+
+
Shares

थर्सडे स्पेसल : रित्तो जीवन मिठ्याइरहेको प्रेमिल झुट

कथाभन्दा प्रभावशाली छ निर्देशन । भाषा भन्दा सबल छन् दृश्यहरू– जो भावनात्मक गहिराइलाई अझ दर्शनीय बनाउँछन् ।

कञ्चन कञ्चन
२०८३ असोज १३ गते १२:२५

विश्वासघातलाई परिभाषित गर्ने शब्दहरू, तौलने तराजु, झुटको प्रकृति कस्ता कस्ता होलान् ?

यो प्रश्नको जवाफ दिन तपाईंलाई कुनै अल्पविरामको आवश्यकता छैन, यन्त्रवत् दिनचर्याले खिया परेको दिमाग पुछिराख्नु पर्ने लेठो गर्नुपर्दैन । तपाईं खरखर जवाफ दिन सक्नुहुन्छ– आफ्ना विगत ओल्टाईपल्टाई गरेर, अरूको जीवन– अनुभवलाई सापटी लिएर अनि पढेका किताबका हरफ, हेरेका फिल्मका दृश्यलाई उद्धृत गरेर ।

अब एकछिन तपाईंका अनुभवलाई बिर्सिदिऔँ र वरुण टण्डनको २६ मिनेटको सर्ट फिल्म ‘थर्सडे स्पेसल’ को कुरा गरौँ ।

एक निःसन्तान वृद्ध दम्पती छन् । स्वाभाविक रूपले, तपाईं उनीहरूको गृहव्यवस्थामा निर्जनताको ध्वनि सुन्नुहुनेछ । वृद्ध राम (रमाकान्त दायमा) आफ्नो भौतिक जीवन धान्न अफिस धाउँछन्, वृद्धा शकुन्तला (अनुभा फतेहपुरिया) आफ्ना धावन्ती पतिका लागि खाना बनाउने गर्छिन् ।

त्यसइतर उनीहरूको जीवनमा अपूरणीय शून्यता छ, रिक्तताको निस्सीम खाडलले उनीहरूलाई पृथक्–पृथक् क्षेत्रफलमा उभ्याइदिएको छ । मानिस त्यसरी त बाँच्न सक्दैन– सम्बन्धको खोक्रो मान्यतालाई च्यापेर । त्यसैले पत्नीले खाना बनाउनु, पति अफिस जानु अनि साँझ पतिपत्नी मिलेर खानाको प्रशंसा गर्नु उनीहरूको प्रेमलाई टेको लगाउने माध्यम बनेको छ।

हरेक बिहीबारको उनीहरूको एउटा मीठो नियम छ । श्रीमानको कार्यालयमा हुने सामूहिक भोजनका लागि केही न केही खास परिकार तयार पार्नमा उनी असाध्यै रमाउँछिन् । उनी बिहानै उठ्छिन्, पकाउँछिन्, एउटा सरप्राइज परिकारका साथ उनको टिफिन प्याक गर्छिन् । अनि, साँझ पति घर फर्किएपछि पाइने प्रशंसाको प्रतीक्षा गर्छिन् । उनीहरूलाई भोजनले जोडेको छ भन्न सकिन्छ, तर वास्तवमा उनीहरूलाई त्योभन्दा पनि कुनै अदृश्य र गहिरो कुराले जोडेको छ । त्यो हो शोक।

वियोग र त्रासदीले थिचेको जीवनमा यो साप्ताहिक नियमले उनीहरूलाई हप्ताको एक दिन राहत र साना–साना खुसीहरू दिने गर्छ ।

यही सिलसिलामा एउटा मोड आउँछ । औपचारिक प्रशंसाको ‍पर्दा झर्छ । शरीर अवस्थ हुँदाहुँदै उनले बनाएर पठाएका परिकार उपेक्षित रूपमा अफिसमै राखिएको भेटिन्छ । अनि भेटिन्छन् उनका पति नजिकैको रेस्टुरेन्टमा, जहाँ उनी वर्षौंदेखि माछाको परिकार खाइरहेका हुन्छन् । वर्षौंदेखि को झुटको पटाक्षेप हुन्छ । यो सहन पत्नलाई एकदमै गाह्रो हुन्छ । रित्तो इनारजस्ता पत्नीको आँखामा आँसु आउँछ ।

त्यसोभए हरेक बिहीबार तपाईं त्यहीँ जाने गर्नुहुन्थ्यो ?

शकुन्तलाको यो प्रश्न अति नै कोमलताका साथ ओठबाट ओर्लिन्छ । तर यसमा मार्मिक प्रहार छ । उनी यो असत्यलाई कसरी पक्रिन्छिन् र असत्यको साक्षात्कारपछि के हुन्छ त ? यसका लागि तपाईंले फिल्म नै हेर्नुहोला ।

फिल्मको कथा सामान्य छ, एकदम सामान्य–केही क्रियापदमै टुंग्याउन सकिने । तर कथाभन्दा प्रभावशाली छ निर्देशन । भाषा भन्दा सबल छन् दृश्यहरू– जो भावनात्मक गहिराइलाई अझ दर्शनीय बनाउँछन् । पात्रहरूको भूमिका जत्तिकै ‘वाचाल’ छन्, नेपथ्यका क्यामेराहरू ।

कलर ग्रेडिङले यो दम्पतीलाई परम्परागत वैवाहिक जीवनभित्र पिल्सिएर कैद भएजस्तै देखाउँछ । पर्दामा उनीहरूको जीवनको वास्तविकता देखिन्छ– मानौँ उनीहरूलाई आफ्नो घरका चौघेराभन्दा बाहिर आफ्नो एकाकीपन पोख्ने कुनै स्वतन्त्रता नै छैन । दृश्यहरू, मौनता र भंगिमाभित्रै यति धेरै अर्थहरू लुकेका छन् कि एकाध एक्सपोजिसन बिझाउँछन् ।

जस्तो फिल्मको सुरुवातमै जब राम कार्यालय जानुअघि ‘उनीहरू दुर्घटनामा बितेको त हिजैजस्तो लाग्छ’ भन्छन् । तर अन्य दृश्यहरूझैँ त्यो जानकारीलाई पनि स्वतःस्फूर्तता दिएको भए हुन्थ्यो कि जस्तो अनुभूति हुन्छ ।

अब हामी पहिलेकै प्रश्नमा फर्कियौँ। तपाईंका आफ्ना उत्तर होलान् । तर ‘थर्सडे स्पेसल’ को परिभाषा यस्तै हुनुपर्छ– कहिलेकाहीँ विश्वासघात भन्नु कुनै तेस्रो व्यक्तिको आगमन मात्र होइन, आफ्नै सम्बन्धभित्र आफू पराइ हुनु पनि हो ।

‘थर्सडे स्पेसल’ का अन्तिम क्षणहरू आशावादी देखिन्छन् । असल वा खराब जे भए पनि जीवनको एउटा पाना पल्टिएको छ । ६० कटेको यो दम्पतीले सामाजिक अन्तर्क्रियामा भन्दा पनि मौन आत्मीयतामा शरण खोज्नु एकदमै सान्दर्भिक लाग्छ ।

कुरा गरौँ कलर ग्रेडिङको । महक गुप्ताको सूक्ष्म कलर ग्रेडिङले ‘भिजुअल मेटाफोर’ को रूपमा उज्यालो र जीवन्त रङहरूको प्रयोग गरेको छ । जसले भान्साको न्यानोपन र शरद ऋतुजस्तो वातावरणबीचको वैषम्यलाई स्पष्टसँग उतारेको छ ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?