+
+
Shares

विश्वब्यापी रिलिजअघि हलिउड फिल्म ‘तेन्जिङ’ को काठमाडौंमा विशेष प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १३:१७

काठमाडौं । प्रविधि कम्पनी एप्पलले निर्माण गरेको प्रतीक्षित हलिउड फिल्म ‘तेन्जिङ’ लाई नेपालमा प्रिमियर गरिएको छ । सोमबार साँझ बेलायती दूतावासले विशेष शो आयोजना गरेको थियो ।

क्यूएफएक्सको सिभिल मलस्थित मल्टिप्लेक्समा आयोजित शोमा प्रतिनिधिसभाका सांसद, बेलायत, अमेरिका, युरोपेली मुलुकका कूटनीतिज्ञ, सेलिब्रेटी, फिल्मकर्मी, पर्वतारोहण क्षेत्रका अगुवा, फिल्मका निर्माता, निर्देशक तथा कलाकार सहभागी थिए ।

अभिनेत्री मनीषा कोइराला पनि सहभागी थिइन् । ‘तेन्जिङ’ अभिनेत्री थिन्ले ल्हामो पनि थिइन् ।

सो अवसरमा निर्देशक जेनिफर पिडमसहित न्यूजिल्यान्डको फिल्म निर्माण कम्पनी सी-स फिल्म्स्का प्रतिनिधि सहभागी थिए । शोबाट संकलित रकम बाढी प्रभावितको राहतको लागि सरकारले स्थापना गरेको दैवीप्रकोप उद्वार कोषमा जम्मा गरिने बेलायती दूतावासले जनाएको छ ।

२ घण्टा रनटाइमको फिल्मले यो विशेष शोमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो । नेपालको सगरमाथा क्षेत्र, पाटन, बन्दीपुर, मुस्ताङ लगायतका ठाउँमा खिचिएको यो फिल्ममा संलग्न नेपाली प्राविधिक पनि विशेष शो सहभागी थिए । लोकेसन म्यानेजर तथा छायांकार विष्णु कल्पित पनि उक्त अवसरमा सहभागी रहे ।

यो फिल्मले सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले गरेको ऐतिहासिक सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहणको कथा भन्छ । फिल्मले मुख्य पात्र तेन्जिङ नोर्गे (गेन्डेन फुन्ट्सोक)को जीवन यात्रालाई पछ्याउँछ । कसरी, उनी बेलायती पर्वतारोहण टोलीमा सामेल भएर कुशलतापूर्वक पर्वतीय आरोहणको नेतृत्व गरे भन्ने साहसी र प्रेरणादायी कथा फिल्मले पेश गर्छ ।

फिल्ममा फुन्टसोकले तेन्जिङको भूमिकालाई गजबले चित्रण गरेका छन् । थिन्लेले नोर्गेकी पत्नीको रोल गरेकी छन् । एडमन्ड हिलारीको भूमिकामा टम हिडल्स्टन, पर्वतारोहण टोलीका नेताको रोलमा विलियम डाफोले अभिनय गरेका छन् ।

यो फिल्म गतसाता टोरन्टो फिल्म फेस्टिभलमा समेत प्रिमियर भएको थियो । अक्टोबर ९ मा बेलायत र अमेरिकाका सीमित हलमा प्रदर्शन हुने जनाइएको छ । १६ अक्टोबरदेखि एप्पल टिभीमा प्रदर्शन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?