+
+
Shares

कर्णालीमा ५ जिल्लाका सडक अझै अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ९:४५

१२ असोज, सुर्खेत । अविरल वर्षाका कारण कर्णालीका पाँच जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ।

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–४ त्रिवेणी डाँडा र रास्कोट नगरपालिका–८ भात्तडीमा आइतबारदेखि सडक अवरुद्ध भएको छ। पहिरो तथा वर्षाका कारण सडक अवरुद्ध भएको हो।

त्यस्तै, कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन। मुगुको नाग्म–गमगढी सडकखण्डअन्तर्गत छायाँनाथ रारा नगरपालिका–७ ताल्चामा अवरुद्ध सडकसमेत सुचारु हुन सकेको छैन।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ सिस्नेमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भएको सम्बन्धित सडक डिभिजन कार्यालयले जनाएको छ।

यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ अब्बेदुलामा पहिरोका कारण भेरी करिडोर अवरुद्ध भएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।

मौसममा सुधार आउनेबित्तिकै अवरुद्ध सडक खुलाउन आवश्यक काम अघि बढाइने सम्बन्धित सडक डिभिजन कार्यालयहरूले जनाएका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख मुकुन्दप्रसाद रिजालले मौसममा सुधार आउने क्रममा रहेकाले अवरुद्ध सडक खुलाउन आवश्यक समन्वय भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?