रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले परमाणु अप्रसार सन्धि (एनपीटी) बाट इरान बाहिरिन नहुने बताएको छ ।
बीबीसी फारसीका अनुसार, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले इरानी अधिकारीहरूले तेहरान एनपीटीबाट बाहिरिन सक्ने सम्भावना व्यक्त गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
एनपीटीले इरानलाई परमाणु हतियार विकास वा प्राप्त गर्नबाट रोक्छ । इरान सन् १९६० देखि यो सन्धिको सदस्य रहँदै आएको छ ।
मंगलबार इरानी संसद्का उपाध्यक्ष अली निकजादले संसद्ले इरानलाई एनपीटीबाट बाहिर निकाल्ने तीन चरणको योजनामाथि विचार गर्ने बताएका थिए ।
‘हामीलाई अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) र यसका वर्तमान महानिर्देशकप्रति बिल्कुलै विश्वास छैन । उनीहरू केवल औपचारिक भ्रमण गर्छन् र इरानविरुद्ध नकारात्मक प्रतिवेदन प्रस्तुत गर्छन्,’ इरानी सञ्चारमाध्यमका अनुसार निकजादले भनेका थिए, ‘यस योजनाको समीक्षा गर्नुका साथै संसद्ले यसका अन्तर्राष्ट्रिय पक्षबारे पनि समीक्षा गर्नेछ ।’
क्रेमलिनका प्रवक्ता पेस्कोभले इरानको धारणामा थप स्पष्टता आवश्यक रहेको बताएका छन् । उनले भने, ‘हामी एनपीटीलाई परमाणु अप्रसार व्यवस्थाको आधार मान्छौँ । हामी आशा गर्छौँ कि इरान यो सन्धिको महत्वपूर्ण र जिम्मेवार सदस्यका रूपमा रहनेछ ।’
यसअघि सोमबार इरान सरकारका ३० भन्दा बढी पूर्वअधिकारीले खुला पत्र जारी गर्दै इरानलाई एनपीटीबाट बाहिरिन आग्रह गरेका थिए ।
पत्रमा हस्ताक्षर गर्नेहरूमा पूर्वउपराष्ट्रपति र पूर्वमन्त्रीहरू पनि छन् । उनीहरूले एनपीटीको सदस्यका रूपमा रहिरहनु ‘देशको हितमा नरहेको’ बताएका छन् ।
प्रतिक्रिया 4