+
+
Shares

ट्रम्प-सी भेटवार्ता : चीन र अमेरिकाले के कुरा लुकाए, के सार्वजनिक गरे ?

यस भेटवार्तापछि दुई देशबीच संवाद बढेको देखिएको छ । तर तत्कालका लागि ठूला निर्णयमा भने ठूलो परिवर्तन देखिएको छैन । आधुनिक प्रविधिदेखि ताइवानसम्म दुई देशबीचका प्रमुख विवादित विषय अझै समाधान भएका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते २०:३१

चीनले सोमबार गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको भेटवार्तामा भएका सहमतिबारे थप जानकारी सार्वजनिक गरेको छ ।

यसबाट भेटवार्ताका केही ठोस परिणामबारे जानकारी भएको छ । तर दुवै देशले संयुक्त वक्तव्य जारी गरेनन् र वार्ताबाट कुनै ठूलो उपलब्धि पनि हासिल भएन ।

बरु दुवै सरकारले भेटवार्ताको आ–आफ्नो विवरण सार्वजनिक गरे ।

यसले ह्वाइट हाउसको भ्रमण र सम्बन्धमा न्यानोपन ल्याउने प्रतिबद्धताका बाबजुद वासिङ्टन र बेइजिङ अझै एकअर्काप्रति सतर्क रहेको संकेत गर्छ ।

यस वार्ताबारे चारवटा कुरा सार्वजनिक भएका छन् । यद्यपि, केही प्रश्नको जवाफ अझै स्पष्ट भएको छैन ।

एआईबारे नयाँ वार्ता गर्ने सहमति

बेइजिङका अनुसार चीन र अमेरिका कृत्रिम बौद्धिकता (एआई) बारे नयाँ चरणको वार्ता सुरु गर्न सहमत भएका छन् । यस विषयमा अर्को बैठक नोभेम्बरको अन्त्यमा हुनेछ ।

दुवै देश आधुनिक एआई विकासमा प्रतिस्पर्धा गरिरहेका छन् ।

एआईको प्रयोग व्यापारदेखि सैन्य योजना निर्माणसम्म बढिरहेको छ । यस्तो अवस्थामा नयाँ वार्ताले दुवै देशले यस प्रविधिका लागि केही सुरक्षा सीमा निर्धारण गर्नुपर्ने आवश्यकता महसुस गरेको संकेत गर्छ ।

दुवै देश एआईसँग सम्बन्धित घटनाबारे एकअर्कालाई जानकारी दिन सम्पर्क संयन्त्र बनाउन पनि सहमत भएका छन् ।

यसको उद्देश्य कुनै गलत बुझाइ वा अचानक भएको घटनाका कारण दुई देशबीच ठूलो टकराव नहोस् भन्ने हो ।

भेटवार्तालाई नियालिरहेका मानिसहरू एआईबारे कुनै सहमति हुन्छ कि हुँदैन भन्नेमा चासो राख्दै आएका थिए ।

यसको एउटा कारण एन्थ्रोपिकजस्ता अमेरिकी कम्पनीहरूले एआई विकासको गति सुस्त बनाउनुपर्ने माग गरिसक्नु पनि हो ।

यसैबीच, ओपनएआईले अस्ट्रेलियालगायत देशका सरकारी वेबसाइटमा अनुमति नलिई पहुँच बनाएको र अमेरिकाका केही सरकारी निकायका वेबसाइटमा समेत ‘हस्तक्षेप’ गरेको दाबी सार्वजनिक भएका छन् ।

व्यापारिक सहमति बढ्यो, तर धेरै प्रश्न बाँकी

चीनको सरकारी सञ्चारमाध्यमले सोमबार पहिलोपटक दुवै देशबीच भएको अस्थायी व्यापारिक सहमति जनवरी १० सम्म बढाइएको पुष्टि गरेको छ ।

यो छोटो अवधिको विस्तारले यस वर्षको अन्त्यमा हुने दुई ठूला अन्तर्राष्ट्रिय कार्यक्रममा दुवै नेता पुन: भेट्ने तय भएको छ ।

ट्रम्प नोभेम्बरमा चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

त्यस्तै, सी चिनफिङ डिसेम्बरमा जी-२० शिखर सम्मेलनका लागि मियामी जानेछन् ।

विश्वका दुई ठूला अर्थतन्त्रका नेताहरूको यति छोटो अवधिमा पटक–पटक भेट हुनु सामान्य होइन ।

चीनले व्यापारिक सहमति अझ लामो अवधिका लागि विस्तार गर्न चाहेको थियो । त्यसैले दुई महिनाको यो विस्तारलाई ठूलो उपलब्धिभन्दा सीमित सहमतिका रूपमा हेरिएको छ ।

चीनले अमेरिकातर्फ निर्यात हुने ३० अर्ब डलर बराबरका सामानमा लाग्ने महसुल घटाउन सफलता पाएको छ । यसको बदलामा चीनले पनि अमेरिकी सामानमा महसुल घटाउने अपेक्षा गरिएको छ ।

अमेरिका निर्यात हुने चिनियाँ खेलौना, साना घरेलु उपकरण र क्रिसमस सजावटका सामग्रीमा अब कम महसुल लाग्नेछ ।

ट्रम्प प्रशासनले चीनले सन् २०२७ र २०२८ मा हरेक वर्ष कम्तीमा एक करोड मेट्रिक टन कोइला खरिद गर्ने पनि जनाएको छ ।

तर सहमतिमा समावेश विषयभन्दा बढी ध्यान उल्लेख नै नगरिएका मुद्दामा गएको  छ ।

अमेरिकालाई चीनबाट आपूर्ति हुने दुर्लभ खनिजको निर्यात बढाउनेबारे कुनै सहमति भएन ।

त्यस्तै, आधुनिक अमेरिकी सेमिकन्डक्टरमा लगाइएको प्रतिबन्ध खुकुलो पार्ने कुनै संकेत पनि देखिएन ।

अमेरिकाले ताइवानको उल्लेख गरेन, चीनले गर्‍यो

ह्वाइट हाउसले जारी गरेको विवरणमा ताइवानको उल्लेख थिएन । तर चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि यो विषय स्पष्ट रूपमा महत्वपूर्ण थियो ।

चीनले सार्वजनिक गरेको भेटवार्ताको विवरणअनुसार सीले ट्रम्पलाई अमेरिकाले औपचारिक रूपमा ताइवानको स्वतन्त्रताको विरोध गर्नुपर्ने र यस विषयमा सावधानीपूर्वक अघि बढ्नुपर्ने बताएका थिए ।

मे महिनामा भएको दुवै नेताको अघिल्लो भेटपछि ट्रम्पले सीले आफूलाई चीनले ताइवानमाथि हमला गरे अमेरिकाले उसको रक्षा गर्छ कि गर्दैन भनेर सोधेको बताएका थिए ।

ट्रम्पले पत्रकारहरूसँग भनेका थिए, ‘यसको जवाफ केवल एक व्यक्तिलाई थाहा छ र त्यो म हुँ ।’

उनले ताइवानको विषयमा युद्ध लड्न अमेरिकी सेना ‘९ हजार ५०० माइल टाढा जानु’ उचित हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उठाएका थिए ।

तर यसपटक ट्रम्पले यस विषयमा निकै कम जानकारी दिए ।

सप्ताहान्तमा पत्रकारहरूसँग उनले भने, ‘हामीले यसबारे धेरै कुरा गरेनौँ ।’

ट्रम्पले भने, ‘अहिले सबै ठीक छ । कुराहरू आफ्नै ढंगले अघि बढिरहेका छन् । उहाँलाई यस विषयमा म के सोच्दछु भन्ने राम्ररी थाहा छ ।’

यस विषयमा ट्रम्पको मौनता महत्वपूर्ण हुन सक्छ ।

ट्रम्पले यसअघि ताइवानका लागि प्रस्तावित १४ अर्ब डलरको अमेरिकी हतियार प्याकेजलाई चीनसँगको वार्तामा ‘धेरै राम्रो सौदाबाजीको माध्यम’ भनेका थिए ।

यो हतियार प्याकेज केही महिनादेखि रोकिएको छ ।

यस विषयमा त्यतिबेला थप अन्योल सिर्जना भयो, जब चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्युले फक्स न्युजसँगको कुराकानीमा शिखर सम्मेलनका क्रममा ट्रम्पले सीलाई हतियार बेच्ने प्रस्ताव गरेको बताएका थिए ।

पछि अमेरिकी विदेश मन्त्रालयले चीनलाई अमेरिकी कानुनअनुसार हतियार बेच्न नमिल्ने र त्यस्तो कुनै योजना नरहेको स्पष्ट पारेको थियो ।

चीनले स्वशासित ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ ।

अमेरिकालगायत विश्वका अधिकांश देशले ताइवानलाई स्वतन्त्र देशका रूपमा मान्यता दिएका छैनन् ।

तर वासिङ्टनले ताइवानमाथि बल प्रयोग गरेर नियन्त्रण कायम गर्ने कुनै पनि प्रयासको विरोध गर्दै आएको छ । अमेरिकाले ताइवानलाई हतियार उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउँदै आएको छ ।

के चीन विदेशी लगानीका लागि ढोका खोल्दैछ ?

चीनले अमेरिकाको समर्थनमा रहेका बैंक, लगानी कम्पनी र बिमा कम्पनीलगायत थप विदेशी वित्तीय संस्थालाई देशमा कारोबार गर्न र कार्यालय खोल्न आवेदन दिने अनुमति दिने जनाएको छ ।

यद्यपि, उनीहरूका आवेदनलाई चीनका कानुन र नियमअनुसार मात्रै स्वीकृति दिइनेछ ।

यही अन्तिम कुरा महत्वपूर्ण छ । चीनले ढोका खोलिरहेको भए पनि कसलाई प्रवेश दिने भन्ने निर्णय भने उसकै हातमा रहनेछ ।

विदेशी वित्तीय कम्पनीहरूले लामो समयदेखि चीनमा नियमगत अवरोध, अनुमति लिनुपर्ने प्रक्रिया र देश छाड्न प्रतिबन्ध लाग्न सक्ने जोखिमका कारण व्यवसाय विस्तार गर्न कठिन भएको गुनासो गर्दै आएका छन् ।

प्राविधिक रूपमा बजारमा कारोबार गर्ने अनुमति पाएपछि पनि उनीहरूले यस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ ।

बेइजिङले चीन र अमेरिकाबीच उडानको संख्या बढाउने उपायबारे छलफल भइरहेको पनि जनाएको छ । तर यो कसरी हुनेछ भन्नेबारे दुवै पक्षले जानकारी दिएका छैनन् ।

चीनले विश्वका ७५ भन्दा बढी देशका नागरिकलाई बिनाभिसा प्रवेशको सुविधा दिइसकेको छ। तर अमेरिकी नागरिकले भने अझै यस्तो सुविधा पाएका छैनन् ।

अर्कोतर्फ, अमेरिकी विदेश मन्त्रालयले चीन भ्रमणका लागि अझै ‘लेभल–२’ अर्थात् सावधानी अपनाउनुपर्ने श्रेणीको यात्रा सुझाव कायम राखेको छ ।

यसको अर्थ चीन जाने मानिसलाई थप सावधानी अपनाउन सुझाव दिइएको हो ।

अमेरिकाले यसको कारण कानुनको मनोमानी कार्यान्वयन, मानिसलाई देश छाड्न रोक लगाइने सम्भावना र हिरासतमा लिइन सक्ने जोखिमलाई बताएको छ ।

यसरी दुवै देश व्यापार र यात्रालाई विस्तार गर्ने कुरा गरिरहेका छन् । तर बाटोमा रहेका केही ठूला अवरोध भने अझै यथावत् छन् ।

भेटवार्ताबाट के थाहा भयो ?

यस भेटवार्तापछि दुई देशबीच संवाद बढेको देखिएको छ । तर तत्कालका लागि ठूला निर्णयमा भने ठूलो परिवर्तन देखिएको छैन ।

आधुनिक प्रविधिदेखि ताइवानसम्म दुई देशबीचका प्रमुख विवादित विषय अझै समाधान भएका छैनन् ।

यद्यपि, दुवै नेताका लागि यस्तो परिणाम नयाँ होइन ।

दुवै देश संवादका नयाँ माध्यम बनाउने प्रतिबद्धता जनाउँछन् । आर्थिक विषयमा केही–केही सहुलियत दिन्छन् र सम्बन्धलाई स्थिर राख्न विभिन्न प्रस्ताव अघि सार्छन् ।

दुवै नेता सम्बन्धमा स्थिरता कायम राख्न चाहन्छन् । तर अमेरिका र चीनका लागि संवाद जारी राख्नु तुलनात्मक रूपमा सहज भए पनि कुनै पनि महाशक्तिलाई महत्वपूर्ण सम्झौताका लागि तयार पार्नु निकै कठिन काम हो । –बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?