रेविज कुकुर, बिरालो तथा अन्य जंगली जनावरको टोकाइबाट मानिसमा सर्न सक्ने प्राणघातक जुनोटिक रोग हो । घरपालुवा होस् वा सामुदायिक कुकुर, जुनसुकै उमेर तथा शारीरिक अवस्थाका स्तनधारी जनावरवहरूमा यस रोगको संक्रमण हुन सक्छ ।
एकपटक रेविज रोग लागिसकेपछि यसको प्रभावकारी उपचार छैन । तर, समयमै यस रोग विरुद्धको खोप लगाएमा सजिलै बच्न सकिन्छ ।
सन् १८८५ मै वैज्ञानिक लुई पाश्चर ले पहिलो पटक रेविज रोगविरुद्ध खोप आविष्कार गरेका थिए । तर त्यसको डेढ शताब्दीपछि आजका दिनमा समेत खोप लगाउनुपर्छ भन्ने सामान्य ज्ञानको अभावले धेरैमा छ । यही कारण मानिसले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ ।
नेपालमा रेविज रोगका कारण वर्षमा करिब १०० जना भन्दा बढीको मृत्यु हुँदै आएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि हरेक वर्ष करिब ५९ हजार मानिसको रेविज रोगको कारण मृत्यु हुने गरेको छ । ९९ प्रतिशत मृत्यु कुकुरबाट सर्ने रेविज रोगका कारण हुने गरेको तथ्यांकले देखाउँछ । यसमा पनि प्रत्येक १० जना मध्ये ४ जना १५ वर्षमुनिका उबालबालिका रहने गरेका छन् ।
स्वास्थ्य सेवा विभागले प्राथमिक सेवा केन्द्रसम्मका स्वास्थ्य संस्थामा निशुल्क रेविज रोग विरुद्धको भ्याक्सिन उपलब्ध गराउँदै आएको छ । साना उमेरका कुकुरको टोकाइबाट रेविज रोग सर्दैन भन्ने गलत धारणा धेरेमा छ । यही कारण खोप नलगाउने प्रवृत्ति धेरै छ । यस प्रकारको भ्रमले धेरै व्यक्तिहरूमा रेविज रोगको संक्रमण भई अकालमा मृत्युवरण गरेको अवस्था छ ।
अधिकांश केसहरूमा बच्चा कुकुरलाई ढलको पानीबाट उद्धार गर्ने, खाना खुवाउने वा मायाले अपरिचित कुकुरहरूलाई बोक्ने र उनीहरूसँग खेल्ने क्रममा टोकेर वा चिथारेर रेविज सरेको पाइन्छ ।
साथै साना उमेरका बालबालिकालाई रेविज रोग लाग्दैन भन्ने अर्को भ्रम पनि धेरैमा छ । कतिपय अवस्थामा बालबालिकालाई कुकुरले टोकेमा त्यो कुरा उनीहरूले आफ्ना अभिभावकलाई नभन्न सक्छन् । यस्तो अवस्थामा पनि बालबालिकाहरूमा रेविज रोगको जोखिम अझ उच्च रहेको छ ।
हाम्रो नेपाली समाजमा स्वास्थ्य सम्बन्धी समस्या परेमा नजिकैको औषधि पसलमा गई परामर्श लिने चलन छ । यसले गर्दा स्वास्थ्यकर्मी, औषधि विक्रेता तथा परामर्सदाताहरूमा नै रेविज रोग र रोकथामका उपायहरूको बारेमा पर्याप्त ज्ञान दिनु आवश्यक देखिन्छ ।
अत कुनै पनि स्तनधारी जनावहरूले टोके वा चिथोरेमा उक्त ठाउँमा सफा पानी र साबुनले १५ मिनेटसम्म सफा गर्नुपर्छ र नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेविजविरुद्धको खोप लागाउनुपर्छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको रेविज रोकथामसम्बन्धी राष्ट्रिय निर्देशिका,२०१९ का अनुसार अवस्था हेरेर टोकेको घाउमा इम्युनोग्लोबुलिन समेत लगाउनुपर्ने हुन्छ ।
नेपाल सरकारको एक स्वास्थ्य अवधारणा अनुसार प्राथमिकतामा परेको रेविज रोगको नियन्त्रणका लागि समुदायस्तरमै जनचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यक रहेको छ । स्कुलका विद्यार्थीहरू, जनसमुदाय, स्वास्थ्यकर्मी, औषधि विक्रेता, पशुस्वास्थ्यकर्मी लक्षित जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ । घरपालुवा तथा समुदायमा रहेको कुकुरहरूलाई अनिवार्य रेविजविरुद्धको खोप लगाउनुपर्छ ।
विश्व पशु स्वास्थ्य संगठनले सिफारिस गरेको वैज्ञानिक तरिकाबाट कुकुरको तथ्याङ्क संकलन, माइक्रो चिपिङ्ग तथा कुकुरको अनिवार्य दर्ता गरेर मात्रै पाल्ने व्यवस्था हुनुपर्छ । मानवीय तरिकाबाट कुकुरको संख्या नियन्त्रण गर्न कुकुरमा बध्याकरण कार्यक्रम गर्न सकिन्छ ।
साथै प्रभावकारी फोहरमैला व्यवस्थापन गर्नाले वातावरणमा उपलब्ध आहाराको कमीले गर्दा सामुदायिक कुकुरहरू खानाको खोजीमा अन्यन्त्र विस्तापित जाने सम्भावना हुन्छ । हाल समुदायमा रहेका बिरामी, कुपोषण, अपाङ्ग तथा परित्याग गरिएका जनावरहरूलाई स्थानीय तहको पहलमा छुट्टै उद्धार तथा पुनर्स्थापना केन्द्र स्थापना गरी व्यावस्थापन गर्न सकेमा समुदायमा रेविज रोग संक्रमण फैलिने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।
तसर्थ विश्व स्वास्थ्य संगठन, विश्व पशु स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन र ग्लोबल एलायन्स फर रेविज कन्ट्रोलको संयुक्त अन्तर्राष्ट्रिय जिरो बाइ ३०’ अभियानमा सन् २०३० सम्ममा कुकुरबाट मानिसमा सर्ने रेविजका कारण हुने मानवको मृत्युलाई शून्यमा झार्न नेपालको प्रतिबद्धता अनुसार एक स्वास्थ्य अवधारणामा कार्य गर्नु पर्ने दायित्व रहेको छ ।
यसका लागि कुकुरको संख्या, जनघनत्व, स्थानीय तहको प्रतिबद्धता तथा समुदायको आवश्यकताको आधारमा उच्च जोखिममा रहेका कुनै एक नगरपालिकामा एक स्वास्थ्य अवधारणामा रेविज रोग नियन्त्रणका लागि प्रायोगिक परियोजना सञ्चालन गरी कालान्तरमा राष्ट्रव्यापी विस्तार गर्न सकिन्छ ।
जसमा मानव स्वास्थ्य, पशु स्वास्थ्य, वातावरण स्वास्थ्य, स्थानीय सरकार तथा जनसमुदायहरू एकजुट भएर एकीकृत रेविज रोग निगरानी प्रणाली विकास गरी कार्य योजना अनुसार काम गर्नुपर्ने आवश्यक रहेको देखिन्छ ।
प्रतिक्रिया 4