कुनै बच्चाहरूको ध्यान धेरै भड्किरहन्छ । एकैछिनमा एकातिर ध्यान दिइरहेको बच्चा तत्कालै अर्कोतिर ध्यान पुर्याइरहेको हुन्छ । यही बानीका कारण तत्काल जे गरिरहेका छन् वा जे गर्नुपर्ने हो, त्यसबाट उनीहरूको ध्यान अन्यत्र पुगिरहेको हुन्छ । कुनै आवश्यक नभएका कुरामा पनि उनीहरू विशेष ध्यान दिइरहेका हुन्छन् ।
साना–साना घटना, वस्तु तथा विवरणहरूमा उनीहरू तत्काल केन्द्रित भइहाल्छन् ।
आफ्नो बच्चाको यस्तो बानी देखेर कतिपय अभिभावकहरू चिन्तित पनि भइरहेका हुन्छन् । चाहिने कुरामा ध्यान लगाउँदैन, बढी चकचके छ वा अनावश्यक कुरामा अल्झिन्छ भनेर गाली पनि गर्नेगर्छन् ।
बच्चाले लगातार अनेक प्रश्न सोधिरहँदा, एउटै कुरामा ध्यान केन्द्रित गर्न नसकेको देख्दा वा उनीहरूको बढी चञ्चलता देखेर आमाबुबाले दिक्क पनि मान्ने गर्छन् । तर, यदि तपाईंको पनि यस्तै बुझाइ छ भने त्यो गतल हो ।
ओहायो स्टेट युनिभर्सिटीका मनोवैज्ञानिकहरूले गरेको एउटा अध्ययनले यसको कारण खुलाएको छ ।
यस अनुसन्धानका अनुसार, बच्चाको ध्यान भड्किनु तथा भौंतारिनु अनुशासनहीनताको लक्षण होइन, यो स्वाभाविक प्रक्रिया हो ।
बच्चाहरूको ध्यान किन यता-उता भौंतारिन्छ ?
मनोवैज्ञानिक भ्लादिमिर स्लाउट्स्कीले गरेको यो अनुसन्धानले बालबालिकाको मस्तिष्क स्वाभाविक रूपमै विभिन्न कुराहरूमा ध्यान सार्ने गरी बनेको हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।
यस अध्ययनको रिपोर्ट ‘ट्रेन्ड इन कनेक्टिभिटी साइन्स’ मा प्रकाशित छ ।
यस अध्ययन रिपोर्टका अनुसार ३ देखि ८ वर्ष उमेरका बालबालिकाहरूमा आफ्नो वरपरको संसारलाई अझ गहिराइमा बुझ्ने वा अन्वेषण गर्ने तीव्र इच्छा हुन्छ ।
यसको सरल वैज्ञानिक कारण यो हो कि उनीहरूको ‘वर्किङ मेमोरी’ अझै पूर्णरूपमा विकसित भइसकेको हुँदैन । ‘वर्किङ मेमोरी’ भनेको यस्तो मानसिक क्षमता हो जसले हामीलाई अनावश्यक विवरणहरूलाई बेवास्ता गर्न र महत्त्वपूर्ण कुरामा मात्र ध्यान केन्द्रित गर्न मद्दत गर्छ ।
वयस्कहरूले के हेर्ने र केलाई बेवास्ता गर्ने भन्ने कुरा तुरुन्तै निर्णय गर्न सक्छन् । तर बालबालिकामा के कुरामा ध्यान दिने के कुरा व्यवास्ता गर्ने भनेर द्रुत गतिमा छान्ने वा छुट्याउने क्षमताको अभाव हुन्छ । यसले गर्दा उनीहरू एकैसाथ धेरै कुराहरूमा ध्यान केन्द्रित गर्न पुग्छन् । वैज्ञानिक भाषामा यसलाई ‘डिस्ट्रिब्युटेड एटेन्सन’ भनिन्छ।
काम पूरा भएपछि पनि अन्वेषण जारी रहन्छ
सन् २०२४ मा, स्लाउट्स्की र कियानकियान वानले पनि यसबारे अनुसन्धान गरेका थिए । उनीहरूले एउटा रोचक तथ्य पत्ता लगाए: कुनै काम पूरा गर्न आवश्यक जानकारी प्राप्त गरिसकेपछि पनि बालबालिका चुप लागेर बस्दैनन् वा अन्वेषण गर्न छोड्दैनन् । उनीहरू आफ्नो वरपरका वस्तुहरू र जानकारीबारे अन्वेषण गरिरहन्छन् । यसो गर्दा, उनीहरू खास मानिस बन्ने र संसारलाई बुझ्ने प्रक्रियालाई अघि बढाइरहेका हुन्छन्।
जब वयस्कको मस्तिष्कले बच्चाको जस्तै व्यवहार गर्न थाल्छ
यस अनुसन्धानले वयस्कहरूबारे पनि एउटा आश्चर्यजनक तथ्य उजागर गर्यो । प्रयोगका क्रममा, जब वयस्कहरूको ‘वर्किङ मेमोरी’ मा अत्यधिक भार थपियो, उनीहरूको मस्तिष्कले पनि बालबालिकाको मस्तिष्कले जस्तै व्यवहार गर्न थाल्यो । जब वयस्कको मानसिक दिमागको छान्ने क्षमता थाक्छ वा कमजोर हुन्छ, उनीहरूले पनि पाँच वर्षको बच्चाले जस्तै विभिन्न विकल्पहरूमा आफ्नो ध्यान बाँड्न थाल्छन् भन्ने निष्कर्ष त्यो अध्ययनको छ ।
अभिभावकहरूले के गर्नुपर्छ ?
यस अनुसन्धानका आधारमा मनोवैज्ञानिकहरूले स्लाउट्स्कीले अभिभावकहरूलाई विशेष सुझाव दिएका छन् । बालबालिकालाई विभिन्न वस्तुहरू छुन र तिनको अन्वेषण गर्न कहिल्यै रोक्नु हुँदैन भन्ने उनीहरूको सुझाव छ ।
यदि वातावरण सुरक्षित छ भने, बालबालिकालाई वस्तुहरू खोल्न, तिनमा प्रयोग गर्न र गल्तीसमेत गर्न दिनुपर्छ । आफैँ प्रयोग गरेर हेर्नु र नयाँ वस्तुहरू चलाउनु बालबालिकाको सिकाइका लागि सबैभन्दा उत्तम तरिका भएको यस अध्ययनको निष्कर्ष छ ।
प्रतिक्रिया 4