+

क्रिकेटर मनीषा उपाध्याय सम्मानित

२०८३ असोज  १२ गते २०:३१ २०८३ असोज १२ गते २०:३१

१३ असोज, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी मनीषा उपाध्यायलाई ‘स्व. रमा देवी स्मृति क्रिकेट कप’को तर्फबाट ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गर्दै सम्मान गरिएको छ ।

नेपाली महिला क्रिकेटमा पुर्‍याएको योगदान, निरन्तर मेहनत र उत्कृष्ट प्रदर्शनको कदरस्वरूप मनीषालाई क्रिकेट किट प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता निर्देशक राज क्षेत्रीले मनीषालाई क्रिकेट सामग्री हस्तान्तरण गर्दै उत्कृष्ट खेलाडीलाई सम्मान र प्रोत्साहन गर्नु नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान हुने बताए ।

यस अवसरमा अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर तथा प्रतियोगिताका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले खेलाडीको मेहनत र संघर्षलाई सम्मान गर्न सकिए त्यसले आगामी पुस्तालाई समेत प्रेरणा दिने धारणा राखे । उनले स्थानीयस्तरका प्रतियोगिताले नयाँ प्रतिभालाई अवसर प्रदान गर्दै नेपाली क्रिकेटलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए ।

सम्मानपछि मनीषाले आफूले गरेको योगदानको कदर गर्दै गरिएको सम्मानले थप उत्साह र प्रेरणा मिलेको बताइन् । उनले ६० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्राप्त गर्नु आफ्नो खेल जीवनको विशेष क्षण भएको उल्लेख गर्दै आगामी दिनमा नेपाली महिला क्रिकेटका लागि अझ मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

‘स्व. रमा देवी स्मृति क्रिकेट कप’ आगामी अक्टोबर १३ मा अर्घाखाँचीमा आयोजना हुँदैछ । प्रतियोगिताको उद्देश्य स्थानीय क्रिकेटको प्रवर्द्धनसँगै प्रतिभाशाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ ।

मनीषा उपाध्याय
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय