१४ असोज, काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकासको जिम्मा निजी क्षेत्रलाई दिएर सरकारले केवल सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा नेपाली कांग्रेसका नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ नामक दुई पुस्तकको संयुक्त विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
सबै काम सरकार आफैँले गर्ने परम्परागत सोचका कारण देशले अपेक्षित गति लिन नसकेको भन्दै उनले पूर्वाधार विकास र लगानीको नेतृत्व निजी क्षेत्रलाई दिनुपर्नेमा जोड दिए। यसका लागि लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुनहरूमा तत्काल संशोधन आवश्यक रहेको उनले औँल्याए।
देशको अर्थतन्त्र मूलतः आयातबाट उठ्ने राजस्वमा मात्र निर्भर रहेको भन्दै नेता पाण्डेले सरकारी ढुकुटीको अधिकांश हिस्सा नियमित तथा प्रशासनिक खर्चमै सकिने गरेको यथार्थ प्रस्तुत गरे।
कर्मचारीको तलब, निवृत्तभरण (पेन्सन), सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी र प्रदेश तथा स्थानीय तहमा गरिने वित्तीय हस्तान्तरणमै सरकारको ठूलो रकम खर्च हुने भएकाले विकास निर्माणका लागि बजेट नै अपुग हुने उनको भनाइ छ।
‘हाम्रो अर्थतन्त्र आयातित राजस्वमा टिकेको छ। अर्बौँ रुपैयाँ तलब, पेन्सन र ऋणको साँवा–ब्याज भुक्तानीमै जान्छ, जसले गर्दा सरकारले विकासका लागि मुस्किलले मात्र खर्च गर्न पाउँछ,’ नेता पाण्डेले भने, ‘त्यसैले आर्थिक विकासको बाटोमा सरकारले सहजीकरण मात्र गर्ने हो, नेतृत्व आफैँ गर्ने होइन भन्ने यथार्थबोध नभएसम्म मुलुक अगाडि बढ्न सक्दैन।’
साथै, उनले आर्थिक समृद्धिविना सामाजिक न्यायको प्रत्याभूति सम्भव नहुने दाबी गरे। सामाजिक न्याय आफैँमा महत्त्वपूर्ण भए पनि त्यसलाई कार्यान्वयन गर्न बलियो आर्थिक आधार चाहिने भन्दै उनले आर्थिक वृद्धि र प्रतिफललाई पहिलो प्राथमिकतामा राखेर विकासको नीति तय गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया 4