+
+
Shares

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै

रासस रासस
२०८३ असोज १५ गते ६:२४
फाइल तस्वीर

१५ असोज, काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्निनियन्त्रक यन्त्र अनिवार्य गराउने तयारी गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सवारीसाधनको नियमित अनुगमनलाई प्रभावकारी बनाउँदै यात्रुको सुरक्षासँग प्रत्यक्ष जोडिएका विषयमा कडाइ गर्ने तयारी गरेको हो ।

त्यसका लागि सम्बन्धित निकायसँगको समन्वयमा सार्वजनिक सवारीको अवस्था, आवश्यक कागजात, रुट परमिट तथा सुरक्षा उपकरणको नियमित परीक्षण गरिने भएको छ ।

सार्वजनिक यातायातका साधन सञ्चालन गर्दा सम्बन्धित रुटको अनुमति लिनुपर्ने व्यवस्था भए पनि कतिपय सवारीसाधन आवश्यक कागजातबिना वा तोकिएको रुटभन्दा बाहिर सञ्चालन हुने गरेको गुनासो आउने गरेको प्रहरीले जनाएको छ । त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न रुट परमिटको व्यवस्थामा कडाइ गर्न लागिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सार्वजनिक सवारीसाधनमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार सवारीसाधनमा विद्युतीय तथा प्राविधिक समस्या, इन्धन चुहावटलगायतका कारणले जुनसुकै बेला आगलागी हुनसक्ने भएकाले प्रारम्भिक अवस्थामा नै आगो नियन्त्रण गर्न सकिने उपकरण सवारीमै राख्न आवश्यक छ । उनले भने, ‘सबै सार्वजनिक सवारीमा उक्त नियम कडाइका साथ लागू गरिनेछ ।’

सार्वजनिक सवारीमा प्रयोगयोग्य अवस्थामा रहेको अग्निनियन्त्रक यन्त्र राख्नुपर्ने व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीले सार्वजनिक सवारीसाधनको अवस्था, चालकको क्षमता, आवश्यक कागजात, रुट परमिट, अग्निनियन्त्रक यन्त्रको अवस्था र प्रयोगयोग्यताको नियमित अनुगमन गरिने बताए ।

‘अनुगमनका क्रममा अग्निनियन्त्रक यन्त्रलगायतका मापदण्ड पूरा नगरेका सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइनेछ,’ उनले भने, ‘यात्रुको सुरक्षा पहिलो प्राथमिकता हो । यात्रुको सुरक्षा सुनिश्चितताका लागि बाटो इजाजत (रुट परमिट) लगायतका मापदण्ड पूरा गर्नु अनिवार्य सर्त हो ।’

चाडपर्व तथा अन्य समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने र सवारीसाधनको आवागमन बढी हुने भएकाले दुर्घटना तथा अन्य जोखिम न्यूनीकरणका लागि सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको प्रवक्ता सुवेदीको भनाइ छ ।

ट्राफिक प्रहरीले सार्वजनिक सवारीधनी तथा व्यवसायीलाई प्रचलित कानुन र सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।

यस्तै, यात्रुको सुरक्षामा प्रत्यक्ष असर पार्ने विषयमा लापरबाही नगर्न तथा सवारीसाधनको नियमित परीक्षण र मर्मतसम्भार गर्न आग्रह गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?