News Summary
Generated by OK AI. Editorially reviewed.- रुस–युक्रेन युद्धमा पक्राउ परेका दुई उत्तर कोरियाली युद्धबन्दी दक्षिण कोरियामा हस्तान्तरण भएको विषय सार्वजनिक भएपछि सोल–किभबीच कूटनीतिक तनाव बढेको छ।
- दक्षिण कोरियाले युक्रेनले गोप्य सम्झौता उल्लङ्घन गरेको भन्दै औपचारिक स्पष्टीकरण र माफी मागेको छ।
- जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको महासभामा परामर्शबिनै हस्तान्तरण भएको बताएपछि युक्रेनले गोपनीयता सम्झौता नभएको दाबी गरेको छ।
१२ असोज, काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा पक्राउ परेका दुई जना उत्तर कोरियाली युद्धबन्दीहरूलाई दक्षिण कोरियामा हस्तान्तरण गरिएको विषय सार्वजनिक भएपछि दक्षिण कोरिया र युक्रेनबीच गम्भीर कूटनीतिक तनाव सिर्जना भएको छ।
युक्रेनले गोप्य राख्ने सम्झौता विपरीत सो खबर सार्वजनिक गरेको कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै पछि त्यस्तो कुनै सम्झौता नै नभएको भन्दै ढाकछोप गर्न खोजेको आरोप लगाएकोमा युक्रेनसँग औपचारिक स्पष्टीकरण र माफीको माग गरेको छ।
दक्षिण कोरियाका सार्वजनिक सम्बन्ध हेर्ने वरिष्ठ राष्ट्रपति सचिव सोङ गि-होले आइतबार जारी गरेको एक वक्तव्यमा युक्रेनको एकपक्षीय कदमप्रति असन्तोष व्यक्त गरेका छन्।
‘सम्झौता उल्लङ्घन गर्दै युक्रेन सरकारले एकपक्षीय रूपमा सूचना सार्वजनिक गरेको र त्यसपछि सम्झौता नै नभएको भनी झूटो दाबी गरेकोमा राष्ट्रपतिको कार्यालय गहिरो खेद व्यक्त गर्दछ। हामी यस विषयमा आधिकारिक स्पष्टीकरण र माफीको माग गर्दछौँ,’ वक्तव्यमा भनिएको छ।
उनले आवश्यकता परेमा दक्षिण कोरिया सरकारले यस विषयमा थप कदमहरूबारे पनि विचार गरिरहेको बताएका छन्।
सचिव सोङका अनुसार, युक्रेनले विभिन्न माध्यमबाट दक्षिण कोरियासँग यी युद्धबन्दीहरूको हस्तान्तरणबारे पटक-पटक छलफल गरेको थियो । युक्रेन आफैँले यस विषयलाई गोप्य राख्न अनुरोध गरेको थियो। युद्धबन्दीहरूलाई दक्षिण कोरिया पठाउँदा आफ्नै रुसको कब्जामा रहेका युक्रेनी सैनिकहरूसँग साट्ने अवसर गुमेको भन्दै युक्रेनभित्रै घरेलु आलोचना हुनसक्ने डर किभलाई थियो।
अर्कोतर्फ, दक्षिण कोरियाले पनि यी युद्धबन्दीहरू तथा उत्तर कोरियामै रहेका तिनका परिवारको सुरक्षा, सुरक्षात्मक संवेदनशीलता र कूटनीतिक असरहरूलाई ध्यानमा राख्दै यो हस्तान्तरण प्रक्रियालाई गोप्य राख्न सहमति जनाएको थियो।
तर, संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसबारे कुराहरू सार्वजनिक गरिदिए । दक्षिण कोरियासँग पर्याप्त परामर्श नै नगरी ती दुई उत्तर कोरियाली सैनिकहरूलाई दक्षिण कोरिया हस्तान्तरण गरिएको कुरा बताए । त्यसपछि युक्रेनी राष्ट्रपतिको कार्यालयले कुनै पनि गोपनीयता सम्झौता नभएको दाबी गरेपछि विवाद अझ चर्किएको हो।
युक्रेनको यो कदमले दुई देशबीचको विश्वासमा गम्भीर धक्का पुऱ्याएको र द्विपक्षीय सम्बन्धमा क्षति पुग्न सक्ने दक्षिण कोरियाली अधिकारीहरूको भनाइ छ।
यसअघि बिहीबार दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङले सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्ट लेख्दै युक्रेनले नन–डिस्क्लोजर एग्रिमेन्टको उल्लङ्घन गरेको बताएका थिए।
उनले लेखेका थिए, ‘यसका सम्भावित परिणामहरूलाई ध्यानमा राख्दा यस विषयलाई सार्वजनिक नगर्नु नै हरेक दृष्टिकोणबाट उपयुक्त हुन्थ्यो र दुवै पक्ष सोहीअनुसार सहमत भएका थिए। गोपनीयता सम्झौताका बाबजुद युक्रेनी पक्षले कुन परिस्थितिमा यो कुरा सार्वजनिक गर्यो मलाई थाहा छैन, तर यो अत्यन्त खेदजनक छ।’
युक्रेनी सेनाले जनवरी २०२५ मा रुसको कुर्स्क क्षेत्रमा ती दुई उत्तर कोरियाली सैनिकहरूलाई नियन्त्रणमा लिएको थियो। सन् २०२४ मा रुसको तर्फबाट युद्धमा भाग लिन पुगेका उत्तर कोरियाली टोलीबाट जीवितै पक्राउ परेका उनीहरू नै पहिलो सैनिक थिए। पक्राउ परेका दुवै सैनिकले उत्तर कोरिया फर्किनुको सट्टा दक्षिण कोरिया जान चाहेको इच्छा व्यक्त गरेपछि हस्तान्तरणको वार्ता सुरु भएको थियो।
सोल र किभबीच यो कूटनीतिक खिचातानी यस्तो समयमा भएको छ जब दक्षिण कोरियाले उत्तर कोरियासँग पुनः संवाद सुरु गर्ने प्रयास गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्योङ्याङसँग सहकार्य गर्ने इच्छा दोहोर्याइरहेका छन्।
प्रतिक्रिया 4