१४ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले प्रविधि क्षेत्रका प्रमुख व्यक्तिहरूसँगको छलफलपछि एआई प्रणालीको नियमन, समीक्षा र पारदर्शिताका लागि एक स्वैच्छिक सम्झौता (एकर्ड) मा सहमति भएको घोषणा गरेका छन्। यस सम्झौताले एआई प्रविधिको सुरक्षा र जोखिम नियन्त्रणको मुख्य जिम्मेवारी सम्बन्धित कम्पनीहरूलाई नै सुम्पेको छ।
मुख्य एआई कम्पनीहरूले फ्रन्टियर मोडलहरूको तालिम तथा सञ्चालनका क्रममा आन्तरिक जोखिम समीक्षा, बाह्य अडिट र बहुस्तरीय नियन्त्रण प्रणाली अपनाउन सहमति जनाएका छन्। ट्रम्पले यो सम्झौतालाई ‘नैतिक रूपमा बाध्यकारी’ (मोरली बाइन्डिङ ) भन्दै कम्पनीहरूले एक-अर्काको निगरानी गर्ने बताएका छन्।
ट्रम्पले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) शब्दलाई परिवर्तन गरी ‘सुपर इन्टेलिजेन्स’ (एसआई) नामाकरण गर्ने घोषणा गरेका छन्। उनले ‘इनअग्युरेटिङ द एरा अफ सुपर इन्टेलिजेन्स’ नामक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकी सरकारी निकायहरूमा एआईको सट्टा ‘एसआई’ प्रयोग गर्न निर्देशन दिएका छन्। ट्रम्पका अनुसार यो प्रविधि इन्टरनेटभन्दा पनि ठूलो छ।
ह्वाइट हाउसमा भएको उक्त बैठक अघि नै एन्थ्रोपिक, ओपनएआई र गुगल जस्ता अग्रणी एआई ल्याबहरूले प्रविधिको परीक्षण र अडिटिङमा सहकार्य गर्न आन्तरिक ढाँचामा काम गरिरहेका थिए।
एआई क्षेत्रका केही विशेषज्ञहरूले सरकारी नियमनको अभावमा कम्पनीहरूकै भर पर्ने स्व-नियमनको नीतिले हाल देखिएका सुरक्षा चुनौतीहरू पूर्ण रूपमा समाधान गर्न नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
आगामी ३ देखि ४ दिनभित्र नयाँ ‘एआई जार’ को चयन गर्ने ट्रम्पको योजना छ, जसका लागि राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनको नाम अगाडि सारिएको छ।
प्रतिक्रिया 4