+
+
Shares

डीआईजी थपलियाले भने– चोलेन्द्रले सुरक्षा मागेको निवेदन प्राप्त भएको छ

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाले चोलेन्द्रले सुरक्षा मागेको पत्र प्राप्त भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस भएको भन्दै प्रहरीसँग जिउज्यानको सुरक्षा मागेका छन्।
  • काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाले निवेदन प्राप्त भएपछि सुरक्षाको प्रबन्ध मिलाएको बताएका छन्।
  • नेपाल प्रहरीको टोलीले ‘सुरक्षा थ्रेट’को सूचनाका आधारमा जबरालाई शनिबार मध्यरात नियन्त्रणमा लिएर आइतबार अपराह्न छाडेको थियो।

१२ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रहरीसँग जिउज्यानको सुरक्षा मागेको बेहोराको एक पत्र सामाजिक सन्जालमा सार्वजनिक भएको छ ।

यसबारे अनलाइनखबरसँग केही समयअघि कुरा गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एक अधिकृतले चोलेन्द्र शमशेरको पत्र कार्यालयमा प्राप्त नभएको बताएका थिए ।

तर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकै डीआईजी गोविन्द थपलियाले भने पत्र प्राप्त भएको बताए । ‘हिजो बिदाको दिन पत्र प्राप्त भएको हो । बिदा भएकाले केही साथीहरुलाई थाहा नभएको होला । शान्ति सुरक्षाको पत्र प्राप्त भएपछि हामीले सुरक्षाको प्रबन्ध मिलाएका छौं,’ थपलियाले अनलाइनखबरसँग भने ।

चोलेन्द्रको तर्फबाट उनका छोरा सचिन्द्र शमशेर जबराले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई सम्बोधन गरेको निवेदनमा निवास तथा परिवारका सदस्यको सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन आग्रह गरेको बेहोरा छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरामाथि ‘सुरक्षा थ्रेट’को सूचना पाएको भन्दै शनिबार मध्यरात नियन्त्रणमा लिएर आइतबार अपराह्न छाडेको थियो ।

उनी छुटेकै दिनको मिति अर्थात् हिजो आइतबार शान्ति सुरक्षाको निवेदन प्राप्त भएको प्रहरीको भनाइ छ ।

निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका केही विषयका कारण आफ्नो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?