News Summary
Generated by OK AI. Editorially reviewed.- वासुदेव मुनालले तीन दशकभन्दा लामो समय रेडियो नेपालमा बालकार्यक्रम सञ्चालन गरेर बालसाहित्य र बालगीतलाई लोकप्रिय बनाएका थिए ।
- उनको जीवनीपरक पुस्तक ‘आओ मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ ।’ आगामी मङ्सिरमा बुकहिलबाट प्रकाशन गर्ने तयारी छ ।
अचेल कुनै बच्चाले गीत सुन्न चाहे मोबाइल खोज्छ, कथा वा कार्टुन हेर्न सुन्न मनलागे युट्युबमै रोज्छ ।
इन्टरनेटमा हुर्किरहेको आजको बालपुस्तासँग आफूलाई मन परेका गीत, कथा, कविता वा कार्यक्रम रोज्ने अनगिन्ती विकल्प छन् तर इन्टरनेट आउनुअघिका पुस्ताको बाल्यकालमा यस्तो सुविधा थिएन ।
उनीहरूका लागि गीत, कविता, कथा र नाटक सुन्ने एकमात्र माध्यम रेडियो नेपाल थियो । र ती कार्यक्रमहरू पनि रेडियोमा जुनसुकै बेला आउँदैनथे। समय कुरेर बस्नुपपर्थ्यो ।
टेलिभिजनसमेत सर्वसुलभ नभइसक्दा रेडियोबाट प्रसारण हुने बालकार्यक्रम नै उनीहरूको मनोरञ्जन र कल्पनाको संसार थियो । त्यही संसारमा बालबालिकाले रुचाउने गीत, कथा, कविता र नाटक बोकेर आइपुग्थे, वासुदेव मुनाल।
मुनाल हरेक साँझ बालबालिकालाई रेडियो सेटनजिक बोलाउँथे ‘आओ मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ ! लौ त अब सुरु गरौँ आजको हाम्रो बालकार्यक्रम ।’
बालबालिका रेडियो वरिपरि झुम्मिन्थे । केही आफ्नै रचना रेडियोबाट सुनिने आशामा कान थापेर बस्थे । कविता, नाटकको संसारमा सयर गराउने मुनालको कार्यक्रम बालबालिकामाझ असाध्यै लोकप्रिय थियो ।
रेडियोमा केटाकेटीका लागि हरेक शुक्रबार कविता रेकर्ड गरिन्थ्यो । त्यसैले रेडियो नेपालको प्राङ्गणमा शुक्रबार दर्जनौँ बालबालिकाको रमाइलो जमघट हुन्थ्यो । रेडियो नेपालको गेटबाहिर २–३ कक्षादेखि ९–१० कक्षासम्मका विद्यार्थीहरूको समूह जम्मा हुन्थे । छनोट भएका केटाकेटीले कविताहरू त्यसै दिन वाचन गर्न पाउँथे ।
मुनाल बालबालिकाको मनोविज्ञान बुझेर कार्यक्रम सञ्चालन गर्थे । उनले बालबालिकालाई कार्यक्रमका श्रोतामा सीमित गरेनन्, बरू उनीहरूलाई रेडियोको स्टुडियोसम्म भित्र्याए । बाल कार्यक्रम बालबालिका मात्र नभई अभिभावकसमेतले रुचाउँथे ।
उनका बालकार्यक्रममा तत्कालीन युवराज दीपेन्द्र शाह, कलाकारहरू शर्मिला मल्ल, पूजा चन्द, सुनिता सुब्बा, ममता दीपविम, दीपकराज गिरी, मनोज गजुरेल, दमन रूपाखेती, जितु नेपाल, दीपाश्री निरौलालगायत सहभागी भएका थिए । तत्कालीन बालकार्यक्रममा सहभागी थुप्रैले मुनाललाई आफ्नो गुरुसमेत मानेका छन् ।
मुनालले तीन दशकभन्दा लामो समय बालकार्यक्रम सञ्चालन गरे । ‘हाम्रा शत्रु, ‘पिँ पिँ गर्छ बाजा’, ‘घैँटोमा घाम’ र ‘हराएको हात’ उनका बालसाहित्यिक कृति हुन् । उनले ‘सुनकेस्रा नामको बाल पत्रिका पनि निकाले ।
बाल कार्यक्रम निर्माण तथा बालसाहित्य सिर्जनाका क्रममा मुनाल स्वयं बालबालिकाका साथी बने । रेडियो युगका यी बालसाथी बितेको १२ असोजमा १० वर्ष पुगेको छ । १२ असोज २०७४ मा ६८ वर्षको उमेरमा घाँटीको क्यान्सरका कारण उनको निधन भएको थियो ।
बहुप्रतिभा सम्पन्न मुनाल गायन, सङ्गीत, लेखन र अभिनयमा समेत पोख्त कलाकार–लेखक थिए । उनका लोकगीत, आधुनिक गीत, बालगीत, राष्ट्रिय गीत गरी ३५० भन्दा बढी गीत रेकर्डमा छन् ।
‘झमझम इस्टकोट’, ‘तिम्रो घर चाँचरी’, ‘पानी खाने निहुँले’, ‘भए पनि ठीकै’, ‘दुई एकान दुई’, जस्ता दर्जनौँ चर्चित गीतका सर्जक हुन् उनी । पाण्डव सुनुवारसँगको उनको सहकार्य विशेष चर्चित बन्यो । उनीहरूको ‘झमझम इस्टकोट’, ‘सक्यौ नानी सक्यौ नानी’, ‘सिरु न पाते खुकुरी मेरो’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी..’ जस्ता लोकजीवनसँग नजिक रहेका गीत अझै लोकप्रिय छन् ।
“बाख्रा झर्यो भीरैभीर
भैँसी झर्यो खोला
गोठालाले गाको गीत
नबिर्सनुहोला…”
मुनाललाई रेडियो नेपाल प्रवेश गराउने प्रथम गीत हो यो । सुरुदेखि नै सरल तर झर्रो शब्दका गीतमा उनको रुचि देखिन्थ्यो । उनको पहिलो गीत नै संगीतकार नातिकाजीले मन पराए ।
त्यसपछि नातिकाजीकै आग्रहमा थप गीतहरू रेकर्ड भए । मुनालले रेडियो नेपालमा काम पनि पाए । नातिकाजी, फत्तेमान, नारायणगोपाल, मधु क्षेत्री, पाण्डव सुनुवार, मीरा राणालगायत तत्कालीन समयका स्थापित सर्जकहरुसँग साङ्गीतिक सहकार्य गरे ।
ताप्लेजुङमा जन्मेर उदयपुरको चौदण्डीगढीमा हुर्किएका मुनालको जीवनको महत्वपूर्ण कालखण्ड विराटनगरमा बित्यो । विराटनगरमा साथीहरुसँग मिलेर उनले स्थापना गरेको ‘मुनाल मनोरञ्जनालय तथा गोपीनाथ पुस्तकालय’ अहिले पनि सञ्चालनमा छ । एउटा पुस्तालाई नै प्रभाव पार्ने मुनाल क्लब स्थापनापछि त्यो ठाउँ ‘मुनाल पथ’ नामबाट चिनिन थाल्यो ।
मुनाल क्लबबाट रेडियो नेपालमा छलाङ मारेका उनी मुनाल २०२९ सालदेखि २०६४ सालसम्म रेडियो नेपालमा आबद्ध रहे । २०२९ सालमा रेडियो नेपालको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएका थिए उनी । रेडियो नेपालमा उनले प्रस्तोता हुँदै बालमहाशाखा उपनिर्देशकसम्मको भूमिकामा बसेर काम गरे ।
मुनाल रेडियो प्रवेश गर्ने बेला बालगीत र हास्यगीतको सङ्ख्या न्यून थियो । आफ्ना लेखन र अन्तर्वार्ताहरूमा उनले बालगीत र लोकगीतको भण्डार बढाउन आफू सचेत रुपमै लागेको बताएका छन् ।
‘पानी खाने निहुँले’ उनको यस्तै हास्यशैलीको गीत हो । यो गीतको कथा रोचक रहेको मुनालले लेखेको डायरीमा भेटिन्छ ।
रेडियो नेपालको कोठा नं ६ मा नारायणगोपाल, नातिकाजी, मधु क्षेत्रीलगायत सङ्गीतकर्मी भेला भएको दिन थियो । कसैले मुनाललाई भने, ‘ट्र्याजिक होइन, रोमान्टिक गीत गाउनुस् ।’ नातिकाजीले थपे, ‘हो मुनालजी, आज स्टुडियो पनि खाली छ ।’
मुनाल तत्कालै गीत लेख्न जोसिए र आधा घण्टामा गीतै तयार पारे– ‘पानी खाने निहुँले तिम्रो घरमा आउँला, मौका मिले रानीवनमा घुम्न जाउँला..।’
तत्कालको सिर्जनाबाट जन्मिएको गीत अझै पनि निकै चर्चामा छ । मध्यरातसम्म मदिरा पिएर रमाइलो गरे पनि झिसमिसे बिहानीमा रेडियोको स्क्रिप्ट तयार पारिसक्ने खुबी थियो उनको ।
मुनालको यो विशेषताबारे उनका छोरा मोहित भन्छन्, ‘घरमा सँगै पिएर राति अबेर सुतेका हुन्थ्यौँ, बिहान उठ्दा बुबाको हातमा पूर्ण रुपमा तयार स्क्रिप्ट हुन्थ्यो ।’ मोहितका अनुसार मुनालले ‘कसले माया गर्छ’ एल्बमका ६ गीतमा स्वर, शब्द र गायनसँगै क्यासेट उत्पादनका सम्पूर्ण काम जम्मा तीन दिनमै पूरा गरेका थिए ।
छिटो लेख्न सक्ने खुबीसँगै यसलाई बुबाको आफ्नो कामप्रतिको प्रतिबद्धता र लगावका रुपमा समेत अर्थ्याउँछन् मोहित । आफ्ना बहुविधागत सिर्जनात्मक कर्मले एउटा सिङ्गो पुस्ताकै साझा स्मृतिमा बास पाउन सफल कलाकार हुन् मुनाल ।
रोगले थलिएपछि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत थिए । क्यान्सरसँग जुधिरहेको क्षणमा पनि उनी केही न केही कोरिरहेका हुन्थे ।
जीवनका अन्तिम पलहरूमा समेत कम्तीमा दैनिक एक घन्टा लेख्न आफैँलाई उत्प्रेरित गरिरहे । तर आफ्ना भोगाइ र अनुभूति समेटेर आत्मकथा प्रकाशन गर्ने उनको इच्छा भने अधुरै रह्यो । घाम डुब्ने बेला बालकार्यक्रम लिएर उदाउने मुनालको आवाज आखिरमा अस्तायो ।
मुनालको निधनपछि २०७५ सालमा उनको परिवारले वासुदेव मुनाल स्मृति फाउन्डेसन स्थापना गर्यो । फाउन्डेसनका महासचिव समेत रहेका छोरा मोहितका अनुसार फाउन्डेसनले मुनालका गीतसङ्गीत तथा साहित्यिक कृतिहरुको संरक्षण प्रवर्द्धनका लागि पनि काम गरिरहेको छ ।
यसै क्रममा फाउन्डेसनले मुनालको जीवित छँदै पूरा हुन नपाएको एउटा अधुरो चाहनालाई मूर्त रुप दिँदैछ । त्यो हो, मुनालको आत्मकथा समेटिएको जीवनपरक कृति ‘आओ मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ ।’
मुनालले तीन दशकभन्दा लामो रेडियोकालमा सबैभन्दा दोहोर्याएको वाक्य हो यो । जुन वाक्य मुनालको पहिचान पनि हो । यसकारण पनि मुनालको जीवनीपरक संस्मरणको नाम यही राखिएको मोहितले बताए ।
बुकहिलबाट आगामी मङ्सिरमा प्रकाशनको तयारी गरिएको पुस्तकमा वासुदेव मुनालको बाल्यकालदेखि जीवनका अन्तिम क्षणसम्मका विभिन्न सन्दर्भ समेटिएको छ ।
रासस
प्रतिक्रिया 4