+
+
Shares

जडीबुटी संकलन गर्न हुम्ला पुगेका दुई जना अझै सम्पर्कविहीन

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज १२ गते ६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको चंखेली गाउँपालिका–२ बागेढुंगा सामुदायिक वनको मिमि पाटनमा कटुको जडीबुटी संकलन गर्न गएका मुगुका १३ जनामध्ये एक जनाको हिउँमा परेर मृत्यु भएको छ।
  • मुगुम कार्मारोङ गाउँपालिका–९ का ३६ वर्षीय ललितजंग बढुवाल र २६ वर्षीय अंख रोकाय अझै सम्पर्कविहीन छन्।
  • प्रहरीका अनुसार मुगु र हुम्लाबाट खोजी तथा उद्धार भइरहेको छ, तर लगातार हिमपातले कठिनाइ भएको छ।

१२ असोज, सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनको मिमि पाटनमा कटुको जडीबुटी संकलन गर्न गएका मुगुका स्थानीयमध्ये दुई जना अझै सम्पर्कविहीन छन्।

१३ जनाको समूहमा गएका उनीहरूमध्ये सात जना सम्पर्कमा आएका छन् भने एक जनाको हिउँमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ का ३६ वर्षीय ललितजंग बढुवाल र २६ वर्षीय अंख रोकाय रहेका छन्।

उनीहरू अझै सम्पर्कमा नआएको जानकारी गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय मुगुलाई गराएको छ।

मुगुम कार्मारोङ गाउँपालिका–९ पापुका २२ वर्षीय गणेश बुढाको भने हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए।

जडीबुटी संकलन गर्न नदिएपछि फर्कंदा घटना

प्रहरीका अनुसार २८ भदौमा मुगुम कार्मारोङ–९ पापु र छाइलका १३ जना स्थानीय कटुको संकलनका लागि हुम्लाको बागेढुंगा सामुदायिक वन पुगेका थिए।

उनीहरू जडीबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले संकलन गर्न नदिएपछि फर्किएका थिए।

फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र त्यहाँ भारी हिमपात भइरहेकाले खोजी तथा उद्धारमा कठिनाइ भएको डीएसपी थपलियाले बताए।

‘अग्लो हिमाल काटेर आउनुपर्ने र हिउँ धेरै भएकाले सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘हिउँबाट भाग्ने क्रममा एक जनाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।’

१० जना सम्पर्कमा, दुईको खोजी जारी

प्रहरीका अनुसार पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा र ३५ वर्षीय जयबहादुर बढुवाल सम्पर्कमा आएका छन्।

यस्तै छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कमा आएका छन्।

पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा आइतबार बिहान नै सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

वेपत्ता भएको जानकारी पाएलगत्तै मुगु र हुम्लातर्फबाट प्रहरी परिचालन गरिएको डीएसपी थपलियाले बताए।

मिमि क्षेत्र हुम्ला र मुगु दुवै जिल्लाको सीमाक्षेत्रमा पर्ने भएकाले घटनाको वास्तविक अवस्था बुझ्न दुवैतर्फका सुरक्षा निकायले खोजी तथा अनुसन्धान गरिरहेका छन्।

उच्च हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेकाले सम्पर्कविहीन दुई जनाको खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?