१३ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले नेपालका सबै विश्वविद्यालयहरूलाई समेट्ने गरी ‘छाता ऐन’ ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्तावउपरको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
साथै, उनले विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता र यसको कार्यक्षेत्रलाई लिएर प्रश्न उठाए ।
उनले विश्वविद्यालयहरूलाई छुट्टाछुट्टै विधेयकबाट सञ्चालन गर्ने परिपाटीले प्राज्ञिक क्षेत्रमा अन्योल सिर्जना गरेको पनि बताए ।
साथै, दुलालले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापनाको उद्देश्य र यसको व्यावहारिक सञ्चालन ढाँचाबारे संशय व्यक्त गरे । उनले विश्वविद्यालयले प्राज्ञिक स्वतन्त्रता गुमाए यो केवल एउटा साधारण महाविद्यालयमा सिमित हुने र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा खरो उत्रन नसक्ने जिकिर गरे ।
‘राष्ट्रिय सुरक्षा र सामरिक महत्वको विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने भनिए पनि यो विश्वविद्यालय कहीँकतै सैनिक मुख्यालयको एउटा अङ्ग जस्तो त हुने होइन ?,’ दुलालले भने, ‘हामीले अझै पनि विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रले नेतृत्व गर्ने थलोका रूपमा विकास गर्न सकेका छैनौँ । यदि विश्वविद्यालयको स्वायत्तता सुनिश्चित हुँदैन भने यो भद्दा संरचनाले नयाँपन दिन सक्दैन ।’
दुलालले विश्वविद्यालयको नाममा ‘साँघुरो घेरा’ भित्र बसेर अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने लक्ष्य पूरा हुन नसक्ने भन्दै विधेयकलाई परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया 4