसम्म लाग्न सक्ने अवस्था छ ।

सडक विभागका अनुसार पहिरोले काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने पृथ्वी राजमार्ग दुई दिनयता बन्द छ । यस राजमार्ग अन्तर्गत कृष्णभिर, तिङ्ग्राङखानी, चालिसे, बाङ्गे लगायत स्थानमा सडक अवरुद्ध भएको थियो । बेनिघाट रोराङ–७ का अध्यक्ष कुमार बस्नेतले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार यो कृष्णभिरको पहिरो हटाउन थालिएको छ । धादिङकै गजुरी–२ पहरेभीरमा समेत आजै सडक खुलाइँदैछ ।

नागढुङ्गा–मुग्लिन सडक योजनाका अनुसार यस खण्डमा आज यातायात सुरु हुने अवस्था छैन । यहाँ कृष्णभिर सहित कम्तीमा १० स्थानमा पहिरो गएको छ । शीतलबजारमा हालै फुटाइएको चट्टानको पछिल्लो भागबाट लेदो र रुखसहित पहिरो खसेको छ । त्यहाँ सडक केही भासिएको छ ।

त्यस्तै गोमती खोलामा लेदोसहित पहिरो खसेको छ । ज्यामिरेघाट चौकीभिरमा ढुंगा र लेदोसहित पहिरो गएको थियो । हुग्दी खोलादेखि जवाङ खोलासम्म कम्तीमा आधा दर्जन स्थानमा लेदोसहित पहिरोले सडक अवरुद्ध भएको छ ।

यस्तै फिस्लिङका विभिन्न ३ स्थानमा ठूला ढुंगा, लेदो र रुखसहित पहिरोले सडकमा अवरोध गरेको छ । यहाँ ३० मिटर सडक दबिएको र चर्किएको अवस्थामा छ ।

चुम्लिङटारमा समेत ढुंगासहित पहिरो गएको थियो । धारापानीको दुई स्थानमा सडकको केही भाग भत्किएको छ । घोप्टेभिरमा ठूला ढुंगा र लेदोसहित पहिरोले सडक अवरुद्ध गरेको थियो । सिमलधारामा पहिरोले सडकमा क्षति गरेको छ । यी खण्ड मर्मत र सडक सफा गर्ने काम भने विभिन्न स्थानमा आजैदेखि सुरु गरिएको छ ।

उता, मुग्लिन–नारायणघाट सडकखण्डको नाम्सी खोला पुलमाथिबाट खसेको लेदोसहित पहिरो मेसिन परिचालन गरी हटाइएको छ । अहिले सडक खुला गरी नारायणगढ–पोखरा खण्ड सुरु गरिएको छ । यद्यपि, खण्ड वर्षा जारी रहेसम्म जोखिममुक्त हुने छैनन् ।

सडक विभागका अनुसार वर्षाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भाइरल डाँडा–धानखोला तथा मकवानपुर रजैयामा समेत अवरुद्ध भएको थियो । त्यस खण्डमा भने यातायात सुरु गरिएको छ । काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने अर्को व्यस्त सडक बीपी राजमार्ग समेत अवरुद्ध छ । सडक विभागका अनुसार पहिरोले सडक र डाइभर्सन समेत बगाएका कारण तत्काल यस राजमार्गबाट यातायात सञ्चालनमा ल्याउन सम्भव छैन । बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने कालोपुल, कटुन्जे, चौकीडाँडा लगायत स्थानमा यातायात अवरुद्ध भएको हो ।

कान्ति राजमार्गको चपली, तर्कुचे लगायत स्थानमा पहिरोले यातायात अवरुद्ध बनेको छ । सिद्धिचरण राजमार्गमा समेत ओखलढुङ्गा–सल्लेरी खण्ड अस्थायी रूपमा मात्र सञ्चालनमा ल्याइएको छ ।

पछिल्लो बाढीले मध्यपहाडी राजमार्ग अन्तर्गत बागलुङ खण्डमा बढी क्षति गरेको छ । बागलुङको घाडाबाँधे–हटिया खण्ड, नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान, चौराहा लगायत स्थानमा सडक क्षति गरेको छ । यी सडकखण्डमा मेसिन परिचालन गरी आजै काम थालिएको छ ।

त्यस्तै कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको रघुगंगामा सडक अवरुद्ध बनेको छ । तमोर करिडोरको मुलघाट–फिदिम खण्डमा नदीको बहाव अनुसार यातायात प्रभावित भएको छ । बहाव बढ्दा अवरुद्ध हुने र घट्दा सडक सुरु गरिएको छ ।

राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनिकोट खण्डमा पहिरोले सडक अवरुद्ध गरेको छ । कर्णाली राजमार्गको गगने खोला, राँका तथा बाङ्गेसिमल–दही खोला खण्डको विभिन्न स्थानमा सडक अवरुद्ध बनेको छ ।

भालुबाङ–चकचके–लिवाङ खण्डका समेत विभिन्न स्थानमा पहिरोले यातायात सेवा आंशिक अवरुद्ध बनाएको सडक विभागले जनाएको छ । बेँसीसहर–चामे सडक बन्द भएको छ । मनाङतर्फका विभिन्न स्थानमा पहिरोले यो सडकखण्ड अवरुद्ध बनाएको हो ।

सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा समेत पहिरोले क्षति गरेको छ । स्याङ्जाका विभिन्न स्थानमा खसेको पहिरो हटाएर यातायात भने सुरु गरिएको सडक विभागले जनाएको छ । पहिरोले अरनिको राजमार्गमा सडक अवरोध गरेको छ । धुलिखेल–खावा खण्डमा गएको पहिरोले यातायात अवरुद्ध गरेको हो ।

उता, बेनी–जोमसोम–कोरला सडक खण्डमा पर्ने अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर–नौलीबजार जोड्ने पुल कालीगण्डकी नदीले बगाएको छ । स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने मोटरेबल पुलसमेत कालीगण्डकी नदीले बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?