+
+
Shares

चार दिनमा नवलपुरको डेढगाउँमा सर्वाधिक ५४४.२ मिलिमिटर वर्षा

१८६ स्टेशनमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन

पछिल्ला चार दिनमा देशका विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी कुल वर्षा रेकर्ड भएको छ । सिमिकोटमा २४ घण्टामै रेकर्डब्रेक वर्षा भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशभरका १८६ वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ, जसमा नवलपुरको डेढगाउँमा ५४४.२ मिलिमिटर वर्षा मापन भएको छ।
  • हुम्लाको सिमिकोटमा २४ घण्टामा ११४.८ मिलिमिटर वर्षा मापन भई सन् १९७८ यताकै उच्च रेकर्ड बनेको छ।
  • लगातार वर्षाका कारण बाढीपहिरोमा देशका विभिन्न जिल्लामा कम्तीमा २१ जनाको मृत्यु, पाँच जना बेपत्ता र पाँच जना घाइते भएका छन्।

१२ असोज, काठमाडौं । पछिल्ला चार दिनमा देशका विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी कुल वर्षा रेकर्ड भएको छ ।

सबैभन्दा धेरै वर्षा नवलपुर (पूर्वी नवलपरासी) को डेढगाउँमा ५४४.२ मिलिमिटर मापन भएको छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार यो विवरण असोज ७ गते बिहान ८:४५ बजेदेखि असोज ११ गते बिहान ८:४५ बजेसम्मको हो ।

नवलपुरको डेढगाउँपछि धेरै वर्षा कास्कीको पञ्चासेमा ५००.२ मिलिमिटर रेकर्ड भएको छ ।

तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर, पाल्पाको तानसेनमा ४५८ मिलिमिटर र स्याङ्जाको पञ्चमूलमा ४३१.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

यसैगरी म्याग्दीको दरबाङमा ३९७.४ मिलिमिटर, चितवनको माडी कल्याणपुरमा ३९६ मिलिमिटर, कपिलवस्तुको मैनारमा ३८८.६ मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा ३६६.६ मिलिमिटर र नवलपुरको देउराली नवलपुरमा ३६५.६ मिलिमिटर वर्षा मापन भएको छ ।

विभागको विवरणअनुसार सोही अवधिमा २३३ वटा वर्षा मापन केन्द्रमा करिब १७५ मिलिमिटरसम्म वर्षा रेकर्ड भएको छ । १८६ वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी पानी परेको छ ।

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमिकोटमा २४ घण्टामै रेकर्डब्रेक वर्षा भएको थियो ।

मौसम तथा जलवायु विज्ञान कार्यालय, सुर्खेतकी प्रमुख डा. इन्दिरा कडेलका अनुसार २०८३ असोज ९ गते बिहान ८:४५ बजेदेखि असोज १० गते बिहान ८:४५ बजेसम्मको अवधिमा सिमिकोटमा ११४.८ मिलिमिटर वर्षा मापन भएको हो ।

यो सन् १९७८ जुन १ देखि सन् २०२६ सेप्टेम्बर २६ सम्मको २४ घण्टा अवधिको सबैभन्दा उच्च वर्षा रेकर्ड हो । यसअघि १९ अक्टुबर २०२१ मा सिमिकोटमा २४ घण्टामा ११० मिलिमिटर वर्षा भएको थियो र त्यसैलाई उच्च रेकर्ड मानिएको थियो ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण गण्डकी र लुम्बिनी प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान मौसमविदहरुले पहिल्यै सार्वजनिक गरेका थिए ।

चार जिल्लामा कम्तीमा २१ जनाको मृत्यु

लगातार वर्षाका कारण नेपालका विभिन्न जिल्लामा बाढी पहिरोले जनधनको क्षतिसमेत पुर्‍याएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ८ गतेदेखि ११ गते साँझ ६ बजेसम्मको विवरण अनुसार देशका विभिन्न जिल्लामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता र पाँच जना घाइते भएका छन् । ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

बागलुङ, पर्वत, मनाङ, नवलपरासी पूर्व, चितवन, पाल्पा, धनुषालगायत जिल्ला र आसपासका क्षेत्रमा बढी प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?