+
+
Shares

पर्यटन विकास गर्न अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता वृद्धिमा जोड

बदलिँदो पर्यटन परिवेश अनुसार संस्थागत क्षमता र सेवा प्रवाह सुदृढ बनाउनुपर्नेमा सहभागीले जोड दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्री खड्कराज पौडेलले नेपालको पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताए ।
  • उनले मौलिक संस्कृति, जात्रा–पर्व र हिमाली सम्पदाको संरक्षणलाई दिगो पर्यटनसँग जोड्नुपर्ने र निजी क्षेत्रका सुझावलाई कानुनी सुधारमा समेट्ने प्रतिबद्धता जनाए ।
  • कार्यक्रममा भोटेकोशी बाढीले लाङटाङ पहुँचमार्ग र आवासमा क्षति पुर्‍याएको र पर्यटन पुनरुत्थानका लागि डिजिटल प्रविधि, एआई र सहयोग कोष आवश्यक रहेको चर्चा भयो ।

११ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताएका छन् ।

४७औं विश्व पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले पर्यटन विकासलाई एउटै मन्त्रालयको प्रयासबाट मात्र अघि बढाउन नसकिने भन्दै सरकारका विभिन्न निकायबीच प्रभावकारी समन्वयमा आफूले निरन्तर जोड दिँदै आएको बताए ।

उनले पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी संस्थाको क्षमता अभिवृद्धि गर्ने सरकारको योजना रहेको जानकारी दिँदै बदलिँदो पर्यटन परिवेश अनुसार संस्थागत क्षमता र सेवा प्रवाह सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री पौडेलले नेपालको मौलिक संस्कृति, परम्परा र समुदायमा आधारित जात्रा तथा पर्वहरू पर्यटनका महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै पुस्तौँदेखि चलिआएका जीवन्त सामुदायिक जात्रा तथा सांस्कृतिक गतिविधि संरक्षण र प्रवर्द्धनलाई पर्यटन विकाससँग जोड्नुपर्ने बताए ।

उनले हिमालयलाई नेपालको मात्र नभई यस क्षेत्रकै पवित्र प्राकृतिक सम्पदाका रूपमा व्याख्या गर्दै हिमालबाट उत्पन्न नदीहरूले यस क्षेत्रका करोडौं मानिसको जीवनयापनमा योगदान पुर्‍याइरहेको उल्लेख गरे । हिमाली सम्पदा संरक्षणसँगै त्यसको दिगो पर्यटन उपयोगमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

मन्त्री पौडेलले विद्यमान कानुन तथा नियमावलीमा देखिएका कमी–कमजोरी सुधार गर्न निजी क्षेत्रबाट प्राप्त सुझाव र प्रतिक्रिया सरकारका लागि महत्त्वपूर्ण हुने बताए । पर्यटन व्यवसाय सञ्चालनको वास्तविक अनुभव निजी क्षेत्रसँग रहेको उल्लेख गर्दै उनले भने, ‘नीति तथा कानुनी सुधारका क्रममा निजी क्षेत्रका सुझावलाई समेट्दै अघि बढ्न सरकार प्रतिबद्ध छ ।’

कार्यक्रममा विश्व पर्यटन दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नाराका रूपमा प्रस्तुत ‘डिजिटल एजेन्डा एन्ड एआई टु रिडिजाइन टुरिज्म’ केन्द्रमा राख्दै नेपालको पर्यटनमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो भूमिकामाथि पनि चर्चा गरिएको थियो ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष पन्तले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रले पाएको गम्भीर पाठलाई डिजिटल प्रविधिको प्रयोगसँग जोड्नुपर्ने धारणा राखे । उनले हालैको भोटेकोशी बाढीका कारण लाङटाङ जाने नियमित पहुँचमार्ग तथा आवास सुविधामा क्षति पुग्दा पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गरे ।

कार्यक्रमका मुख्य वक्ता पाटा फाउन्डेसन अध्यक्ष एन्ड्रयु जोन्सले नेपालको भौगोलिक तथा सांस्कृतिक विविधताको चर्चा गर्दै भोटेकोशी बाढीपछि नेपालको पर्यटन पुनरुत्थानका लागि पाटा फाउन्डेसनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले प्रकृतिमा आधारित पर्यटनलाई सहयोग पुर्‍याउन एआई र डिजिटल मिडियाको भूमिका थप महत्त्वपूर्ण बन्दै गएको बताए ।

अध्यक्ष जोन्सले भोटेकोशी बाढीबाट प्रभावित पर्यटन क्षेत्रका श्रमिक, गाइड, चालक, पोर्टर तथा पर्यटन व्यवसायलाई सहयोग गर्ने उद्देश्यले नेपाल पर्यटन पुनरुत्थान कोषसमेत सञ्चालन गरिरहेको जानकारी गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य तथा प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य अनुष्का श्रेष्ठ, डा. अर्जुनकुमार कार्की र मिङ्माग्याबु शेर्पाले पर्यटनमा प्रविधि प्रयोग, रोजगारी संरक्षण, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुदृढीकरण तथा पर्यटकलाई प्रमाणित र विश्वसनीय सूचना उपलब्ध गराउने विषयमा धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?