+
+
Shares

ट्रम्पको संकेत : अमेरिका-इरानबीच अप्रत्यक्ष छलफल जारी

इरानले अघि सारेको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई अस्वीकार गरेको भोलिपल्टै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता इरानसँग अमेरिकी वार्ताकारहरूले थप छलफल गर्ने अपेक्षा व्यक्त गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्रम्पले यसै साता इरानसँग अमेरिकी वार्ताकारहरूले थप छलफल गर्ने अपेक्षा व्यक्त गर्दै वार्ताको सम्भावना अझै रहेको संकेत गरेका छन्।
  • इरानले होर्मुज जलमार्ग खोल्न र आणविक वार्ता अघि बढाउन अमेरिकी नौसैनिक नाकाबन्दी र प्रतिबन्ध हटाउनुपर्ने सर्त राखे पनि ट्रम्पले त्यसलाई औपचारिक रूपमा अस्वीकार गरेका थिए।
  • कतारी मध्यस्थकर्ताहरूले दुवै पक्षबीच सटल डिप्लोमेसी जारी राख्दै सोमबारदेखि अर्को चरणको अप्रत्यक्ष वार्ता सुरु हुन सक्ने सम्भावना देखिएको छ।

१२ असोज, काठमाडौं । इरानले अघि सारेको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई अस्वीकार गरेको भोलिपल्टै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता इरानसँग अमेरिकी वार्ताकारहरूले थप छलफल गर्ने अपेक्षा व्यक्त गरेका छन्। आइतबार ‘एक्सियोस’ सँगको टेलिफोन कुराकानीमा ट्रम्पले वार्ताको सम्भावना अझै रहेको संकेत दिएका हुन्।

कतार लगायत क्षेत्रीय मध्यस्थकर्ताहरू अमेरिका र इरानबीच पुनः वार्ता गराउने प्रयासमा लागेका छन्। यद्यपि, मुख्य मुद्दाहरूमा दुवै पक्षबीच अझै ठूलो मतभेद कायम छ। इरानले आफ्नो ध्यान होर्मुज जलमार्ग खोल्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा केन्द्रित गर्न चाहेको छ । ट्रम्प प्रशासनले इरानले आणविक क्षेत्रमा लचकता अपनाउनुपर्ने माग राख्दै आएको छ।

क्षेत्रीय स्रोतहरूका अनुसार दुवै पक्षबीच अर्को चरणको अप्रत्यक्ष वार्ता सोमबार नै सुरु हुन सक्ने सम्भावना छ।

ट्रम्पले एक्सियोससँग भने, ‘मलाई लाग्छ यो साता इरानसँग थप वार्ता हुनेछ। उनीहरू सम्झौता गर्न चाहन्छन्, तर त्यो म गर्न चाहने खालको सम्झौता होइन। उनीहरूले प्रस्ताव गरेको कुरा सायद हामीले एक वर्षअघि स्वीकार गर्थ्यौँ होला। उनीहरूले आफ्नो अवस्थालाई चाहिनेभन्दा बढी आकलन गरे ।’

इरानमाथि पुनः सैन्य हमला वा हवाई आक्रमण गर्ने सोचबारे सोधिएको प्रश्नमा ट्रम्पले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म सधैँ त्यसबारे सोचिरहेको हुन्छु।’

यसैबीच, अमेरिकी सैन्य सुरक्षामा होर्मुज जलमार्गबाट तेलको ढुवानी भने तीव्र पारिएको ट्रम्पले दाबी गरेका छन्। उनले साताको अन्तमा युद्ध सुरु भएयताकै सबैभन्दा बढी करिब २ करोड ब्यारेलभन्दा बढी तेल सो जलमार्ग भएर ओसारपसार भएको बताए। अमेरिकी रक्षा अधिकारीहरूले पनि शुक्रबार राति मात्रै २ करोड २० लाख ब्यारेल तेल निर्यात भएको पुष्टि गरेका छन्।

गत मंगलबार न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाको साइडलाइनमा अमेरिकी दूतहरू स्टिभ विट्कफ र ज्यारेड कुश्नरले इरानी विदेशमन्त्री अब्बास अरागचीसँग अप्रत्यक्ष वार्ता गरेका थिए। कतारी अधिकारीहरूले दुवै पक्षबीच सन्देश आदानप्रदान गर्ने काम गरेका थिए।

इरानले एक साताभित्र होर्मुज जलडमरूमध्य खोल्न र आणविक वार्ता पुनः सुरु गर्नका लागि अमेरिकाले नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, तेल बिक्रीमाथिको प्रतिबन्ध फुकाउनुपर्ने र समग्र क्षेत्रमा युद्धविराम लागू गर्नुपर्ने सर्त राखेको थियो। शनिबार ट्रम्पले यो प्रस्ताव औपचारिक रूपमा अस्वीकार गरेका थिए।

तथापि, कतारी मध्यस्थकर्ताहरूले वार्तालाई जोगाउन ‘सटल डिप्लोमेसी’ जारी राखेका छन्। बिहीबार कतारका प्रधानमन्त्रीले न्युयोर्कमा इरानी राष्ट्रपतिसँग भेटघाट गरेपछि अमेरिकी दूत विट्कफसँग छलफल गरेका थिए। कतारका मध्यस्थकर्ताहरूले इरानको मूल प्रस्तावमा केही संशोधन गरी दुवै पक्षलाई नयाँ मध्यमार्गी प्रस्ताव समीक्षाका लागि बुझाएको बुझिएको छ।

इरानी विदेशमन्त्री अब्बास अरागचीले आइतबार एनबीसीसँग कुरा गर्दै ट्रम्पले प्रस्ताव अस्वीकार गरे पनि इरान अझै कूटनीतिक समाधानको पक्षमा रहेको बताएका छन्।

अरागचीले भने, ‘हामी केवल आफ्नो राष्ट्रिय हितको रक्षा गर्छौँ र वार्ताका लागि सधैँ तयार छौँ। ट्रम्पले प्रस्ताव अस्वीकार गरेको सुनिए पनि हामी मध्यस्थकर्ताहरूमार्फत आउने औपचारिक प्रतिक्रियाको पर्खाइमा छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?