+

मदन भण्डारी कप अन्तर्राष्ट्रिय पुरुष भलिबल आजदेखि सुरु हुँदै

२०८३ असोज  १२ गते १३:१५ २०८३ असोज १२ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि बुटवलमा सुरु हुँदैछ ।
  • असोज १७ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन आज दिउँसो ३ बजे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।
  • प्रतियोगितामा नेपालका पाँच र विदेशी तीन गरी आठ टोली सहभागी हुनेछन् ।

१२ असोज, बुटवल । दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि बुटवलमा सुरु हुँदैछ । प्रतियोगिताअघि सोमबार बिहान बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ट्रफी सार्वजनिक गरिएको हो ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले ट्रफी सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताले बुटवललाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने बताइन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्यका अनुसार प्रतियोगिताको उद्घाटन आज दिउँसो ३ बजे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी पाँच र विदेशी तीन गरी आठ टोलीको सहभागिता रहनेछ ।

नेपालबाट नेपाल पुलिस क्लब, एपीएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । विदेशी टोलीमा भारतका गुजरात स्टेट भलिबल एसोसिएसन, खैरा क्लब पञ्जाब तथा श्रीलंकन पुलिस टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित ७ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र सान्त्वना टोलीले ७५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ ।

यस्तै उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र प्रशिक्षकलाई जनही ८ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

ट्रफी सार्वजनिक कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाह, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष मोहन रेग्मी, गणेश ठगुन्नालगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।

मदन भण्डारी कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय